पाटनका विनोद महर्जनको लकडाउनको अवधिमा सवारी चालक अनुमती पत्रको म्याद सकियो।
सरकारले लकडाउनको अवधिमा म्याद सकिएकाहरुको भदौ मसान्तसम्म कुनैपनि जरिमाना नलाग्ने निणर्य गरेकोले उनी आइतबार यातायात कार्यालय एकान्तकुना पुगे।
बिहान साढे ९ बजे पुगेका उनलाई काम पूरा गर्न तीन घण्टा लाग्यो।
‘यस्तो समय छ, धेरै मान्छे छैनन् होला जस्तो लागेको थियो। म त्यति छिटो पुग्दा ३५ जानाले टोकन लिइसकेका रहेछन्। १० बजेपछि त मान्छे कति हो कित,’ उनले सेतोपाटीसगँ भने।
कतिपय यातायात कार्यालयहरुले जोर बिजोरअनुसार सवारी साधन नामसारी, सवारी कर लगायतको काम गरिरहेका छन्।
अवस्था सामान्य नभएको र राजश्व, कर नविकरण गर्ने समय थोरै भएको कारण पछिल्लो समय भीड ब्यापक बढेको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, चावहीलका कार्यालय प्रमुख बिष्णु कुमार भट्टराइले बताए।
‘हामीले आन्तिरिक सुरक्षा र सामाजिक दुरी कायम गर्न धेरै प्रयास गरेका छौं, तर भीड नियन्त्रण गर्न कठिन छ,’ भट्टराईले सेतोपाटीसगँ भने।
सवारी चालक अनुमती पत्रको लागि जोर बिजोर लगाउँदा सर्वसाधरणले झन् धेरै सास्ती खेप्नुपर्ने भएकोले आउने जतिको काम गरिएको उनले बताए।
‘हाम्रो कार्यालयमा लाइसेन्सको मात्र काम हुन्छ। लाइसेन्समा जोर बिजोर लगाउँदा सेवाग्राहीलाई धेरै झण्झट हुन्छ,’ भट्टराइले भने ‘यो समयमा कार्यालयसम्म आउनु नै चुनौती छ। त्यसैले हामीले आउने जतिलाई सकेसम्म फर्काएका छैनौं। पछिल्लो समय भीड बढेर केही समस्या भएको छ।’