कोलिन्डा ग्राबर-किटारोभिच क्रोएशियाकी पहिलो महिला राष्ट्रपति हुन्। तीन वर्षअघि राष्ट्रपति चुनिएकी कोलिन्डा गत साता जहाजको इकोनोमी क्लासमा बसेर रसिया पुगिन्।
त्यो जहाजको भाडा सरकारले तिरेको थिएन। कोलिन्डा आफूजस्तै फुटबल फ्यानहरूले चार्टर्ड गरेको जहाजमा चढेकी थिइन्। जहाजमा उनले औपचारिक पहिरनको साटो राष्ट्रिय टोलीको रातो र सेतो बुट्टा भएको जर्सी लगाएकी थिइन्।
रसियामा उनको कुनै राजनीतिक एजेन्डा थिएन। आफ्ना खेलाडीको हौसला बढाउन र खेलको उत्सव मनाउन उनी आयोजक रसिया र क्रोएशियाबीचको क्वार्टर फाइनल खेल हेर्न सोची सहर पुगिन्।
रंगशालाको भिआइपी कक्षमा उनले रूसी प्रधानमन्त्री डिमित्री मेडभेडेभ र फिफाका अधिकारीसँग बसेर आफ्नो टोलीको फुटबल हेरिन्। क्रोएशियाले गोल हान्दा उनी आमसमर्थकजस्तै कुर्सीबाट उठेर चिच्याएर खुसी हुन्थिन्।
त्यो खेलको निर्धारित र थपिएको समयमा दुबै टोलीले २/२ गोल गरेकाले टाइब्रेकर हुने भयो। टाइब्रेकरमा क्रोएशियाले रसियालाई ३ का विरूद्ध ४ गोलले हरायो र २० वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान बनायो। त्यसपछि कोलिन्डाले आफूलाई भिआइपी कक्षमा थाम्न सकिनन् उनी ड्रेसिङ रूममा पुगिन्। खेलाडीलाई अंकमाल गरिन्। लुका मोड्रिचलगायत स्टार खेलाडीसँग तस्बिर खिचिन्। उनीहरूले सँगै खुसी मनाए।
कोलिन्डाले यसअघि जुलाई १ मा डेनमार्कविरुद्ध भएको प्रिक्वार्टर फाइनल खेल भिआइपी कक्षमा नभई फ्यान आइडी लगाएर आमदर्शकसँगै बसेर हेरेकी थिइन्।
‘म अरू फुटबल फ्यानजस्तै हुँ भनेर देखाउन र अरू फ्यानसँगै बसेर टोलीलाई समर्थन गर्न चाहन्थें,’ रसियन अनलाइन स्पोर्टबक्ससँग कुरा गर्दै कोलिन्डाले भनिन्, ‘मैले राष्ट्रिय चिन्हहरू भएको सर्ट लगाएँ। भिआइपी कक्षमा लामो गाउन लगाउनु पर्ने भएकाले त्यो पहिरनलाई अनुमति हुन्नथ्यो।’
कोलिन्डाले रसियाले स्पेनमाथि प्रिक्वार्टर फाइनलमा पाएको जितपछि ट्विटरमा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको अंग्रेजी भाषाको ह्यान्डललाई मेन्सन गर्दै ‘राम्रो खेलेको’ बधाई दिएकी थिइन् र आफू सोचीमा हुने रसियासँगको क्वार्टर फाइनल खेल हेर्न पनि आउने वाचा गरेकी थिइन्।
क्रोएशिया र रसियाको क्वार्टर फाइनल खेलमा पुटिन भने रंगशालामा थिएनन्।
रसियालाई हराएर सेमिफाइनल पुगेको क्रोएशिया फाइनलका लागि बुधबार इंग्ल्याण्डसँग भिड्दैछ