कतिलाई याद छ कुन्नि सानो बेलामा सुनिएको तथा पढिएको 'मधु-मालती'को कथा । धेरैको मानसपटलमा त्यसको धुमिल याद त बाँकी होला । त्यो याद नभए पनि धेरैलाई +२ तथा केही वर्ष अगाडिसम्म अस्तित्वमा रहेको प्रमाणपत्र तहमा रमेश विकलद्दारा लिखित 'मधुमालती'को कथा पक्कै याद छ।
त्यसमा मधुकर र मालतीको दन्त्यकथालाई पृष्ठभूमि बनाएर कथाका दुई पात्र शंकर र गौरीबीच बढ्दै गएको बाल्यस्नेहको अन्त्यको दुःखद कथा छ। कतिलाई ती कथाका पात्रहरूसंगको आफ्नै एक किसिमको सानिध्यता महसुश भएको हुनुपर्छ।
त्यस्तै बाल्य स्नेहको थिम बोकेको एउटा 'नाई नभन्नु ल-२' नामक नेपाली सिनेमा अस्ति शुक्रबारवाट नेपाली सिनेमाघरहरूमा प्रर्दशनमा आएको छ। त्यसमा सोही 'मधुमालती'को कथाको बाल्य स्नेहको आत्मा भेटन सकिन्छ।
यसमा निर्देशक विकास आचार्यले आफ्नो अघिल्लो सिनेमा ' नाई नभन्नु ल' को पृष्ठभूमिलाई यस सिनेमाको आधार बनाएका छन। नयाँ ठाँऊमा घर सरेपछि चुलबुले बालक शिशिरको भेट ऋतुसँग हुन्छ जो एकअर्काको मिल्ने साथी बन्छन्।
यो साथीत्व ऋतुको अर्को साथी वसन्तलाई मन पर्दैन। वसन्त शिशिरले आफ्नो साथी खोसेको ठान्छ र उसलाई आफ्नो दुश्मन मान्छ। आफ्नी आमाले हेरेको 'नाई नभन्नु ल' सिनेमा हेरेर शिशिरले उक्त सिनेमाको पुरूष पात्रमा आफूलाई र नारी पात्रमा ऋतुलाई देख्न थाल्छ।
गीत गाउन सिपालु शिशिरको नारायण गोपाल जस्तो गीत गाउने र पाइलट बन्ने सपना हुन्छ। बाल्य स्नेहको गाढापन र गीत गाउने सपना बोकेर जीवनभर ऋतुसँगै रहने बाल सपनासँगै अगाडि बढेको सिनेमामा एउटा मोड आइपुग्छ। अनि जे हुन्छ त्यो नै 'नाई नभन्नु ल-२'को कथा हो।
सिनेमा भित्र के छ?
सिनेमाभित्र माथि चर्चा गरिएझैं बाल्यस्नेह एकातर्फ छ भने सँगसँगै बाल इर्ष्या पनि छ। यसमा बालबालिकाको मनोविज्ञान तिनीहरूले ठूला मान्छेले भनेका कुरालाई कसरी बुझ्छन् र व्यवहारमा कसरी नक्कल गर्छन् भन्ने कुरा देखाइएको छ। संसारलाई बालबालीकाले कसरी बुझ्छन भन्ने कुरा रोचक ढंगले देखाइएको छ।
जसलाई हेरेर दर्शकहरूले कैयौं ठाँऊमा आफ्नो हाँसो बाँध्न सक्दैनन् भने कयौं ठाँऊमा आफ्नो संवेदना। यसका मूल कलाकार बालबालिका हुन तर लक्षित दर्शक सबै वर्गका हुन। यसमा बालबालिकाले आफूलाई रिलेट गर्ने भन्दा पनि व्ययस्क दर्शकहरूले आफ्नै बाल सुलभ हर्कतलाई रिलेट गर्न पुग्छन् यदी तीनलाई बिर्सेका छैनन् भने।
तीनका मनमा एक किसिमको मिठो काउकुती लगाइदिन्छ यो सिनेमाले । यसमा बाआमाको आफ्नो सन्तान प्रतिको माया, स्नेह, चाहाँदा-चहादैं पनि केही गर्न नसक्ने लाचारी, पीडा सबै छ।
निर्देशन
