२०१८ जून महिना अन्तिम साताको कुनै एक दिन।
हवाइजहाज भित्रै छु। एउटा युरोपिली मुलुकको सेमिनार सक्काएर फर्कर्दै छु म। कतार ट्रान्जिटबाट भर्खरै उडेको मेरो विमान, सीट नं ‘१४ बी’ को म यात्रु। हातको घडीले नेपाली समय राति १ बजे देखाउँदैछ।
भोलि बिहान ७ बजे त काठमाडौं पुगिन्छ भन्ने उत्सुकता एकातिर छ भने अर्कोतिर निद्रा नपुगेको जस्तो थकान यात्राको। मन नलागी-नलागी कानमा एयरफोन राखेर सिट अगाडिको स्क्रीनमा फिलिम हरे झैँ गरिरहेछु। प्लेन यात्राको डर, थकान अनि निद्रा मेटाउने भनौं या समय कटाउने मेलो, प्रायः त्यस्तै नै हुन्छ मेरो।
'सुँक्क... सुँक्क...'
कोही रोइरहेको आवाज आउँछ कानैमा मेरो। फिल्म त कमेडी हो। त्यहाँ रुने कोही त छैन। फेरि वयस्क पुरुष व्यक्तिको जस्तो छ रोदनको स्वर। अलि असजिलो, अलि अप्ठ्यारो अनि अलि करुण जस्तो नै छ रुवाई। नजिकैबाट आइरहेको जस्तो...
एयरफोन निकालेर बस्छु अनि यताउता आँखा पनि दौडाउँछु। पछाडितिर पनि हेर्छु... तर ओहो! आवाज त आफूसँगै बसेका ‘१४ए’ को यात्रुको पो रहेछ त।
नेपाली टोपी लगाएका करित्रब ६०-६५ वर्षे एक प्रौढ व्यक्ति पो प्लेनको कम्बलले मुख छोपेर रोइरहेका छन् त! कस्तो-कस्तो लाग्यो। कति स्वार्थी म? आफ्नै सहयात्री, नेपाली बन्धु, अझ आफूभन्दा अग्रज आफ्नै सिट बाँडेर बसेका व्यक्ति। मैले त औपचारिक परिचय पनि गरेको छैन उनीसँग, कसरी बोलाउने होला अपरिचित, अझ रोइरहेका व्यक्तिलाई?
साँच्चै आँसुले मलाई जहिले पनि पगाल्छ, पगाल्ने गर्दछ। आँसुभित्रको वेदनाबाट ‘रोग’ खुट्याउने पेशा मेरो। आँसुले सधैँ अप्ठ्यारो नै पार्छ मलाई। अरुको आँसु देख्न नसक्ने साँच्चै नै कोमल छ मेरो मन।
अलिकति हल्लिएँ सीटमा म। सीटबेल्ट मिलाएजस्तो गरी नजानिँदो तरिकाले उनको काँधमा हात पुर्याएँ पनि। साँच्चै नै निद्रामा नै रोइरहेको भए त फेरि बेकारमा उनको निद्रा डिस्टर्ब गरे जस्तो हुन्छ। अलिकति सम्हालिएँ म। विदेशी भए त त्यसरी छुँदा रिसाउँछन्, राम्रो मान्दैनन्। महिला भए त त्यसरी छोएको अर्थ नै अर्कै लाग्छ।
उनी त स्वदेशी बन्धु, अझ पुरुष, आफ्नो अग्रज, अनि आफ्नै सीट बाँडेर बसिराखेका। कता-कता उनी त आफ्नै मान्छे पो हुन् नि त भन्ने भाव आयो मलाई, अनि बेस्सरी छोएरै हल्लाइदिएँ उनलाई।
झसंग भए जस्तो गरेर ती व्यक्तिले ओडिरहेको कम्बल फाले अनि अश्रुपूर्ण नजर मतिर तेर्साए।
'बाबु! म अभागी! यो उमेरमा उमेरैको छोरालाई सेलाउनु पर्ने भयो!' उनका कुरा केही बुझेजस्तो, केही नबुझेजस्तो लाग्यो। आफू अगाडिको स्क्रीन बन्द गरेर पूरै ध्यान उनीतिर फालेँ। अलिकति साहनुभूति पाए जस्तो लागेर होला, ती व्यक्ति मसँग खुल्दै गए विस्तारै-विस्तारै।
