प्रदेश नम्बर २ का प्रमुख तिलक परियारले दुइटा विधेयक प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुख परियारले ‘प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘बालबालिकाको हक–अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन्।
प्रदेश सभाबाट पारित भएर प्रदेश प्रमुखसमक्ष गएको दुइटा विधेयकलाई प्रमाणीकरण गरेपछि ऐन बनेको छ।
प्रदेशको औद्योगिक वातावरणलाई सुविधाजनक, लगानीमैत्री बनाई प्रदेशको औद्योगिक विकास र प्रवर्द्धन गर्न आवश्यक भएकोले यो ऐन बनाइएको प्रदेश सरकारले जनाएको छ।
प्रदेश सभाबाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेपछि औद्योगिक विकासको माध्यमबाट सबल, गतिशील, प्रतिस्पर्धी एवं उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न निजी, सार्वजनिक एवं सहकारी क्षेत्रको सहभागितामा प्रदेशमा उद्योगधन्दा र साधन स्रोतको संरक्षण तथा प्रवर्द्धन गरी प्रदेशमा रोजगारीको अवसर अभिवृद्धि समेत गर्न सकिने भएको प्रदेश सरकारले जनाएको छ।
त्यस्तै, बालबालिकाको अधिकारको संरक्षण एवं परिपूर्ति गर्दै सबै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक,संवेगात्मक एवं भावनात्मक विकास गरी सर्वोत्तम हित सुनिश्चित गर्न समय अनुकूल कानूनी व्यवस्था गर्न आवश्यक रहेकोले यो ऐन बनाएको प्रदेश सरकारले जनाएको छ।
योसँगै प्रदेश प्रमुखबाट हालसम्म ३८ वटा विधेयक प्रमाणीकरण भएर ऐन बनिसकेको छ।