जति लुकाउन खोजे पनि नेपालमा एक किसिमको जातीय रीसराग र वैमनश्यता कायम छ। यस्तो आपसी तनावबारे दुश्मनभावले हैन मैत्रीपूर्ण र समझदार तरिकाले सम्बोधन गर्नु आवश्यक छ। एकअर्कालाई बुझ्ने र अर्कोको आँखाबाट पनि हेरेर समस्याहरु समाधान गर्न थालेमा मात्र गल्तीहरु सच्याउने र अतिवादी धारलाई असान्दर्भिक बनाउने कार्य सम्भव हुन्छ। नेपालमा धेरै समयसम्म प्रकट नभएको यस्तो घस्रण र सौहार्द्र वातावरणमा बसिरहेका मानिसहरुबिचको आपसी मनमुटावबाट आत्तिने हैन कि यसलाई समस्याहरु पहिल्याउने र द्विविधाहरु हटाउने अवसरको रुपमा प्रयोग गर्न सकेको खण्डमा हामी सबैलाई फाइदा पुग्छ।
यस्ता जातीय र धार्मिक घस्रण आजकल विश्वभरनै देखिएका छन्। सहज बनेको आमसंचार, साँघुरिएको विश्व, बढिरहेको जीवनस्तर र नागरिक जीवनमा सत्ताको घट्दो प्रभावको कारण मानिसहरु आआफ्नो व्यक्तिगत मात्र नभएर सामुहिक अभिव्यक्ति र पहिचानको बारे पनि सधैँभन्दा बढी सजग हुँदैछन्। त्यसकारण आआफ्नो पहिचान र सामुहिक अभिव्यक्तिको अभिलाषालाई विदेशीको षडयन्त्र वा देश टुक्राउने चाल भनेर वेवास्ता मात्र गरेर हुँदैन। बरु मानिसहरुको यस्तो स्वावाभिक चाहनालाई प्रष्फुटन हुने बाटो हामीले बनाउन सकेनौँ भने त्यसले चाहिँ हाम्रो एकतालाई कमजोर बनाउने र मुलुकमा असौहार्द्र वातावरण बनाउन सक्नेछ।
अनेकतामा एकता
नेपालमा धेरै समयसम्म हामीले सुनिआएको हो, अनेकतामा एकता, नेपाल विभिन्न जातजातीहरुको फुलबारी आदि भनेर। त्यसो भने पनि सबै जातजातिहरुको लागि नेपालमा समान स्थिति थिएन। हो, तुलनामा नेपालको स्थिति छिमेकका अरु देशहरुभन्दा राम्रो होला। भारतका ठुला शहरहरुमा अहिलेपनि पुर्वोत्तरका मानिसहरुमाथि ठूलो भेदभाव हुन्छ, हत्या र बलत्कार समेत। पूर्वोत्तर भारतीय राज्यका मुख्यमन्त्रीहरु समेतले चिनिया र नेपाली भएको आरोप खेप्नुपर्छ। त्यस्तै बिहारीहरुले असम र महाराष्ट्रजस्ता राज्यहरुमा र असमीहरुले बिहार र दिल्लीमा धेरै दुख पाउनुपर्छ, ज्यानको खतरा समेत। उत्तरी र दक्षिणी भारतबिचको होस् वा पूर्व र पश्छिम भारतबिचको, भेदभाव र जातीय हिंसाको समस्या भारतजस्तो परिपक्व लोकतन्त्र र विविधता भएको विशाल राष्ट्रमा पनि छ । बङ्लादेश र पाकिस्तानमा हिन्दु धर्मावलम्बीहरु प्रति हुने भेदभाव बारे धेरै लेखिएका छन् । भुटानले र बर्माले पुस्तौँदेखि त्यहाँ बसिरहेका नेपालीभाषीहरुलाई के गर्यो भनेर हामीलाई कसैले सम्झाइरहनुपर्दैन । श्रीलङ्काको जातीय युद्ध सामान्यज्ञानको विषय हो । चिनमा तिब्बती, उग्युर र अन्य अल्पसंख्यकहरुको स्थिति दयनीय छ।