गुल्मीतिर घर भएका ती व्यक्तिका एउटा छोरा अनि एउटी छोरी रहेछन्। छोरीको विवाह भएर दाङतिर पुगेकी रहिछिन्। छोराले पनि बल्ल-बल्ल एसएलसी पास गरेर आफ्नी श्रीमती अनि काखे छोरालाई घरैमा बाबुआमासँग छाडेर म्यानपावरलाई ३/४ लाख बुझाएर साथीहरुको लहलहैमा लागेर पोहोरै मात्र कतारतिर हानिएका रहेछन्।
कन्स्ट्रक्सनको काम पाएका रहेछन् त्यता। 'कत्तिसम्म भनेँ बाबु त्यसलाई नजा भनेर। पुग्दो आम्दानी खेतीपातीबाटै आइरहेको छ। त्यस्तो खर्च गर्नु पर्ने पनि केही छैन, खान लाउन पुगेकै छ। भर्खर जन्मिएको तामाको मुनाजस्तो छोरालाई छोडेर नजा बाबु कतारको गर्मी खान भनेर कत्ति भनेँ। आमाले पनि आँसुको भेल बगाएर त्यसलाई रोकेकी नै हो।
उसकी श्रीमतीले कत्ति झर्कोफर्को गरेर उसलाई नजानू भनेर कराएकी पनि हो। त्यस्तो हुन रहेछ... फुटेको कर्म मेरो। मलाई पिण्डपानी खुवाउला भनेको त आज उसैको...।' फेरि रुन थाले ती।
'यो उमेरमा यो दशा आईलाग्यो नि...' डाँकै छोड्न लागे। एयर होस्टेज दौडेर हाम्रो सीटमा आईपुगिन्, टिस्युपेपर लिएर। मैले तिनलाई सम्झाइदिएँ के भएको भनेर। अँध्यारो अनुहार लगाएर फर्किन् तिनी।
अलिकति सान्त्वनाका शाब्द पोखेपछि तिनको रुवाई शान्त हुँदै गयो अनि फेरि कुरा गर्न थाले। 'पोहोर साल दशैं खल्लो बनाएर गयो त्यो कतार। बेलाबेलामा फोन गर्थ्यो। ‘काम राम्रो छ बा! कमाई ठीक छ’ भन्थ्यो। दुर्इृ महिना त दुई पटक पैसा पनि पठायो। म्यानपावरलाई बुझएको पैसाको ऋण पनि तिरिसकियो तर तेश्रो महिना पनि लाग्न नपाई...' फेरि रुन लागे ती।
कतार पुगेको तेश्रो महिना नपुग्दै काम गरिरहेको घरको छतबाट लडेछन् उनका छोरा। अस्पताल पुर्याउँदा नपुर्याउँदै प्राण पखेरु उडेछ तिनको। मरेपछि लास भएको छोराको सद्गति गर्ने कोही पनि मान्छे भएनछन् कतारमा। लास पठाउने प्रक्रिया झन्झटिलो।
गुल्मीबाट बाबु काठमाडौं आएर बल्लबल्ल बाकसबन्दी गराउने व्यवस्था गरेछन्, तीन महिना लागेछ त्यसका लागि पनि। त्यहाँबाट बाकस ल्याईदिने पनि कोही भएनछन्, न त त्यसलाई पठाईदिने नै सहयोगी कोही भेटिए। एक महिना लागाएर बाबुले पासपोर्ट बनाएछन् अनि छोराको लास लिन आफै आईपुगेछन् कतार।
ठूलो हण्डर अनि ठक्कर खाएर बल्लबल्ल बाकसको जिम्मा लिएर आउन सफल भएछन्। त्यही प्लेनमा रहेछ तिनको छोराको पार्थिव शरीर राखिएको बाकस।
छोरा! एक होनहार युवक। वृद्ध अवस्थामा अघि बढ्नै लागेका उनका यी बाबा, घरमा छोराको लास आउने आशामा रहेकी आमा। नवजात शिशुकी आमा, तिनकी श्रीमती। सानो काखे छोरा। बहिनी-ज्वाई, भान्जा-भान्जी, बाजे-बज्यै, मामा-माइजू, काका-काकी…
हरे! सम्झँदै झनन्न हुने ३० वर्षीय तिनको कथा, बाकस भित्रै मरिसकेको त्यो कथा अनि हवाईजाहाजदेखि काठमाडौँ-गुल्मीसम्म फैलिएको व्यथा। हरे ! कस्तो कथा भेट्टाएँ मैले आज। जीवन–कथा, कथा-जीवन! कथाको खोजी नै मेरो पेशा, कथा–व्यथा अनि मनको घाउमा मल्हमपट्टी लगाउने मनको डाक्टर म। आजको कथा कति कारुणिक?कति मर्मस्पर्शी?
