पासो लगाएर मान्छे मरेको डोरी करोडौंमा बिक्री हुने भन्दै ललितपुरमा एक महिलाको हत्या भएको छ।
हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।
प्रहरीले हत्या आरोपमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सविन प्रजा, मोरङ पथरी शनिस्चरे नगरपालिका वडा नम्बर ८ मंगलबारेका २० वर्षीय सुमन मगर र उनकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझीलाई पक्राउ गरेको हो। उनीहरू ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धि नयाँबजार बस्थे।
उनीहरूमाथि नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीया कमला तामाङको हत्या गरेको आरोप छ।
गत साउन २५ गते बिहान साढे ६ बजे सुनाकोठीस्थित डेरामा कमलाको शव फेला परेको थियो। कमला मृत अवस्थामा फेला परेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो।
घटनास्थल पुगेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेपछि थप अनुसन्धान अघि बढायो।
अनुसन्धान गर्न प्रहरीले सुरूमा सुमन मगरलाई पक्राउ गर्यो। उनलाई झण्डै एक महिनापछि असोज २१ गते हरिसिद्धिबाटै पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुँवेर खापुङले बताए।
सुमनसँग सोधपुछ गरेपछि प्रहरीले थप दुई जनालाई मकवानपुरबाट पक्राउ गरेको थियो। सविन प्रजा र उनकी श्रीमती प्रविना प्रजा माझीलाई प्रहरीले भोलि पल्ट पक्राउ गरेको थियो। आइतबार महाशाखाले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।
पक्राउ गरी अनुसन्धान गरी उनीहरूमाथि सोधपुछ गर्दा उनीहरूले अन्धविश्वासको लहैलहैमा लागेर हत्या गरेको थाहा भएको एसएसपी खापुङले बताए।
'उनीहरूले मान्छे पासो लगाएर मरेको डोरी करोडौंमा बेचिन्छ भन्ने कुरा कतैबाट सुनेछन्,' उनले भने, 'त्यही सुनेकै भरमा हत्या हुन थाल्यो।'
सविन र सुमनले मानिस पासो लागी मरेको डोरीसँगै राम-लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू करोडौं रुपैयाँमा बिक्रि हुने हल्ला कतैबाट सुनेका थिए। 'उनीहरूले हल्ला कहाँबाट सुनेको भन्ने चाहि सुनेको छैन,' खापुङले भने।
त्यही शिलशिलामा उनीहरूले त्यस्तो डोरी कहाँबाट ल्याउने त भनेर योजना बनाए। योजना अनुसार उनीहरूले कमलालाई निशाना बनाए। सुमन, सविन र प्रविना तिनै जना सँगै बसेर योजना बनाएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।
सुमन र कमलाको पुरानो चिनजान थियो। साथै उनीहरूको अवैध सम्बन्ध समेत रहेको प्रहरीले जनाएको छ। कमला आफ्ना श्रीमान र छोरासँग छुटिएर टहरामा बसिरहेकी थिइन्। उनी सामान्य मजदुरी गरी बस्ने गर्थिन्।
कमला उनीहरूको सजिलो निशाना बनेको थियो। भदौ २४ गते सुमन र सविनले आफूहरू टहरामा बस्न आउने भन्दै कमलालाई फोन गरेर बताए।
त्यसअघि पनि उनीहरू त्यहाँ बसेर मापसे गर्थे। त्यसरी नै उनीहरूले रक्सी लिएर ४ बजे तिर टहरामा गए। मापसे गरी उनीहरू राति टहरामै सुतेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। कमला खाटमा सुतेकी थिइन् भने सुमन र सविन दुबै जना भुईमा सुतेका थिए।
सुतिसकेपछि सविन र सुमनले सुरूमा कमलाको हात सलले बाँधे। इनारमा प्रयोग हुने डोरी उनीहरूले पहिल्यै लगेका थिए। त्यसैले घाँटीमा बेरेर हत्या गरे।
हत्यापछि डोरीसँगै कानमा लगाएको गहना, मोबाइल पनि उनीहरूले लुटेर लगे।
प्रहरी उपरीक्षक पंगेनीका अनुसार भदौ २५ गते बिहानै उनीहरूले नुहाएर धुँप बालेर पुजा पनि गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। करोडौं रकम पाइने कुरा सँगै उनीहरूले अर्को कुरा पनि सुनेका थिए।
'पासो लगाएको डोरी ऐनामा देखाएर हेर्यो भने शुद्ध भएमा देखिँदैन। शुद्ध नभए देखिन्छ।' त्यही हल्लाकै भरमा उनीहरूले बिहानै डोरी ऐनामा देखाए। तर डोरी ऐनामा देखियो।
ऐनामा देखिएपछि उनीहरूले त्यो डोरी खोलामा फ्याँकेका थिए। साथै कानमा लगाएको गहना पनि नक्कली भएको खुलेपछि उनीहरूले गहना पनि फ्याकेँको प्रहरीले जनाएको छ।
प्रहरीले अहिले सो गहना र डोरी पनि खोजिरहेको बताएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।