नेपालमा छैटौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।
ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका उनले बताए।।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ’,उनले भने,‘ यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएकोमा देखिएको हो।’
यसअघि सोही जहाजमा आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजनाको टेकु अस्पताल र अर्की एक युवतीको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ।
पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।
जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एक जना छन्।