उसलाई थाह छ– उसका विचार उनीहरुलाई मन पर्दैनन् किनभने ती उनीहरुका विरुद्ध छन्। ऊ ठान्छ– मान्छेको मस्तिष्क बौरिएको छैन, अझै बिरामी छ। बिरामी मस्तिष्कले उसलाई पनि त्यस्तै ठान्छन्।
–मात्र 'म थिएँ र भएँ' भन्ने हैन, मैले मलाई बनाउनु छ र बचाउनु छ। जीवन आफैंमा एउटा महाविद्यालय हो। शिक्षक–विद्यार्थी दुबै हो। जीवन नै पढिने र पढाउने पाठ हो तर हामी यो पाठ पढ्नै चाहदैनौं, पढाउनु कसरी?
–आत्मामा उज्यालो हुन्छ तर उसैका ओरिपरिका मान्छेमा त्यो छैन। त्यो अँध्यारोमा ईश्वरको बास कहाँ होला? हुन त ईश्वर पनि एउटा प्रश्न चिन्ह नै हो– समाधान रहित!
–ईश्वरले मान्छेलाई दुई आँखा दिनुको अर्थ– एउटाले आफूलाई राम्रो देख्नु र अर्कोले अर्कालाई नराम्रो देख्नु भएको छ। यस्ता आँखा ती ईश्वरले मान्छेलाई किन दिएँ?
मान्छेको मस्तिष्कमा आजकाल अर्थोकै सल्बलाउन थालेको छ। एउटा लेखक प्रायः एक्लो भएजस्तै ऊ आजकल एक्लो भएको छ। यस्तै यस्तै सोचेर आफ्नो चित्त बुझाउनु छ। बस्........।
अहिले राम्रा कुरा– “गधाको घाँटीमा महुवाको माला।” आजको सुकुमार बिहान त्यतिकै बित्यो! केही सोचेर मात्र!
...
छोरो पढाउन पैसा पुगेन। उहाँले पैसा माग्नुभयो। ऊ एकछिन उहाँको अनुहार हेर्छ, अनुहारमा केही देख्दैन, अनुहार बाहेक! न विगतको पश्चाताप न आगतको आशा? फेरि एकछिन् त्यो अनुहार पढ्छ– मात्र निराशाका काला अक्षरहरु भर्भरी उम्रिएका देख्छ गर्मीका घमौरा जस्ता।
रिन गरेर दुईलाख दिन्छ। उहाँको अनुहारमा खुशी छाउँछ। सुरु हुन्छ पैसाको चलखेल। छोरोले भन्छ– “बाबा, मलाई ज्याकेट चाहिएको छ। पोहोरको ज्याकेट पुरानो भो।”
हरेक वर्ष ज्याकेट फेर्नु पर्ने चलन भैसकेको छ। बजारमा नयाँनयाँ 'स्टाइल' आएको छ। दुनियाँ 'स्टाइल'मै चलेको छ। स्टाइल गर्न जन्मदै सिकेर आएको छ।
उहाँ बजार जानुहुन्छ। छोराको इच्छा तु. पूरा गर्नु हुन्छ। लिन त त्यो पैसा सापट नै लिएको हो तर नतिरे पनि हुन्छ भन्ने आत्मज्ञान उहाँलाई छ। नयाँ मोडेलको ज्याकेट लाएर छोरो हिडेको छ। छोरो खुशी छ, उहाँ र श्रीमती झन् खुशी हुनुहुन्छ। दुबै दंग हुनुहुन्छ– अरुको भन्दा हाम्रो छोरो के कम?
“कतिमा किनेको ज्याकेट? दामी देखिन्छ नि?,” एउटा आँपेले सोध्छ।
सजिलो उत्तर दिन्छ– “जाबो तीन हजारमा!”
तर त्यो जाबो तीन हजार कहाँबाट कसरी आएको छ? कसको पसिना कति चुहेको छ? त्यसको मतलब छैन। उसको साध्य ज्याकेट हो, साधन जे होस् ...! 'इट इज नट माइ प्रब्लम' यतिमै सकिन्छ उसको जवाफ।
यो छोटो वार्ता ऊ सुनिरहेको छ। उसको मन कट्कटी खान्छ। मनले मन खाने भनेको यही रहेछ भन्ठान्छ। सुन्नुको विकल्प छैन, उसँग। दिनु र हेर्नु र सुन्नु नै उसको नियति भएको छ।
छोराको अनुहार हेर्छ, उसमा पनि भविष्यको आशाभन्दा निराशा झन् बढी देख्छ तर उहाँहरुको हँसिलो मुहारसँग हाँसो साट्दै फोस्रो हाँसो फिसिक्क हाँस्छ! कालाई के भन्नु उहाँहरु आफ्नै दाजुभाउजू!
