लमजुङमा सरकारी तथा संस्थागत विद्यालय खुलाएर विद्यार्थी भौतिक रूपमा उपस्थित गराई पठनपाठन सुरू गरेपछि जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आइतबार सूचना निकालेर अहिले विद्यालय खुलाउन नपाइने बताएका हुन्।
‘सामुदायिक र संस्थागत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गए जिम्मेवारी सम्बन्धित विद्यालयमा रहने जानकारी गराउँदै त्यस्ता कामकारवाही गरेको संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने जानकारी गराउँछु,’ उनले निकालेको सूचनामा भनिएको छ।
लमजुङमा अहिलेसम्म कोरोना संक्रमित संख्या तीन सय ७३ पुगेको छ। जसमध्ये २७१ जना निको भइसकेका छन् भने १०२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन्।
वेशीसहर, मध्यनेपाल, सुन्दरबजार नगरपालिकालगायतमा समुदायस्तरमा समेत कोरोना देखिएको अवस्थामा विभिन्न पालिकामा विद्यालय खुलेको थियो।
‘विद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था तथा परीक्षा समेत अर्को सूचना जारी नभएसम्म सञ्चालन नगर्ने नगराउनेसम्बन्धी सरकारले भदौ २९ मा निर्णय गरेको हो,’ उनले भने।
अर्को सूचना नआउँदासम्म शैक्षिक संस्था नखोल्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ।