पछिल्ला केही दिनयता सडक दुर्घटना र त्यससँग सम्वन्धित समाचारले नेपाली सञ्चार माध्यममा राम्रै स्थान पाएको छ। कुनै दिन छैन सायद सडक दुर्घटनाको समाचार नभएको। सायद कुनै सञ्चारमाध्यम छैन दुर्घटनाको समाचार नसमेटेको।
विश्वमा प्रति ६ सेकेण्डमा १ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने नेपालमा प्रतिदिन ५ देखि ६ जनाको सडक दुर्घटनामा ज्यान गएको तथ्याङ्क छ। दुर्घटनाका कारण अंगभंग हुनेको संख्या कैयौ गुणा बढी छ। यो क्रम दिन दिनानुदिन बढ्दो अवस्थामा छ।
पछिल्ला केही दिन यता त्यति धेरै सडक दुर्घटनाको बिषयवस्तु किन यसरी उठ्यो? राज्यका निकायहरुले पक्कै पनि बिश्लेषण गरेका होलान्। तर दुर्घटनाको तातो पिडाका बखत चर्का कुरा गर्ने हाम्रो रोग हो त्यसैले यो बिषय त्यती बिध्न उठेको हो भन्ने मेरो बुझाइ छ।
बिगतमा पनि हामीले सडक दुर्घटनाका समाचार नबनाएका नपढेका वा नसुनेका होईनौ। तर हरेक दुर्घटनाको फ्लोअप बढीमा १५/२० दिन हुन्छ। अनी पिडीत परिवारले समेत कोट्याउन चाहदैन, दुर्घटनाका बिषयमा सोधखोज गर्नु उनिहरुलाई पिडामाथी पिडा थप्नु हुन्छ भने अरुलाई के मतलव, पटक पटक यस्तै भएको छ।
बिगतमा ठुला ठुला दुर्घटना भएका छन्। एउटै दुर्घटनामा ४५/५० जना सम्मको सडकमा ज्यान गएको छ। तर त्यो बिषय त्यसै साता हराएको छ। बढीमा दुर्घटनाका पिडीत परिवारले क्षतीपुर्ती नपाउदा सम्म अलिअलि बहस बाँकी रहन्छ।
क्षतिपूर्ती रकम पाएपछि त्यो आवाज र बहस त्यसै हराउंछ। कहिले काही नागरीक दवावमा बन्ने आयोगले प्रतिवेदन दिदा सम्म यो बिषयले ठाउ पाउछ तर त्यो प्रतिवेदनका आधारमा कुनै कार्वाही प्रक्रिया अगाडी बढेको पाइँदैन।
काठमाडौँमा दुर्घटना हुँदा सितीमिती मानिसको ज्यान जान्न, त्यसकारण पनी हरेक दिन हुने साना तिना दुर्घटनाको बिषय चर्चाको बिषय बन्दैन। उपत्यका बाहिर दुर्घटना निकै कम हुन्छन्। ती क्षेत्रमा एकै पल्टमा धेरैको ज्यान जान्छ र पनि त्यो बहसको बिषय बन्दैन। तर दुर्घटनाको कारण र त्यसमा सम्लग्न तथ्यहरुको खोजी हुदैन यसरी नै अल्मलिएको छ यातायात क्षेत्र।
यस पटक के कारणले दुर्घटनाको बिषयले चर्चा पायो त्यता तिर नजाउ। लोक संस्कृतीको जगेर्नामा लागेकी कलाकारको मृत्युले स्तव्ध भएको नेपाली समाज त्यतीको आक्रोसमा आउनु स्वभाबिक हो। तर ति कलाकारको अकाल मृत्युलाई कारण बनाएर अरुको ज्यान नजाओस् भन्ने दवाव श्रृजना गर्ने काममा भने हाम्रो समाज चुकेको देखियो।
लोकगायिका मन्जु महतको निधन, सडक दुर्घटनाका कारणहरुको खोजी र सडक दुर्घटनाको न्युनिकरणका लागी राज्यका जिम्मेवार निकायहरुलाई लाग्न दवाव श्रृजना गर्न दरिलो साध्य बन्नु पथ्र्यो तर बन्न सकेन।
मान्छेहरु क्षण क्षणमा बोली फेर्छन्। यस्तै समाचार आएका छन् एउटा टिम जादा गृहमन्त्रीले दुर्घटनामा सम्लग्न चालकलाई कर्तब्य ज्यानमा मुद्दा चलाउन दिए भन्ने खवर आयो। त्यसको केही घण्टा पछि मजदुर संगठनको दवाव पर्यो सायद गृहमन्त्रीले फेरी कार्वाही नगर्न दवाव दिए रे समाचार आई हाल्यो। यी समाचार अनुमानका आधारमा आए वा प्रोपगण्डा हुन् कसरी बुझ्ने ? किन गृहमन्त्रीले प्रचलीत कानुन अनुसार कार्वाही हुन्छ भनेर दुवै पक्षलाई भन्न सकेनन्?