उसको मन कति दुःखेको छ– उसैलाई थाह छ! रिस कति उठेको छ– त्यो पनि उसैलाई थाह छ। तैपनि आफूभित्रको रौद्ररुप आफैभित्र लुकाउँछ। दुःखको बागमती आफैभित्र सुकाउँछ।
मनको दुःखाइ र पेटको भोक कसैलाई थाह हुदैन। कसैलाई पेडा छ, कसैलाई पीडा छ। कसैलाई सोख, कसैलाई जोक छ! कसैलाई मोज छ, कसैलाई भोक छ। संसार यस्तै छ।
भोक पनि थरीथरीका हुन्छन्। मुख्यतः राम्रो हुने भोक। राम्रो हुने भोकले मान्छेलाई सताएको छ। सबै राम्रो हुन चाहन्छन्। राम्रो हुन चाहने धेरै छन्। असल हुन चाहने पनि धेरै छन् तर धेरै कम। धेरैका सामु कमको केही लाग्दैन।
...
आज यी एकजोडी दाजुभाउजू कति वर्षपछि हाँसेका छन्। मनमनै सोच्छ– यी हाँसिरहून्। ईश्वरको कृपा यीमाथि यसैगरी भइरहोस्। प्रायः सधैं हास्ने अर्को जोडी दाजुभाउजू भने हाँस्न छोडेका छन्। फेरि सोच्छ– यस्तै हो संसार कहीँ घाम, कहीँ छायाँ। सबै मान्छे सधैं खुशी र सुखी हुन सक्दैन। दुःखका थर र थरी पनि धेरै छन्। दुःख र सुखले पनि घर र घाट साटीसाटी बस्छ।
उसलाई सुखी देख्छन् तर उसको दुःख उसैलाई थाह छ? जीवन भनेको बाच्नु मात्र हैन भन्ने कुरा बुझाएर पनि कसैले बुझ्दैन।
मान्छे आवश्यकताका हैन रहरका दास भएका छन्। नत्र मान्छेले आफूलाई मान्छे बनाउन सक्थ्यो। जन्म त प्रकृतिको रचना हो, निर्माण हैन। निर्माण आफूले गर्ने हो, आफूभित्र आफूलाई बनाउने हो मान्छेले! रुखले आफ्नो खानेकुरा आफैं जुटाउँछ। आफैं बाँचेको छ त्यो रुख। दुनियाँलाई छाहारी पनि दिएको छ। तर मान्छे .....?
मान्छे, नपाउँदा पनि दुखी नै थिए। पाएर पनि झन् दुखी छन् –थोरै पाए भनेर! सर्वोच्च आनन्दमा को नै होला र? उनीहरुको विचारमा ऊ बाहेक!
त्यो ऊ अरु कोही नभएर ऊ आफैं हो। कसलाई कहोस् उभित्रको दुःख। आफैं भन्छ, आफैं सुन्छ। “यस्तै हो– दुःख पाए गीत आउँछ, सुख पाए अक्कल भाग्छ!” भन्ठान्छ चित्त बुझाउँछ।
...
भान्जीले एउटा तस्वीर भित्तामा टाँस्दै भन्छिन्– “मामा यो त खतरा देखियो नि!”
कुरा बुझ्दैन र सोध्छ– “खतरा?”
“'आइ मिन' यहाँ त खतरा देखिन्छ नि मामा!”
भान्जीको कुरा सुनेर भन्छ–“ल त्यो तस्वीर त्यहाँबाट निकाली हाल त।”
भान्जी अलमल्ल पर्छिन् र सोध्छिन्– “किन मामा?”