पहिचान, सम्मान र भाषासंस्कृति प्रबर्धनमा समस्या भएपनि नेपालमा मधेशी ब्राह्मण र कायस्थ समुदाय मानव विकास सुचकाङ्कमा सबैभन्दा माथि रहेका छन्। त्यस्तै समस्याहरु भोग्नुपरेको भएपनि नेवार समुदाय संमृद्धि र व्यापार व्यवसायको हिसाबले अगाडि छ। यसो हुन नहुने भनेर जातीय अहंकारको अभियान जनस्तर बाट र राज्यकै स्तरबाट पनि छिमेकमा जस्तो नेपालमा रहेको देखिँदैन । तर त्यसो भन्दैमा समस्याहरु नै नरहेको भन्न खोजिएको होइन।
हामीले विविधता र फुलबारी भनेर मख्ख परेपनि नेपालमा सबै जातसमुदायको भाषा र संस्कृतिलाई राज्य र समुदायको तर्फबाट पर्याप्त ध्यान पुग्न सकेन । हाम्रा हिमाली भेगहरुमा आजपर्यन्त सभ्यता कायम गर्ने शेर्पा र अन्य समुदायहरुको बारे हामीलाई कति थाहा छ? उनीहरुले हिमाल चढेर रेकर्ड राख्दा, वा थान्का कलाबारे विदेशीले कुरा गर्दा, वा क्याराभान जस्ता चलचित्र प्रख्यात हुँदा गर्व गर्नु बाहेक उनीहरुका खानेकुरा, भाषा, कला आदिबारे हामी धेरैलाई सतही मात्र ज्ञान छ । त्यस्तै धेरै अन्न र फलफुलको उब्जनी स्थन मात्र नभई बुद्ध, जनकको स्थान र मिथिला कला सभ्यताको भुमी तराई मधेस फाँटका मानिसहरुबारे हामीलाई कति थाहा छ? हुनुपर्ने हैन?
समस्याहरु बुझौँ
अन्य समुदायका मानिसहरुले नेपालीभाषी पहाडी समुदायको आँखाबाट पनि हेर्ने प्रयास गर्नु उत्तिकै शिक्षाप्रद हुनसक्छ । नेपाल भन्ने देशको निम्ति अहिलेका पुस्ताका हामीले केहि नगरेका भएपनि तथ्य के हो भने यो देशको वर्तमान स्वरुप बनाएको यहि समुदायले हो । लडेर, मरेर, छलकपट, षडयन्त्र आदि गरेर नेपालको भुगोल जोगाएको यिनिहरुले नै हो । यहि भुगोल भएकै कारण आज हामीलाई आआफ्नो पहिचान र विकासको निम्ति अवसर मिलेको छ, जुन छिमेकका देशहरुमा अरु गाह्रो हुनसक्थ्यो । नेपाल भन्ने देश यो देशका निर्माताहरुको सामुहिक अभिव्यक्तिको माध्यम हो । यो देश विना नेपाली भाषी र अन्य पहाडि समुदायको पहिचान सुरक्षित हुन संभव थिएन ।
त्यति मात्र नभएर नेपाल जस्तो भुगोलमा बसेको छ, त्यहाँ हामीले इतिहासमा सधैँ बाह्य आक्रमण र हस्तक्षेपको सामना गरिरहनुपर्यो । कतिसम्म भने २/३ दशक अघिसम्म पनि शीतयुद्ध र इन्दिरा, राजीव गान्धिको कारण नेपालीहरुलाई आफ्नो देश नै रहने हो कि नरहने हो भन्ने डर रहिरहन्थ्यो । यहि मनोविज्ञानको कारण उनीहरु रक्षात्मक र अन्य समुदायप्रति शंकालु बनेको अनुमान गर्नु अतिशयोक्ति हुँदैन होला । यस्तो बाह्य वातावरणको बिचमा नेपालको इतिहास नै कसरी आफ्नो अस्तित्व जोगाउने भन्नेमा केन्द्रित रह्यो । त्यहि भएर होला, नेपालको इतिहास बारे एउटा सम्मानित अङ्ग्रेजी पुस्तकको नाम नै 'नेपाल: अ स्ट्रगल फर सर्भाइभल' छ।