त्यो मेटिएको कथाको नायक त्यो बाकस भित्रको लास, त्यसलाई मैले ब्यूँझाउन सकूँला त? यो कथाका कारण व्यथित कति मनहरु? तिनलाई सम्झाउन बुझाउन सक्छु त म? तिनको घाउ निको पर्न सक्छु त म? मनमा आयो अस्ति अनलाइनमा पढेको तथ्यांक। हाम्रो एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्टमा दैनिक ५-६ बाकस यसरी नै मेटिएका कथाहरु बोकेर झर्छन् रे।
ओहो! हाम्रो देश! दैनिक ५-६ वटा कथालाई सेलाउन आफ्नै धर्तीमा ओराल्छ बाकसहरु...। एक हप्ताअघि युरोप जाने बेलामा प्रस्थान कक्षमा फूलमाला अबिर लगाएर अँध्यारो अनुहारमा लाइन लागिरहेका कथाका नायकहरुलाई सम्झन्छु, अश्रुपूर्ण रुपमा तिनलाई बिदाईको हात हल्लाउने
तिनका बाबुआमा, श्रीमती, छोराछोरीहरुको भीड आँखा अगाडि नै आए झल्झली।
हरे! संयोगान्त ‘कथा’ को आशामा रहेका ती परिवार। दैनिक ५–६ वियोगान्त कथा नायकहरु बाकस भित्र पोको पारेर ल्याइन्छन्। कसरी मेटिइन्छन् बाकसभित्रै ती कथाहरु?
त्यस्तै त्यस्तै तर्कना मनमा चलिरहँदा कति बेला झकाइछु थाहा नै भएन। सपनामै होला! त्यही प्लेनभित्र भएको बाकसभित्र कैद कथाका नायक, मेरा सहयात्री बन्धुका छोरा ३० वर्षे ती युवक बाकस खोलेर अगाडि आए मेरो। झसंग भएर मैले आफ्नो अनुहार छोपेँ। तिनले मेरै हातमा छोए झैं लाग्यो। हात झड्काएँ मैले।
लुगलुग काँप्न थाले मेरा हातहरु, ओठहरु थरथर भए। तीन महिनासम्म सद्गत नभएको लास प्रत्यक्ष अगाडि आयो। अकाल मृत्युवरण गरेका ती युवक–प्रेत मेरो अगाडि प्रत्यक्ष छन्। आकाशमा उडिरहेको जाहाजभित्र विदेशी भूमिमा दिवंगत भएको आत्मा भड्किएर मेरो आगाडि आएको हो कि? डर लाग्यो भित्रैदेखि। चिट्चिट् पसिना आयो मेरो।
उ भन्दैछ 'नडराउनुहोस्! मेरो बुवाको रोदनले गर्दा म बाकसभित्र सुत्नै सकिनँ। बुवाको आज्ञा नमान्दा यो दुर्गति भयो मेरो। के गर्नु? विदेशी भूमिमा, कतारको गर्मीमा अनाथ अकेलो म! हरे! नजानु भनेकी थिइन् आमाले पनि, ती श्रीमतिले पनि, भर्खर जन्मेको छोरो अनाथ भयो मेरो! म पापी हुँ। यो उमेरमा मेरा बुवाले दुःख पाउनुभयो। हत्तेरी! मबाट पिण्डपानी पाउने आशा गर्ने मेरा बुवा। कस्तो दुःख गरेर मेरो शरीर ल्याउनु पर्यो उहाँलाई।'