“त्यस्तो खतरा देखिने ठाउँमा तस्वीर राख्नु हुँदैन, राम्रो देखिने ठाउँमा राख्नु पर्छ। तस्वीरको इज्जत गर्नु पर्छ।”
हुन त आज विचेत छन् चेतनाहरु। जिउँदा चेतनाहरुको त इज्जत हुदैन। निर्जीव तस्वीर जहाँ राखे पनि हुन्छ। शालिक उखेलेर फ्याँके जस्तो च्यातेर फ्याँके पनि हुन्छ। जे गरे पनि हुन्छ। लाग्छ– अहिले समयको उर्दी नै यस्तै छ। सबले आ–आफ्ना फरमान पुरा गरेका छन्।
स्नातक तहको अन्तिम वर्ष पढ्दै गरेकी भान्जीप्रति दुःखी हुन्छ। “आफ्नो भाषा, भाषा मात्र हैन मातृभाषा पनि हो त्यसको सम्मान गर्न र सुहाउँदो बोल्न सिक्नु पर्छ,” भन्छ। भान्जी ङिच्च हाँस्छिन्। बुझिन् कि बुझिनन् उनैलाई थाह छ।
नयाँपुस्ताका लागि आज आफ्नै भाषा अन्धकार जस्तो भएको छ। ज्ञानको भोक छैन आम मान्छेलाई, मानको छ। आधुनिकताको भोकमा भौतारिएको छ नयाँ पुस्ता। रिमिक्स छ जताततै!
भाषाको भ्याक्सेटोमी धमाधम हुदैछ। कोठैपिच्छे शिविर खोलिएका छन् अनलाइनका। हारमुनियम बजाउन नजान्नेहरु संगीतकार भएका छन्। 'भासा' र 'पनी' लेख्नेहरु सम्पादक भएका छन्।
जमाना यस्तै छ– “हिराको मोल गधाले जान्दैन।” यो भन्दा बढी ऊ केही सोच्न सक्दैन।
...
बल्ल हाँस्न थालेका दाजु बेलुका अबेला आउनु हुन्छ। अनि दिल खोलेर आफ्नो दैनिकी सुनाउनु थाल्नु हुन्छ। धेरैदिन पछि दाजुको दिल खुश देखिन्छ।
परिवारका सबै ओरिपरि बसेर सुन्छन् –“एता गएँ, उता गएँ, यस्तो भयो, उस्तो भयो, पु˜राआ˜˜ घुमियो, पु˜राआ˜˜.. थाकियो, ला˜˜स्टै˜ भी˜˜ड थियो गाडी, पकेटमारले मेरा चस्मा झ्याप हानीदियो। क्या˜˜ बोर! थाहै भएन। ओर्लिएर चस्मा लाउन खोज्छु त छैन।”
दाजुको कुरा सुनेर सबै गलल्ल हाँस्छन् रमाइलो मान्छन्। हा.... हा... ही... ही...।
उनै भान्जी थप्छिन्– “मामालाई त्यो गगल्स त दा˜˜म्मी˜ देखिन्थ्यो नि!” फेरि उही हा... हा... ही... ही... बत्तिसी सबैका देखिन्छन्। गँजाडीको गाना अम्मलीको ताल जस्तो देख्छ त्यो दृश्य उसले!
त्यो दृश्य उसलाई न हाँस उठ्दो नै हुन्छ, न रमाइलो नै लाग्छ। उल्टो विरक्त लाग्छ। मित्रभित्रै मन दुःख्छ। उसलाई थाह छ– उसको मन प्रायः सधैं दुखेको हुन्छ तर कसैले त्यो दुःखको अनुभूत गर्दैनन्। हुन त नगर्ने त हैनन् बिचराहरु... तर त्यो क्षमता नै छैन उनीहरुमा। त्यसैले बिचरा भन्छ उनीहरुलाई ऊ।
दोष उनीहरुको हैन, उनीहरुलाई बनाउने त्यही ईश्वरको हो। त्यो पक्षपाती ईश्वरको! ईश्वरले त्यो क्षमता उनीहरुलाई दिएनन्। यो पनि एक कारण हो– ईश्वर आफैंमा एक प्रश्न हो भन्ने। समाधानरहित प्रश्न!
ऊ सकेसम्म अरुजस्तै भइदिन्छ तर पनि कहिलेकाहीँ दुखेको मन अनुहारमा उत्रिदो रहेछ। अचम्म छ– अरुले देख्दैनन् आफ्नो अनुहार आफैं देख्छ। तुरुन्तै बदलेर पहिले जस्तै बनाउँछ।
दाजुको अनुहार हेर्छ – उज्यालो छ, हँसिलो छ। भाउजूतिर हेर्छ झन् उज्यालो, झन् हँसिलो। अर्का दाजु–भाउजूतिर हेर्छ उनीहरुको पनि अनुहारबाट अहिले बादल हटेको छ, थोरै भए पनि जून चिहाएको छ। अलिकति भए पनि असजिलो हाँसो छ ती दुबै अनुहारमा। भाइ–बुहारीतिर हेर्छ– हाँसो न खुशी! सधैं जस्तो, उस्तै पाउँछ। निरपेक्षताभन्दा माथि अपेक्षाभन्दा तल...!
