अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियारलाई ८ लाख घुस सहित रंगेहात पक्राउ गरेको छ।
उनीसँगै डाक्टर रामहरी रौनियार पनि समातिएको अख्तियारले जनाएको छ। उनीहरूले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ।
बिहीबार उनीहरूलाई अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले धरानस्थित उपकुलपतिको निवासबाटै पक्राउ गरेको हो।
'अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिई गएको टोलीले प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग आठ लाख घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ,' अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले विज्ञप्ति जारी गर्दै भनेका छन्।
प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना प्राप्त भएपछी अख्तियारले उनीहरूमाथि निगरानी गरेको थियो।