उसको कुराले मनामा काँटी ठोकेको झैं भयो मलाई। मेरा आँखाबाट पनि आँसु झर्न थाले। हरे! एउटा युवक, ३० वर्षे युवा प्रेत शरीर बोकेर मेरो अगाडि छ। के भनौँ? के नभनौँ? भन्ने सोचिरहेको थिएँ। उ नै बोल्न थाल्यो फेरि।
'नडराउनुहोस्! एउटा कुरो बिन्ती गर्न आएको म। मेरो बुवालाई नरुनु भनिदिनुहोस् है। उहाँलाई सम्झाईदिनुहोस्। मलाई माफ गर्दिनुहोस् भनेर भनिदिनुहोस् है!' हतप्रभ भएको मेरो मुखबाट आवाज निस्कियो 'हस्।'
'काठमाडौंमा यहाँलाई स्वागत छ' कानमा आवाज ठोक्कियो। ए! हाम्रो प्लेनले त काठमाडौंको धर्ती छोईसकेछ। कस्तो निद्राले छोपेछ बिहानीपख। हिजोको सपना अनि बिपना झल्याँस्स सम्झिएँ। ‘१४ए’ का मेरा सहयात्रीतिर पुलुक्क चिहाएँ। उनी त पक्कै पनि निदाएका थिएनन् होला! गोलभेंडा जस्ता राता थिए दुवै आँखा उनका।
कति दिनको अनिन्द्रा थिए होलान् ती... भोक, अनिद्रा, चिन्ता... कस्तो नरमाइलो सम्मीश्रण।! हरे शिव! फेरि सम्झिएँ सपनामा तिनका बाकसभित्रका छोराले सजीव भएर मसँग भनेका कुरा... सपना मात्रै थियो त त्यो?
मोबाइलमा घण्टी बज्यो। 'ल्याण्ड भइसक्यो?' बुढीले सोधिन्। 'भर्खरै भयो' मैले भनेँ। 'हामी बाहिर कुरिरहेका छौं है। गाडी लिएर आईपुग्यौँ भर्खर।'
सपनाका कुरा गए कता-कता? आफ्नै घरतिरको तर्कना आईहाल्यो। कति छिटो छ यो मन? सपना–बिपना, पराई–आफन्त, विदेश–स्वदेश, समाचार–यथार्थ, कत्ति चाँडो कसरी स्क्रीनिङ्ग गर्ने गर्दछ यसले?
बाकस भित्रको कथा कता पुग्यो कता? ब्याग समातेर झरेँ म। ‘१४ए’ का सहयात्री पनि थिए पछि-पछि। अध्यागमन पार गरेर ब्यागेज क्लेममा गएँ। १५ मिनेटमै मेरो लगेज आइहाल्यो पनि। ती सहयात्रीसँग आँखा जुधाउने साहस थिएन मेरो। फटाफट लगेज लिएर बाहिर आईहालेँ।
बुढी गाडी लिएर पर्खिरहेकी थिई। लमक-लमक गाडीतिर गएँ, सामान हालेँ। चालक भाइले हुइँक्याइहाल्यो गाडी पनि।
'कस्तो भयो त सेमिनार?' बुढी सोधिरहेकी थिई। म भने मेरा सहयात्री ‘१४ए’ का ती व्यक्तिले छोराको लास भएको बाकस बाहिर ल्याइसके होलान् कि भनी तर्कना गरिरहेको थिएँ।
हरे! बाकसभित्रै मेटिएको थियो एउटा कथा मेरै अगाडि। अरु कत्ति कथाहरु होलान् त्यसरी मेटिएका?
(मानसिक रोग विशेषज्ञ डा. रिसाल, धुलिखेल अस्पतालमा आवद्ध छन्।)