महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको हिरासतबाट तीन जना थुनुवा भागेका छन्।
सोमबार राति तीन जना थुनुवा हिरासतबाट भागेको ललितपुर परिसरले जनाएको छ।
डाँका तथा चोरी मुद्दामा थुना परेका शमशेर माझी र रुद्रलाल श्रेष्ठ र लागुऔषध मुद्दाका रबिकुमार तिमल्सिना फरार भएको प्रहरीले जनाएको छ। थुनुवा कक्षको झ्यालको जाली काटेर उनीहरू भागेको प्रहरीले जनाएको छ।
‘सोमबार राति तीन जना थुनुवा हिरासतबाट भागेका थिए, कसरी भागे भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ परिसर प्रमुख एसएसपी रबिन्द्र धानुकले भने, ‘भागेकाहरुको खोजी भइरहेको छ।’
सोमबार राति प्रभागमा रहेका डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बनको प्रक्रिया थालिएको धानुकले बताए। थुनुवा भगाउन सहयोग गरेको आरोपमा प्रहरीहरुलाई निलम्बन गर्न लागिएको परिसरले जनाएको छ।