हल्ला
कक्षाकोठाभरि हल्ला छ
किन पढ्दैनन् नानीहरु ?
म इतिहास पढाउन खोज्छु
उनीहरु जङ्गली चरा जस्तै हल्ला गर्छन् !
म गणित पढाउन खोज्छु
उनीहरु पहाडी खोला जस्तै हल्ला गर्छन् !
म भाषा पढाउन खोज्छु
उनीहरु भाषा नै लाटो हुने गरी हल्ला गर्छन् !
म ‘हल्ला नगर’ भन्छु
उनीहरु फेरि हल्ला गर्छन् !
सायद म बाँचेको समयमा नै
कुनै गम्भीर त्रुटि हुनुपर्छ !
नत्र यो हल्ला कसरी ‘हल्ला’ हो र ?
यो हल्ला आफैमा एउटा विचार हो !
यो हल्ला आफैमा एउटा जीवन हो !
र यो हल्ला आफैमा एउटा सपना हो !
नानीहरु !
म पनि अब
तिमीहरुसँगै बसेर हल्ला गर्छु !!
फुलमतीको तकियामुनि
फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ !
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरूको नाम भेटेँ !
मलाई बल्ल थाहा भयो—
मेरो बाबु अचेल किन
ऐना मात्र हेर्नुहुन्छ
र माछाको टाउको खानुहुन्छ ?
किन हरायो आमाको मङ्गलसूत्र
र स्कुलबाट काटियो मेरो नाम ?
म बुझ्दै छु—
किन मेरो बाबुको अफिसमा
राति अबेरसम्म मिटिङ हुन्छ
र भान्छाकोठामा
झोक्राइरहनुहुन्छ आमा ?
किन यार्सागुम्बाझैँ
आधा झार
र आधा किरा जस्तो देख्छु
बाबुको जिन्दगी ?
स्कुलमा अचेल
गुरू किन जोक भन्नुहुन्न
र कुर्सीमा बसेर उँघिरहनुहुन्छ ?
म बुझ्दै छु—
गुरू किन अचेल
रामायण र महाभारतका
नीतिकथाहरु मात्र भन्नुहुन्छ ?
मेरी आमालाई थाहा छैन—
बाबुको कोटमा अल्झिएको
कपाल कसको हो
र केको सुगन्ध आइरहेछ
उहाँको शरीरबाट ?
मेरा साथीहरुलाई थाहा छैन—
गुरूको कलरमा लागेको
दाग केको हो
र किन हराउँदै छ मुस्कान
उहाँको ओठबाट ?
कसैलाई थाहा छैन—
फुलमतीको तकियामुनि
कसकसका नामहरु भेटिन्छन् ?
तर मलाई थाहा छ—
बाबु र गुरू त भगवान् हुन्
दुवै महान् र पूजनीय छन्
दुवैले मलाई एउटै सत्य सिकाउँछन्
र एउटै सुगन्ध आउँछ
हाम्रो शरीरबाट !
फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ !
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरूको नाम भेटेँ !
अन्तिम हरफमा खोज्दै जाँदा
मैले मेरो आफ्नै नाम भेटेँ ... !!
च्याउको जङ्गल
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा !
तिमीहरुले
चामलको दानामा लेखेछौ मेरो इतिहास !
सागको पातमा लेखेछौ मेरा गीतहरु !
मेरै विचारलाई सिक्री बनाएर
पशुको तबेलामा बाँधेछौ मलाई !
मेरै हड्डीलाई मुरली बनाएर
आवाजको विपक्षमा बजाएछौ मलाई !
म गर्छु अब समुद्र मन्थन
र पिउँछु हलाहल विष !
म खोस्छु कृष्णको हातबाट मुरली
र उठाउँछु सुमेरु पर्वत !
विष्णुलाई जमिनमा ओरालेर
म चढ्छु अब गरुडमाथि !
महादेवको घाँटीबाट निकालेर
म लाउँछु अब सर्पको मफलर !
मरुभूमिमा
पसिनाले बालुवा मुछेर खाएको छु मैले !
आफ्नै रगतको घुट्काले भिजाएको छु घाँटी !
बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म !
मेरो खप्परभित्र केही छैन— विचारशून्य छु म !
यो च्याउको जङ्गलभित्र
एउटा निर्जीव भीडको विपक्षमा उभिएर
उखेल्छु आफ्नै टाउको
र भुइँभरि टकटक्याइदिन्छु !
केही बिस्कुटका खोल
रोटीका टुक्रा, चप्पलको फित्ता
मृत उडुस र पुत्लीकिराहरु
खस्छन् मेरो मस्तिष्कबाट !
यति रित्तो बनेछु म
कि यो विचारशून्यता नै मेरो शक्ति हो !
यही विचारशून्यताको हतियारले
म अब आक्रमण गर्छु
र जलाउँछु तिम्रो विचारको लड्ढा !
के थाहा तिमीहरुलाई—
मभित्र कसरी उम्लिरहेको छ खरानी ?
के थाहा तिमीहरुलाई—
म किन निदाउन सक्दिनँ रातभरि ?
युद्धमा मरेका केटाकेटीहरु
उखुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छु !
तरबारमा झुन्डिएका टाउकाहरु
गीत गाउँदै लखेट्छन् मलाई !
खरानीबाट उठेर क्षतविक्षत कड्ढालहरु
आफ्नो जीवनको मूल्य माग्दै लखेट्छन् मलाई !
म झन्डाले मुख छोपेर आँसु पुछ्छु !
संसार बदल्न हिंडेको म
अब आफैं बदलिएँ !
यो च्याउको जङ्गलभित्र
रि“गटा लागिरहेको छ मलाई !
यो मेसिनको शरीरभित्र
तरङ्गिदै छ जीवनको कम्पन !
म तिम्रा आदेशहरुलाई अस्वीकार गर्छु—
अब मान्छेको लासमा घोटेर
खुकुरीमा धार लगाउन चाहन्नँ म !
अब मान्छेको रगतको मूल्यमा
आफैंलाई गुमाउन चाहन्नँ म !
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा !!
(यी तीन कवितासमेत संगृहित ढकालको कवितासंग्रह ‘च्याउको जङ्गल’ सोमबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सार्वजनिक हुँदैछ।)