तर पनि वातावरण रमाइलो छ। भित्र मनमा काँडा उमि्रए पनि, फूल फुले पनि अनुहार फक्रेकै देखिन्छ । सुझु न बुझु दुई वर्षको पिन्टु पनि हाँसेको छ। अरु भतिजा–भतिजी, भान्जा–भान्जीको त उमेरै आफ्नो अनुहार हेरेर आफैं दंग पर्ने समयको छ।
तालु धेरै खुइलिसकेको छ, सेतै फुलेका दाह्री रंगाएर रातो बनाएको छ, म्याचिङ्ग छ कपालको रंगसँग! गाला चाउरी पर्न थालेका छन्। साठीको हाराहारीमा पुगिसक्नु भएको छ दाजु। भन्न पनि गाह्रो नभन्दा आफैंलाई झन् साह्रो।
“तेसो भए आज आधा हैन पु˜रा˜˜ घुमियो हैन त? अब घुम्ने ठाउँ यो धरतीमा बाँकी कहीँ छैन, हैन त? आज पु˜रा˜˜ थाकियो, अब बाँकी जीवनमा थाकान भन्ने नै छैन, हैन त? पुराको अर्थ त त्यही हुन्छ, हैन र?” एकाएक सबैका आँखा उसका आँखामा ठोक्किए। सबैका आँखामा आश्चर्यवोधक चक्र घुमिरहेको छ।
ऊ बोल्दैछ, “गाडी ला˜स्टै˜˜ भीड थियो तर फस्ट, सेकेण्ड, थर्ड, फोर्थ......भीड चाहिँ कस्तो हुन्छ? कहिले हुन्छ? अनि चस्मा झ्याप हानीदियो! कसरी हान्छ झ्याप?”
दाजु हाँस्दै प्रतिप्रश्न गर्नु हुन्छ– “हँ, के भनेको कुरै बुझिन?”
दाजु स्वीकार्नु हुन्छ। दाजुको बानी फेरिएको छ यसपालि दाजु रिसाउनु भएन। हाँस्नुभयो र तर फेरि लेघ्रो तान्दै भन्नु भो– “क्या˜˜ बोर! बानी लागिसक्यो भन्या।”
उसले भन्यो– “शब्द भनेका ज्ञानका भण्डार हुन्। तपाइँले बोल्ने शब्दले तपाइँको पहिलो परिचय दिन्छ।”
कसले कति बुझे, ऊ त्यसको पछि लाग्दैन।
“मान्छे हेर्नु बोलाई, सुन हेर्नु गलाई,” त्यही ठानेर चुप लाग्छ। चित्त बुझाउँछ।
...
अर्की भाउजू पिन्टुका कुरा गर्दै प्याच्च बीचमा बोल्नुहुन्छ– “यो बाबूलाई त अब पुरा˜˜ हेर्नु पर्छ। नत्र रेलिंग–झ्यालमा चढ्छ र लड्छ।”
उसले अलि जोड दिंदै भन्छ– “पुरा˜˜˜ हेर्नु पर्छ रे? उसोभए हिजो आधा मात्र हेरेकोले पिन्टु लडेको हो कि क्यो हो?”
पठ्ठापठ्ठी भतिजा–भतिजी, भान्जा–भान्जीले कुरा बुझेछन्। सापको जस्तो जिब्रो निकालेर हाँस्न थाले। त्यो देखेर बाँकी सबैले त्यस्तै जिब्रो निकाले। उसलाई भने भित्रभित्रै दुःख लाग्यो, आफ्नो मातृभाषालाई भ्यासेक्टोमी गर्ने ती घरेलु डाक्टरहरुको पारा देखेर।
उसले धेरै बोल्नु पनि हुँदैन। अरुलाई हेपेको हुन्छ। नबोली बस्नु पनि हुदैन, ठूलो भएको हुन्छ।
एउटा गहिरो मौनतातिर उसको मन जान्छ। “मौनम् सम्मति लक्षणम्” कति भन्नु जस्तो लाग्छ उसलाई। 'वैंश जाओस् बानी नजाओस्,' यस्तै हो भन्छ मौन बस्छ।
...