यस्तैमा अलमलिएको छ सडक दुर्घटना पिडीतको न्याय।
केहि दिन यता ट्राफिक प्रहरीले सक्रियता देखाएको एकै दिनमा हजार भन्दा बढी चालक कार्वाहीमा परेको भन्दै उपत्यका ट्राफिक प्रहरीका प्रमुखको कामको बडो प्रशंशा हुन थालेको छ। आफ्ना अगाडी झ्याल ढोका डोरीले बांधेर चलेका सवारी साधन गुड्दा नदेखे जस्तो गरी चुप लागेर बस्ने उपत्यका ट्राफिक प्रहरी प्रमुखको प्रशंसा मात्रै गर्नु पनि त्यती उपयुक्त हो जस्तो लागेन। उनले नियमीत जिम्मेवारीको काम मात्रै गरेका हुन् भन्ने मेरो बझाई हो त्यो जिम्मेवारी हिजो पुरा गरेका थिएनन्।
उपत्यका भित्रैकै कुरा गर्ने हो भने सिंगो राज्य त्यही छ। त्यहीका सडकमा दर्जनौ मन्त्री झण्डा हल्लाउदै कुद्छन निती निर्माताहरु त्यही कुद्छन। तिनलाई थाह छ त्यहांका सवारी साधन कस्ता छन्। केही महिना पहिले स्कुले बच्चा बोकेको माइक्रो बसको ढोका उछिट्टीएर दरवार मार्ग ट्राफिक प्रहरीको प्रबेशद्धारमा पुग्यो। त्यसको समाचार र तस्वीर समेत सार्वजनिक भयो। सायद त्यो सवारी साधनले आजपनि दिनभर यात्रु बोकी रहेको छ। त्यस्ता सवारी साधन कती छन् कती। ट्राफिक प्रहरीले अत्यन्त राम्रो काम गरेको छ भनेर प्रशंसा पनि गरी रहेका छौ। देशको मुटुको त यो अवस्था छ भने अरु क्षेत्रको के कुरा गर्ने ?।
ट्राफिक प्रहरीको काम नै ट्राफिक व्यवस्थापन र नियन्त्रण गर्ने हो। त्यस बापत राज्यको ढुकुटीबाट तलव खाएकै छ । के उसले ३६५ दिन नै सडकको यथोचित व्यबस्थापनमा लाग्नु पर्दैन ? बिगतमा उपत्यका ट्राफिकले के त्यो जिम्मेवारी पुरा नगरेकै हो त ? आज पुरा गरेको छ भन्ने बुझौं ? उसले नगरेर कसले गर्ने हो ? यसको जवाफ कहां खोज्ने त्यही अलमलमा रुमल्लीएको छ जस्तो लाग्यो नेपाली बौद्धीक क्षेत्र।
हामी आजपनि सडक दुर्घटनाको सम्पुर्ण दोषी एउटा चालकलाई मात्र देखिरहेका छौ। यसरी सिधा आंखाले हेर्दा त्यो देख्नु स्वभाविक पनि हो। तर खुकुरी चलाउनेले गरेको हत्या जस्तो एउटै चालकलाई दोष दिईरहने हो भने दुर्घटना न्युनिकरणको आशा गर्नु गलत छ।
दुर्घटनाको एउटै कारण लापर्वाही हो समयमा सडक मर्मत नगर्ने जिम्मेवार निकायको लापर्वाही, समय समयमा आफ्नो सवारी साधन मर्मत नगर्नु सवारी धनीको लापर्वाही, मर्मत नगरी बिग्रेको सवारी चलाउनु चालकको लापर्वाही, जिर्ण भैसकेका सवारी चलाउन जांचपास दिने यातायात व्यबस्था कार्यालयको लापर्वाही हो। डोरीले बांधेर सडकमा गुड्ने अवस्था सम्म पनी नियन्त्रणमा नलिनु ट्राफिक प्रहरीको लापर्वाही हो। तिव्र गतीमा सवारी हाक्नु, मादक पदार्थ सेवन गरेर सवारी हाक्नु जस्ता बिषयहरु प्रत्यक्ष देखिने कारणहरु हुन। तसर्थ प्रत्यक्ष होस वा अप्रत्यक्ष त्यसमा सम्लग्न पक्षहरु जिम्मेवार नभएसम्म समस्या बल्झीरहन्छ, सडकमा ज्यान जानेक्रम निरन्तर रहीरहन्छ ।
