मन्त्रिपरिषद्ले हिजो (बिहिवार) २२ जाना सचिवको सरुवा गर्यो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि यो निर्णयमा औपचारिक रुपमा संलग्न भए।
साविक जस्तै मन्त्रिपरिषद्को निर्णयमा नातासम्बन्ध, दलगत आवद्वता र अव्यवसायीक 'फ्याक्टर' हावी भयो।
'सही मानिस सही ठाउँ' भन्ने सिद्वान्त यसपाला पनि पूर्णतया वेवास्ता भयो नै।
किन यस्तो त?
सचिव सरुवा/पदस्थापनबारे सेतोपाटीकाले मन्त्री पण्डितसँग गरेको छोटो कुराकानीः
सचिव बढुवाको कसरत कस्तो रह्यो?
– सचिव सरुवामा कतिपय मन्त्रीको व्यक्तिगत रुची हुँदो रहेछ। विषयगत अनुभवको कुरा पनि हुँदो रहेछ। मन्त्रालयले चलाउन ज्ञान/अनुभवले मात्र पनि पुग्दैन। नेतृत्व क्षमता पनि हेर्नुपर्दोरहेछ।
यी सबै कुरा मिलाएर प्राथमिकता क्रम निर्धारण हुँदो रहेछ। यीनै आधारमा मेरो पनि सल्लाह र सम्मतीमा सरुवा सूची बन्यो।
सचिव सरुवामा मन्त्रीहरुको प्राथमिकता के हुँदो रहेछ?
– मन्त्रीहरुको पनि थरिथरि प्राथमिकता देखियो। कसैलाई फलाना नल्याई नहुने। कसैलाई फलाना हटाउनैपर्ने।
मन्त्रीको 'इन्ट्रेष्ट' मात्र हैन। सचिवहरुको 'इन्ट्रेष्ट' पनि त्यस्तै हुने। त्यसैले सचिव सरुवा सन्तुलन मिलाएरै गर्नुपर्ने निर्णय रहेछ।
सचिव सरुवाको तटस्थ मूल्याङ्कन गर्नुपर्यो भने कति अंक दिनुहुन्छ?
– सकेसम्म राम्रो गर्न खोजेकै हो। तर कतिपय सचिवहरु नेगेटिभ योग्यताका पनि रहेछन्। सचिव भइसकेकालाई कहिँ त राख्नैपर्यो। जगेडामा फाल्ने कुरा त भएन। त्यसैले हामीले खोजेजस्तो 'पर्फेक्ट' हुने अवस्था छैन। तैपनि समग्रम ७५ अंकसम्म दिन सकिन्छ।
सचिव सरुवामा मन्त्री, नेता र अरु ठालूहरुबाट कत्तिको दवाव सहनुपर्ने रहेछ?
– हाम्रो बानि बिग्रिसकेको छ, त्यसैले दवाव त जहाँ पनि हुन्छ। मीठो खाना पाक्यो भने हामी धेरै खानलाई दवाव महशुस गर्छौ । धेरै खान्छौं।
खानेकुरा नमिठो भयो भने खानुपर्ने जति पनि खाँदैनौं। कम खान्छौं। सरुवामा के को दवाव नहोस्।