आफ्नो इतिहासको अघिकांश समय अस्तित्व रक्षामै ध्यान दिनुपरेको देश र त्यसका शाषकहरुबाट बाँकी विषयहरुमा पर्याप्त ध्यान नपुग्नु त्यति अचम्म नहुनुपर्ने। शक्तिसंघर्ष केन्द्रित राज्यमा तानाशाहहरु र जातीय सफायाहरुको सम्भावना अझै बढि हुनेगर्छ । सौभाग्य नै मान्नुपर्छ, त्यस्ता हिँसात्मक र जातीय द्वन्द र सफायाका कार्यहरुबाट बच्न नेपाल सफल नै रह्यो । यो यहाँको बलियो सहिष्णु र उदार समाजको कारण मान्न सकिन्छ । त्यसैगरी अस्तित्व रक्षाको निम्ति संघर्षरत राज्यको निम्ति आफुलाई अरुभन्दा फरक देखाउनुपर्ने टड्कारो आवश्यकता पनि हुन्छ । नभए कसरी देशको औचित्य पुष्टि गर्ने? हामी तिनीहरुभन्दा फरक हौँ, हामी राम्रा र असल हौँ, भन्ने भावना नआएसम्म देशको रक्षा गर्न कसरी त्यहाँको जनसंख्या तयार हुन्छ ? त्यसैकारण नेपालको सत्ताले एककिसिमको राष्ट्रवादको पक्षपोषण गरेको बुझ्न कठिनाई छैन । नेपालको पहाडि समुदाय र नेपालबिचको यहि भावनात्मक सम्बन्धको कारण धेरै समुदायहरुलाई चोट पुग्न गएको तथ्य नजरअन्दाज गर्न भने हुँदैन ।
आपसी सम्मान विकास गरौँ
महाभारत र अन्य प्राचीन ग्रन्थहरुमा कतैकतै नेपालका खस र किँरातीहरुलाई हेयको दृष्टिले व्याख्या गरेको पाइन्छ । यी समुदायहरु हिन्दु धर्मभन्दा बाहिरका प्रकृतिपुजकहरु थिए । उनीहरुको आफ्नै सभ्यता र जीनवयापन थियो र महाभारतमा पनि उनीहरु कौरव सेनाको (पराजित सेना) तर्फबाट लडेका थिए । उनीहरुको रहनसहन पनि समथर फाँटहरुको भन्दा फरक थियो । तर फाँटहरुमा विकसित भइरहेको हिन्दुधर्मको शाखाले यी मानिसहरुलाई पहिलेदेखि नै म्लेच्छ र अपवित्र जस्तो मान्ने गरेको बुझ्न सकिन्छ। वास्तवमा खस र किँरातहरुको आफ्नै बृहत सभ्यता थियो । अहिले पनि दुल्नु र जुम्लाबाट फर्कने मानिसहरु भन्ने गर्छन् कि त्यहाँ जताततै पुराना शिलालेखहरु फालिएका देख्न सकिन्छ र भग्नावषेशहरु नाश हुँदै गरेको भेटिन्छ । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुको टोलीले प्राचीन सिंजा उपत्यका सभ्यताका भग्नावषेशहरु जोगाउन र त्यसक्षेत्रलाई “युनेस्को सांस्कृतिक सम्पदा” को रुपमा विकसित गर्ने सिफारिस गरेर गएका छन् । तर नेपालको सत्ता र समाजले ति सम्पदा रक्षा गर्न केहि पहल गरेको छैन । त्यहाँका सम्पदाहरु लोप र नष्ट हुने खतरा बढेर गएको छ ।
हाल नेपाली भाषाको बारेमा पनि विवाद गर्न खोजिँदै छ। नेपाली भाषाको लिखित इतिहास हजार वर्षजति भए पनि यो भाषा दक्षिण एशियाका सबैभन्दा पुराना भाषाहरु मध्ये एक भएको तथ्य अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले धेरै वर्ष अघि स्थापत गरिसकेका छन् ।नेपाली भाषामा चासो राख्ने मेरा केहि मित्रहरुका अनुसार ‘नेचर’ भनिने अति प्रतिष्ठित वैज्ञानिक जर्नलका अङ्कहरुमा प्रकाशित यी सोधहरुले दक्षिण एसियामा नेपाली भाषाभन्दा पुरानो भाषा सिंहाली र कश्मिरी मात्र रहेको देखाएका छन्। नेपाली अनुसन्धानकर्ताहरुका अनुसार नै १००० वर्षदेखि लिखित नेपाली भाषाका अभिलेखहरु भेटिएका छन्। तर अनुसन्धानको कमी र हाम्रो उदासीनताले यस्ता अन्य धेरै अनुसन्धान र अभिलेखहरु नष्ट हुने खतरामा पुगेका छन् । उचित अनुसन्धान भएको खण्डमा नेपाली भाषाको वास्तविक उमेर अझै पुरानो भएको पत्ता लाग्नसक्छ ।
