नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको बताएका छन्।
विधान मिचेर विभागहरू गठन गरेकोबारे आफूले पटक पटक ध्यानाकर्षण गराए पनि सभापतिले जति विधान मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको बताए।
‘उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको छ,’ बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पौडेलले भनेका छन्।
विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको उनले बताएका छन्।
‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन सभापतिलाई ध्यानाकर्षण गर्दै आयौं, तर कांग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ कि, विधान मैले जति मिच्न सकेँ म त्यति बलवान सभापति ठहर्छु भन्ने मानसिकता छ जस्तो मलाई लाग्छ। त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो कि होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो,’ उनले भनेका छन्।
सभापति देउवालाई विधान मिच्ने बानी परिसकेको पौडेलले बताए। आफू बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलको छ।
‘यो विधान मिच्ने बानी पर्यो। हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ। मलाई सम्झना छ, यो देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोड्छ म गृहमन्त्री भएको हुनाले मैले हो तोड्ने कानून भनेर उहाँ धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका। उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे। अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ। यो बहादुरीले कांग्रेसलाई क्षति पुर्यायो। यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्यो, क्षति पुर्यायो र घायल बनायो,’ उनले भने।
पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्ने उनले बताए। चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनै पनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए।
‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ। कार्यकाल सकिएपछि, कामचलाउ सभापति भइसकेपछि, कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ? हामी भनिरहेका छौं कि यसरी विधानको धज्जी नउडाऔं। लोकतान्त्रिक मूल्य मान्यताको धज्जी नउडाऔं। कांग्रेस लोकतन्त्रको प्रयाय जस्तो भएको नेपालमा यसको अस्तित्वलाई नै संकटमा पार्ने कुरा भयो,’ उनले भने।
फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्ने उनले बताए। पार्टीमा विधान मिचेको विषयलाई गम्भिरतापूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताए।
‘यो विषयलाई हामी गम्भिरतापूर्वक उठाउँदै जान्छौं। उहाँको मनपरीतन्त्रको, स्वेच्छाचारीतन्त्रको प्रमाण यही हो भनेर हामी भन्छौं। त्यसकारण उहाँको विकल्प खोज्नपर्ने स्थिति जन्माइराखेको छ,’ उनले भने।
वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफू नै हुनुपर्छ भन्ने दावी नगरेको बताए। तर पार्टीले आफूलाई न्याय गर्नुपर्ने उनको भनाइ छ।