'टाइटानिक' अहिलेसम्म बनेको भव्य फिल्ममध्ये एक मानिन्छ। सार्वजनिक भएको १२ वर्षसम्म सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न सफल 'टाइटनिक'मा अभिनेता लिओनार्दो डिक्याप्रियो र अभिनेत्री केट वेन्स्लेटको अभिनय छ।
सन् १९९७ मा रिलिज भएको यो ऐतिहासिक प्रेम कथा २४ वर्ष कटिसक्दा पनि चर्चामै छ। यसका प्रशंसकहरुको संख्या घटेको छैन। केही दर्शकका लागि भने अझै यस फिल्मको अन्तले खिन्न बनाएको एनडीटिभीले लेखेको छ।
'टाइटानिक'को मुख्य कथा ज्याक र रोज पात्रको वरिपरि घुमेको छ। एकअर्का सँग प्रेममा परेका उनीहरु चढेको 'टाइटानिक' नामक पानी जाहाज डुबेसँगै ज्याकको मृत्यु हुन्छ। सो घटनामा रोज भने बाँच्न सफल हुन्छिन्। फिल्मको अन्त्यमा एक सय एक वर्ष पुगिसकेकी बुढी रोजलाई देखाइन्छ, जहाँ उनले आफ्नो दुर्लभ हिराको हार कसैले नदेख्ने गरी ज्याकको सम्झनामा समुन्द्रमा बगाइदिन्छिन्।
फिल्मको यस्तो अन्त्य कैयौं दर्शकलाई चित्त बुझेको थिएन। धेरैले टाइटानिकको दोस्रो भाग बनाउनु पर्ने अपेक्षा समेत गरेका थिए, तर त्यो भएन।
हालै सामाजिक सञ्जाल ट्विटरमा भने 'टाइटनिक'मा देखाइएको अन्त्यभन्दा फरक कथा रहेको भिडियो भाइरल भएको छ।
भिडिओमा बुढी रोजले दुर्लभ हिराको हार सिधै समुन्द्रमा फ्यालेकी छैनन्। उनी आफ्नो पुराना कथा सुनिरहेका पात्रहरुसँग हुन्छिन्। तीमध्ये ब्रोक लोभेट पात्रको हातमा रोजले आफ्नो हार केहीबेर थमाउँछिन् र भन्छिन्, ‘लोभेट तिमी गलत ठाउँमा खजाना खोजिरहेका छौ। केवल जीवन अमूल्य छ।’
यसो भनेपछि रोजले मन्दमुस्कानका साथ आफ्नो हार फुत्त समुन्द्रमा फ्याल्छिन्। उनले हार समुन्द्रमा फ्यालेसँगै अन्य पात्रहरु उनलाई गाली गर्न थाल्छन्। तर, रोज उनीहरुका कुरा बेवास्ता गर्छिन्।
यो फरक अन्त्य भएको भिडियो 'टाइटानिक' फिल्म रिलिज भएको केही वर्षपछि थिएटरमा देखाइएको थियो। अहिले ट्विटरमा यो भिडियो करिब १३ लाखले हेरिसकेका छन्।
धेरै दर्शकका लागि सो फरक दृश्य नौलो भएको छ भने कैयौंले निर्माताको नयाँ सोच मन पराएका छन्।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, ०६:२१:२९