मानौ मन्जु महतको ज्यान जानुको प्रमुख कारण पछिल्लो समय चर्चामा आए जस्तो सवारी साधनको ब्रेक फेल हो रे तर ब्रेकफेल हुनुको कारण के हो ? सडकको दुरावस्था वा अन्य कुनै ? त्यसको पनि खोजि हुनु जरुरी छ। नियमित चेकजांच गर्ने गरिएको सवारी साधनको सामान्य अवस्थामा ब्रेकफेल हुंदै हुदैन। कुनै पनि सवारी साधनको ब्रेक फेल हुनका लागी या पुर्णरुपमा ब्रेक आयल सकिएको हुनु प¥यो, जसका सवारीधनी वा चालकले मर्मत सम्भारमा चासो नदिएको होस या ब्रेक पाईप वा अन्य त्यससंग सम्वन्धीत पुर्जाहरुमा क्षती हुनु प¥यो। त्यो दुर्घटनाका बखतमा मात्र सम्भव छ। या त सडकको खाल्डाखुल्डीमा परेर ब्रेक पाईपमा क्षती पुगेको अवस्था हुनु पर्यो।
सडक दुर्घटना मानव श्रृजीत घटना हो,अव यो दुर्घटना होईन भनेर बहस चलाउने बेला भएको छ। जहा नखाएको बिष पनि लाग्छ। सवारी साधन संग सरोकार नै नभएकाहरुको ज्यान जान्छ, त्यसैका लगानीकर्ताहरुको पनि ज्यान जान्छ। तर त्यसको न्युनिकरणका लागी हाम्रो समाजको चेतना उदासिन छ।
सडक दुर्घटनाको अध्ययन गरीरहेको एउटा बिद्यार्थी भएको नाताले यो बिषयमा अलि गम्भीर हुन नेपाली बौद्धीक समाजलाई मेरो आग्रह छ। हामी उच्चस्तरीय र आधुनीक साधनहरुको प्रयोगको नाममा सडक दुर्घटनाको जोखिममा छौ। त्यसबाट छुटकारा पाउन बेलैबाट सचेत बनौ आ आफ्नो तहबाट लागौ। अन्यथा हाम्रो अमुल्य जिवन एक सेकेण्डमै अन्त्य हुने भयावह अवस्था हाम्रो अगाडी छ।
आफु सुरक्षित ढंगले सवारी हाक्छु भन्ने मात्र सोच राखेर सडकमा हिड्दा दुर्घटनाको जोखिम केही हदसम्म कम होला। हामी आफ्ना कारणले बच्न सकिएला तर अर्काका कारणले हुने दुर्घटनाको जोखिमबाट उम्कन आफु मात्र होईन राज्यका जिम्मेवार निकायको भुमिका प्रभावकारी बन्नुपर्छ।
सडक दुर्घटना पुर्ण रुपले नियन्त्रण हुंदैन न्युनिकरण गर्न सकिन्छ यो कुरालाई सवैले स्वीकार गरेकै हो। तर न्युनिकरणका लागी के गर्ने त ? राज्यले योजना बनाउन सक्नु पर्छ। हरेक दुर्घटनाका कारणहरुको खोजि गर्न बिज्ञहरुको सहभागीतामा निष्पक्ष अनुसन्धान गर्ने, प्राप्त तथ्यहरुको गहन अध्ययन गर्ने र ती कारणहरुको नियन्त्रण गर्न प्रभावकारी योजना बनाउने। सम्लग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कार्वाही गर्ने निती राज्यले बनाउन नसके सडक दुर्घटनाको स्थिति अझ भयाबह बन्दै जाने निश्चित छ।
तस्बिर: दरबारमार्गमा बिद्यार्थी बोकेको माइक्रोबसको ढोका उछिट्टिएपछि फिट गर्दै गाडीका चालक तथा बिद्यार्थीहरु।