विकास आचार्यको निर्देशन औषत छ। संमग्र सिनेमालाई दुई बालकलाकारमाथि बोकाउने उनको दुस्साहसलाई भने मान्नै पर्छ । सिनेमाभित्र उनले आफनो यही नामको अघिल्लो सिनेमालाई आवश्यक्ता अनुसार सही प्रयोग गरेका छन् पात्रको मनोदशालाई देखाउन। प्रेम परियारको स्वर र 'मर्ने कसैलाई रहर'हुँदैनको प्रयोग अर्को राम्रो कुरा हो।
सिनेमामा सानो लाग्ने तर सिनेमाको प्रभावलाई कमजोर पार्ने त्रूटि यसभित्र छ जसले गर्दा सिनेमा केही कमजोर भएको छ। पहिलो गल्ती उनले सिनेमाको सुरूवातमा नै गरेका छन। उनले जहाँबाट सिनेमाको कथा भन्छन् त्यहीबाट दर्शकले आचार्यको ध्येय बुझ्छन्। सो सुरूवाती दृश्यलाई सिनेमाको अन्त्यतीर राखेको भए सिनेमा पर्दामा थप बलियो हुन्थ्यो।
सिनेमाभित्र बहुलाको, ज्योतिषको, ट्याक्सी डाईभरको प्रसगं निरर्थक छ। जसले सिनेमालाई एकातर्फ लामो बनाएको छ भने अर्कोतर्फ दर्शकलाई झिँजो लाग्ने बनाएको छ। सिनेमामा कतैकतै इमोशनल अत्याचारको डोज ओभरडोज महसुश हुन्छ।
अभिनयः
मूख्य कलाकारका रूपमा रहेका अनुभव रेग्मी (शिशिर), सुज्ञानी भट्टराई (ऋतु) को काम तारिफयोग्य छ। आफ्नो भूमिकामा दुवै फिट छन । 'वसन्त'को भूमिकामा देखिएका निर्दोष के़सीको काम पनि राम्रो छ। बाबु आमाको भूमिकामा सुरजसिंह ठकुरी र प्रियकां कार्कीले राम्रो अभिनय गरेका छन्। सानोनै भए पनि नव नायिका वर्षा शिवाकोटी स्क्रिनमा राम्री देखिएकी छिन्।
संगीत
सबल गीत संगीत सदैव विकास आचार्यका सिनेमाको परम्परा रही आएको छ जून यो सिनेमा पनि जारी छ। गीतसंगीत पहिले देखी नै हिट छन् । वसन्त सापकोटा र सुरेश गैरेको संगीत उत्कृष्ट छ। त्यस्तै कृष्णहरि बरालको शब्द पनि। प्रेम परियारको स्वरले ज्यान भरेका छन विशेष गरि ' मर्ने कसैलाई रहर हुदैंन' बोलको गीतमा।
यसैगरी पुरूषोतम प्रधानको काम तारिफयोग्य छ। उनले यसअघि विकास आचार्यको सिनेमामा हुने गरेको कमजोर छाँयाकंन गुणस्तरलाई यस सिनेमाबाट पूर्णविराम लगाइदिएका छन्। व्याक्ग्राण्ड म्यूजिक कमजोर छ, सम्पादनमा पनि सिनेमा केही हदसम्म चुकेको छ। पटकथा खुकुलो छ।
संमग्रमा यो औसत सिनेमा हो। विशेषतः महिलावर्गलाई यसले आकर्षित गर्न सक्छ। आफ्नो बालापनको केटाकेटीपन, बालसुलभतालाई सम्झिन चाहनेहरूलाई पनि यो सिनेमा उपयूक्त छ। राम्रो र शिष्ट नेपाली सिनेमाको पारखी हुनुहुन्छ भने हेर्दा फरक पर्दैन। ठूलै आकांक्षा नराख्नु हितकर हुन्छ।
कलाकारहरु
निर्देशनः विकास आचार्य
संगीतःसन्त सापकोटा र सुरेश गैरे
अनुभव रेग्मी, सुज्ञानी भट्टराई, सरोज खनाल, जीवन लुईटेल, प्रियंका कार्की, सुरजसिंह ठकुरी, बर्षा शिवाकोटी, सिताराम कट्टेल आदि