राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्याली प्रदर्शन गरेको छ।
पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा नाराबाजी गरिएको थियो।
बजार परिक्रमापछि सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरूले सम्बोधन गरेका थिए।
कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिबर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे।
काङ्ग्रेस-कम्युनिस्टको गलत निति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे।
पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए। राप्रपाको नेतृत्वमा असली परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले धारणा राखे।
कार्यक्रममा केन्द्रीय सदस्य नबराज विष्ट, जिल्ला अध्यक्ष रामहरि न्यौपाने, युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए।
पछिल्लो समय राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको बेला राप्रपा मकवानपुरले पार्टीको ब्यानर र झन्डामा कार्यक्रम आयोजना गरेको हो।
अध्यक्ष कमल थापाले अब हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापनाको नेतृत्व राप्रपाले गर्ने धारणा सार्वजनिक गरेका छन्।
अपराह्न ट्वीटरमार्फत थापाले हिन्दु राष्ट्र र राजसंस्थासँगै भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनविरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताएका हहुन्।