जनतासँग मर्ज भएपछि ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक बनेको छ।
घोषित बोनस सेयर गणना गर्नुअघि नै बैंकको चुक्ता पुँजी १८ अर्ब ४३ करोड पुगेको छ।
गत आर्थिक वर्षको नाफाबाट घोषित बोनस प्रदान गरेपछि चुक्ता पुँजी २० अर्ब पुग्नेछ। ग्लोबल आइएमईले १२. ७५ तथा जनताले ६ प्रतिशत बोनस सेयर प्रदान गर्ने घोषणा गरेका छन्।
पुँजीका आधारमा मात्रै नभई संकलित निक्षेप र कर्जा प्रवाहका आधारमा पनि बैंक सबैभन्दा ठूलो भएको छ। बैंकको कुल निक्षेप २ खर्ब १३ अर्ब पुगेको छ भने कर्जा १ खर्ब ९४ अर्ब पुगेको छ। बैंकको एटिएम संख्या २५९ पुगेको छ। बैंकमा कर्मचारी संख्या ३ हजार २५० पुगेको छ।
बैंकको जगेडा कोषको आकार करिब ६ अर्बको हुनेछ। बैंकको अध्यक्ष चन्द्र ढकाल भएका छन्। बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी यसअघि जनता सम्हालेका पर्शुराम कुँवरले पाएका छन्। ग्लोबल आइएमईका महेश शर्मा ढकाल डेपुटी प्रमुख कार्यकारी भएका छन्।
यसअघि जनता र ग्लोबल आइएमईमा गरी कुल १७ वटा बैंक तथा वित्तीय संस्था मर्ज भइसकेका छन्। यो १८ औं मर्ज हो।
जनता र ग्लोबल आइएमई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
अब जनताको १ सय कित्ता सेयर हुने लगानीकर्ताले ग्लोबल आइएमईको ८५ कित्ता पाउने छन्। राष्ट्र बैंकले मर्जका लागि प्रोत्साहन गरेपछि यो सबैभन्दा ठूलो मर्ज हो। यो मर्जसँगै जनता बैंक विलय भएको छ। मुलुकमा वाणिज्य बैंकको संख्या २७ मा झरेको छ।
यसअघि वाणिज्य बैंकहरु किस्ट बैंक र ग्रान्ड बैंक विलय भई हालको प्रभु बैंक बनेको हो। त्यस्तै लुम्विनी बैंक विलय भई बैंक अफ काठमाण्डु बनेको छ। एनआइसी र बैंक अफ एसिया मिलेर एनआइसी एसिया बैंक बनेको छ।