च च हुइ ... इ इ !
च च हुइ ... इ इ !
दसैंकाे चर्चा भर्खरै सुरु हुँदैछ। थापागाउँस्थित कुञ्ज नाटकघरका कलाकार भने पिङमा मच्चिन थालेकाे धेरै दिन भइसक्याे।
दसैं नजिकिँदै गरेकाे सन्दर्भ पारेर 'टिका' नाटक हेर्न आउने दर्शकलाई बाहिरकाे पिङ्गले नै नाटककाे विषयकाे नजिक पुर्याउँछ।
हाल यहाँ दसैंकाे विषयमा लेखिएकाे भीमनिधि तिवारी लिखित 'टिका' नाटक मञ्चन भइरहेकाे छ। यसलाई संगीत सापकाेटाले निर्देशन गरेका छन्।
मञ्चबाहिर जस्तै भित्र लंगुर बुर्जा, अक्षता र चंगाले दर्शकलाई दसैंकै माहाेलमा पुर्याउँछ।
परिवारकाे सुखका नाममा दुई पैसा बढी कमाउने बाध्यताले मुग्लान भासिनु नेपालीकाे विगत र वर्तमान पनि हाे। यसरी टाढा हुँदा परिवारले र स्वयं परदेश जाने नेपालीले सबैभन्दा बढी एक अर्कालाई 'मिस' गर्ने समय हाे दसैं।
यस नाटकका मुख्य पात्र कमानसिंह र उनकाे परिवार जति जति दसैं नजिकिन्छ उति वियाेगकाे पीडामा छट्पटिन्छन्।
भारतमा चाैकिदारी गर्ने कमानसिंहमा साथीले घर जाने बेला आफूले बिदा पाउने नपाउने दुबिधा छ। उता घरमा बुढी आमा, श्रीमती र छाेरा यस पालीकाे दसैं कमानसिंह बिनै बित्ने चिन्ता छ।
नाटक 'टीका'मा एकातिर परिवारसँग बिछाेडिनुकाे पीडाकाे चित्रण छ भने अर्काेतिर देशमै केही गर्नुपर्छ भन्ने राष्ट्रवादी भावनालाई पनि जाेड दिइएकाे छ।
नाटकमा श्रवण राना मगर, विनिता गुरुङ, शारदा अधिकारी, राजकगल फकिर, दिपेश काफ्ले, सबिन भट्टराई, मनिराज पौडेल, न्हुज महर्जन, आनन्द महतलगायतका कलाकारले अभिनय गरेका छन्।
ग्रामीण नेपाली परिवेशका दु:ख चित्रण गर्ने गम्भीर विषयकाे नाटक भए पनि राेचक संवाद र लाइभ संगीतले नाटकलाई रमाइलाे बनाएकाे छ। नाटकमा माेनिस निराैलाकाे संगीत छ। यसअघि संगीत सापकाेटाले निर्देशन गरेकाे 'अँधेरी नगरी चौपट राजा' पनि हास्यप्रधान नाटक थियाे।
ऐक्य हेभन अफ आर्टको प्रस्तुति 'टिका' भदाैँ ३१ गतेसम्म मञ्चन हुनेछ।