नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकका लागि १५ कार्यसूची तय भएको छ।
मंसिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन हुने कार्यसूची तय भएको छ।
त्यस्तै, बाँकी केन्द्रीय सदस्यहरूको सपथ, केन्द्रीय सल्लाहकार परिषद गठन, महाधिवेशनको समिक्षासहितका कार्यसूची छन्।
एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जनाएअनुसार केन्द्रीय कमिटीका सदस्यहरूको मनोनयन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण रहेका छन्।
दुई दिनसम्म चल्ने बैठकमा विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियानका विषयमा छलफल हुनेछ।
दसौं महाधिवेशनपछि एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो पटक बस्न लागेको हो। यसअघि मंसिर १४ गते चितवनमा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो।
बैठक भोलि ११ बजे बस्ने तय भएको छ।