“'जैमली'को विमोचन आख्यानपुरुष ध्रुवचन्द्र गौतमबाट हुने भयो” भन्छ।
“को हो ध्रुवचन्द्र भनेको?”, डिग्री पढ्ने तरखरमा रहेको भतिजोले प्रश्न गर्छ।
हास्य कलाकार शिवहरि पौड्याललाई सम्भि्कन्छ– त्यो भतिजोको मुखाँ' हान्दिउँ जस्तो हुन्छ। भित्रभित्रै झन् सारो दुख्छ उसको मन। ऊ आफु एक साहित्यप्रेमी हो। सोच्छ– मेरो घरको अवस्था त यस्तो छ भने......?
“अन्धाका अगाडि दुनियाँ अँध्यारो।” ईश्वरले आँखा दिए पनि समयले यिनलाई अन्धो बनायो। ईश्वरभन्दा समय बलियो भएछ भन्ठान्छ। ईश्वरले दिएका आँखा फुटालेर मान्छेलाई अन्धो बनाउने समय! कति बलबान्?
...
एक महाविद्यालयका रुपमा रहेको मान्छेको जीवन अहिले आफैंमा एक कारागार भएको छ। मान्छे त्यसैमा थुनिएका छन्– अहिले सस्ता इन्टरनेटमा धेरै मान्छे तस्वीरको सौन्दर्यसँग नजिक हुन खोजे जस्तो। तिनलाई फूल सम्झेर मोहित भए जस्तो! हुन त बजारमा कागजको फूल धेरै पाइन थालेको छ।
तर, सबै फूल सुन्दर हुदैनन् र सबै फूलमा वासना पनि हूदैन। पलाँसका पनि फूल हुन्छन्। कागजका पनि फूल हुन्छन्। अनि धेरै फूलभित्र काँडा लुकेका हुन्छन्। मान्छेभित्र मान्छे लुके जस्तै!
शहर जस्तै मान्छे सघन अँध्यारोमा डुबेको छ। इच्छाहरु अब्स्ट्रयाक छन्। अहिलेको मान्छेलाई 'बायोलोजिकल निड'ले निलेको छ। यौवन र नग्नता अहिले अस्त्र बनेको छ। 'मोडर्न माइण्ड'भित्र धेरै 'एप्लिकेशन'हरु छन्, सम्हाली नसक्ना! मोडल बन्नलाई नाङ्गिनै पर्ने भएको छ।
छाल जस्तै तैरिरहेका सपनाहरु अवरुद्ध छन् र पनि मान्छे हाँसेका छन्। सबैकुरा हाँसउठ्दो छ त्यसैले सायद मान्छे हाँसेका होलान्! अब त दुःखमा पनि मान्छे हाँस्न थालेको छ। कति रुनु? के केमा मात्रै रुनु? बागमतीको मुहान सुके जस्तै आँसुका मुहान् सुकिसकेका छन्। रुनु कसरी? रुनुको पर्याय हाँस्नु भएको छ। रुनुको विकल्प पनि हाँस्नु नै भएको छ।
कृत्रिम विनम्रताहरु मान्छेको बजारमा छ््यापछ््याप्ती छन्। मान्छेले आफुलाई बेचेर त्यही मूल्यले अर्कोलाई किनिरहेछ। मान्छेको बजारमा आज खुला व्यापार भएको छ– मान्छेको खरिदविक्री।
दुःखद स्पर्शहरुले आजको दिनलाई अचेटिरह्यो। यथार्थले चिमोटिरह्यो। उसलाई भाग्यमानी देख्छन् तर एउटा ठूलो अभागको भागिदार पनि ऊ नै हो।
“सुख भन्नु जनसँग दुख भन्नु मनसँग” भन्छ। बोल्दैन, घोरिएर केही लेखिरहेको छ।
...
एउटा डायरी छ। पहिलो पृष्ठमा लेखिएको छ – अनाम डायरी!
देशका धेरै ठूला विचारहरु त्यही देशका ठूला कन्टेनरमा फालिए जस्तै एउटा सानो घरको सानो कन्टेनरमा फोहोरसँग फालिएको अवस्थामा फेला परेको हो यो।
डायरी कसको हो कुनै नाउँ छैन। धेरै पानाहरु छन्। ती पानाभित्र धेरै मानिस छन्, मानिसका चरित्र छन्। कुचरित्र छन्। विचार छन्। अविचार छन्। विचारशून्य विचार पनि छन्।
तीमध्ये यो पानामा मात्र शीर्षक लेखिएको छ – 'अनाम डायरीको एक पाना!' तर पाना एक मात्र छैन धेरै छन्।
पानाको अन्त्यमा लेखिएको छ– केही गर्नका लागि के गर्ने होला?
डिसेम्बर १७, २०११ बोस्टन, अमेरिका।