दोस्रो संविधान सभा २०७० को उप निर्वाचनका दिन आज निर्वाचन क्षेत्र आसपासमा सवारी साधन चलाउन निशेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
काठमाडौं सहित आइतबार चितवन,काठमाडौं, कैलाली र बर्दियामा संविधानसभा उपनिर्वाचन हुँदैछ । मंसिर ४ मा निर्वाचनमा दुई दुई स्थानबाट विजयी कांग्रेस र एमालेका शीर्ष नेताहरुले राजीनामा दिएपछि रिक्त भएका काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा आइतबार उपनिर्वाचन हुन लागेको हो ।
एक भन्दा बढी निर्वाचन क्षेत्रमा उमेद्वार बन्न पाउने कानुन व्यवस्थाले उपनिर्वाचन अवस्था सिर्जना भएको हो । ती क्षेत्रमा २ लाख ५ हजार ३ सय ४ जना मतदाताका बीच ७६ उमेद्वार प्रतिष्प्रर्धामा छन् । काठमाडौं २ मा माधवकुमार नेपाल, बर्दिया १ मा वामदेव गौतम , चितवन ४ शुशील कोइराला र कैलाली ६ मा शेरबहादुर देउवा विजयी भएका थिए ।
आज हुने चुनाबका लागि बिहान ५ बजेदेखि मतदान नसकिएसम्म सवारी साधन चलाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार प्रहरीले निवार्चन क्षेत्र नम्बर २ भित्र पर्ने काठमाडौं महानगरपालिकाको वडा नम्बर २ र ३५ मा सवारी साधन चलाउन नदिने भएको हो । यस्तै काठमाडौंका ९ वटा गाविसमा समेत सवारी चलाउन रोकिएको महानगरिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ
बानेश्वर, कोटेश्वर गोठाटार, पेप्सीकोला, गौरीघाट लगायतमा सवारी निशेध छ। यस्तै धोबीखोला सेतोपुलबाट निर्वाचन क्षेत्रनम्बर दुई तर्फ सवारी साधन जान रोक लगाइएको छ । रातोपुलबाट समेत सवारी जान पाउदैनन्।
गौशाला चोकबाट निर्वाचन क्षेत्र नम्बर दुईमा सवारी साधन चल्न पाउदैनन्। सिनामंगल, पिंगलास्थान, कालोपुल, रातोपुलको ओरालो, बनकालीको ओरालो, सुकुम्बासीबस्तीबाट ललितपुर जाने पुलमा समेत सवारी प्रवेशमा रोक लगाइएको छ।
शंखमुलबाट महादेबस्थान, मदनभण्डारी कलेज धोबीखोला, देवीनगरबाट बानेश्वर हाईट, हनुमानस्थान पुलबाट बानेश्वर तर्फ सवारी चलाउन नदिने भएको छ।
भक्तपुरको मनोहरा पुल हुदै राजधानी भित्रिने सवारी साधनलाई कोटेश्वरबाट ललितपुरको बालकुमारी तर्फ मोडिने छ । बिचमा कुनै पनि सवारी रोक्न नदिने तयारी गरेको छ । यस्तै भक्तपुर जाने सवारी साधन पनि बानेश्वरबाट बालकुमारी र कोटेश्वर हुदै सोझै भक्तपुर तर्फ जानुपर्नेछ । बिचमा कहीं रोक्न पाइदैन।
यस्तै भक्तपुरको पुरानोबाटो हुदै पेप्सीकोला आउने सवारीलाई रोकिएको छ । जोरपाटीबाट मुलपानी तर्फ जान पाइदैन।
गोठाटार पुलबाट पेप्सीकोला तर्फ पनि जान नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ। गोकर्ण हुनमानचोकबाट मुलपानीतर्फ जान नपाउने ब्यवस्था गरेको छ ।
यस्तै निर्वाचन हुने ९ वटा गाविस गोठाटार, डाँछी, नाङलेभारे, पुकुलाछी, बज्रयोगिनी, मुलपानी, लप्सीफेदी, सुनटोल र ईन्द्रायणी गाविसमा सवारी साधन चलाउन पूर्ण रोक लगाएको छ