जिल्ला अदालत रौतहटले निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका ७ जनामध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडियाका २० वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन राम, अजयकुमार रन्जन र शेख आजादलाई जिल्ला अदालत रौतहटले मंगलबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका ७ जनामध्ये निरन्जन कार्यरत नर्सरीका सञ्चालक राजाराम साहलाई पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले साधारण तारेखमा छोडेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए।
‘हिजो थुनकछेक बहस सकियो। आरोपितमध्ये ३ जनालाई पुर्पक्षका लागि थुनमा राख्न आदेश दिइएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘अर्का आरोपित १९ वर्षीय विवेकराय यादवको उमेर नपुगेका कारण पुनर्स्थापना केन्द्र पठाउने आदेश दिइएको हो।’
उनका अनुसार अर्का आरोपित सिकिन्द्र पासवानको मानसिक स्थिति ठीक नभएकाले उनलाई उपचारका लागि अस्पताल पठाउने र ठीक भएपछि अदालतमा पेश गर्ने आदेश भएको हो।
गरुडा नगरपालिका–८ जिंगडिया टोलका निरन्जन रामको साउन ३१ गते धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो।
निरन्जनको हत्यापछि पक्राउ परेका ७ जनालाई प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइएको थियो।
उक्त जाहेरीमा नाम परेकामध्ये २ जना अझै पनि फरार छन् भने अर्का एक जनाको प्रहरी हिरासतमै मृत्यु भइसकेको छ।