आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसलगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपाबाट क्षेत्र नं. ३(ख) प्रदेशसभा सदस्यमा विमला कुमारी खत्री (वली)ले उम्मेदवारी दर्ता गराएकी छिन्। उनले नेकपा नेता शोभाराम बस्नेतको प्रस्तावक तथा मेघनाथ शाह समर्थकमा उम्मेदवारी दर्ता गराएकी हुन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार केशवकुमार शर्मा आचार्यले उम्मेदवारी दर्ता गराएका छन्।
उनले नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीको प्रस्तावक र क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरी, राप्रपाको तर्फबाट भुपाल रावत, साझा पार्टीबाट शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेसनल पार्टीबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेपाली कांग्रेस (वीपी)बाट दीपककुमार धितालले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, प्रदेशसभा सदस्यका लागि दुई जनाले स्वतन्त्र उम्मेदवारी गराएका छन्।
प्रदेशसभा सदस्यका लागि गोविन्द बिसी र टिकाराम आचार्यले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन्।
पश्चिम दाङको विकासका लागि मेरो उम्मेदवारी : आचार्य
नेपाली कांग्रेसका उम्मेदवार केशवकुमार आचार्यले पश्चिम दाङको विकासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन्।
निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘पश्चिम दाङमा विकासको जग कांग्रेसले बसालेको थियो, त्यो पूरा हुन सकेको छैन। त्यो पूरा गर्ने अहिले अवसर आएको छ,त्यसैले मैले उम्मेदवारी दिएको छु।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मनोनय दर्तागर्न दलबलसहित पुगेको थियो। त्यस अवसरमा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसदहरू लगायत पुगेका थिए ।
श्रीमानले थालेका अधुरा कामलाई पूरा गर्न मेरो उम्मेदवारी : वली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङको विकासका लागि आफ्ना स्वर्गीय श्रीमान् उत्तरकुमार वलीले थालेका अधुरा कामलाई पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएकी छिन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार वलीले भनिन्, ‘मैले निर्वाचनमा जिते पश्चिम दाङको विकासका लागि श्रीमानले थालेका अधुरा कामलाई पूरा गर्नमा ध्यान दिनेछु, त्यसका लागि जनताले विजयी गराउनुहुनेछ भन्ने विश्वस्त छु।’
उम्मेदवारी दर्ता गर्न वली ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी प्रदेश संयोजक ओनसरी घर्ती, राष्ट्रियसभा सदस्य कोमल वलीलगायतका नेताहरूसँग उम्मेदवारी दर्ता गर्न मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन्। उनी स्वर्गीय सांसद उत्तरकुमार वलीकी पत्नि हुन्। सांसद वलीको सडक दुर्घटनामा निधन भएको थियो।