तर महाभारत युगमा जस्तै पहाडि समुदायहरुलाई हेयको दृष्टि र सभ्यता विहिन समुदायको रुपमा स्थापित गर्ने प्रयास फेरि शुरु हुन थालेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। यी मानिसहरु सधैँ नै अछुतको दर्जामा हुनुपर्छ, यिनीहरुको आफ्नो देश, सभ्यता र पहिचान हाम्रोभन्दा सानो हुनुपर्छ, यी “पहाडी काठाहरु” सधैँ हामीभन्दा तल्लो स्तरका हुन् र अहिले पनि यिनले धेरै अगाडि बढ्नु हुँदैन भन्ने खालको जातीय विद्वेष फैलाउने काम निरुत्साहित गर्नुपर्छ । झुठ र आधारविहीन प्रचारवाजीमा आधारीत तर्कगराई यसैपनि हानिकारक नै हुन्छ। भारतवर्षका फाँटहरुमा फस्टाएको हिन्दु धर्मको शाखाले मान्ने गरेजस्तै नेपालका पहाडि जातीहरु अपवित्र, पिछडिएको र पिडित हुनुपर्ने तर हाल जस्तो आफ्नो अभिव्क्ति र अस्तित्व बलियो बनाएर बस्न नहुने धारणा यदि विस्तार गर्न खोजिएको हो भने हामीले भन्नैपर्ने हुन्छ, त्यस्तो प्रवृत्ति दुस्खद मात्रै होइन निन्दनीय हो । यस्तै प्रवृत्तिको कारण पहाडि समुदायहरुलाई पनि हाल उनीहरुको अस्तित्व, पहिचान र सम्पूर्ण इतिहासलाई नै समाप्त पार्न नियोजित कार्य भइरहेको आशंका बढेको छ । यस्तो किसिमको कार्यले समस्या समाधान गर्नभन्दा चर्काउन र आपसी घृणा बढाउन मात्रै सहयोग गरिरहेको छ ।
नेपालका खस र किँरात शाषकहरुले तिब्बत देखि बनारस र पुर्वोत्त भारतसम्मका भुभागहरुमा शाषण गर्थे । तर अन्य समुदायको जस्तै हिन्दुकरण तथा अन्य कारणहरुले गर्दा यि पहाडि समुदायहरुको पहिचान पनि लुकेको र संकटमा परेको स्थिति छ । यसलाई यि समुदाय र यिनका सभ्यता माथि हमला गर्ने बहाना नबनाऔँ । यि समुदायहरुले प्रगती गर्नै नहुने र सधैँ बहिष्करणमा परेर हेय भावमा रहनुपर्ने भन्ने आग्रह हो भने त्यो निकै खतरनाक हुनेछ ।
त्यस्तै मिथिला र तराईमधेसका अन्य सभ्यताहरु पनि निकै प्राचिन र सम्पन्न छन् । नेपाल देश विकास र निर्माणमा उनीहरुको योगदान उच्च रहेको छ । तर उनीहरुलाई हाल गरिने अपमानको स्थितिको अब अन्त्य गर्नु जरुरी छ । त्यसो गर्न सकेमा यो देशको अझ विकास गर्न र सबै समुदायहरुलाई अभिव्यक्तिको माध्यम प्रदान गर्न हाम्रो यो सुन्दर देश सफल हुनेछ र फाइदा सबैलाई हुनेछ ।
अन्त्यमा
समस्या समाधानमा अनेक तरिका हुनसक्छन् । स्कूलहरुमा नेपालका धेरै समुदायहरुको बारेमा अझै जानकारी प्रदान गर्ने, एकअर्काका गुनासा र समस्याहरु सुन्ने, सामुहिक गल्तिहरु नदोहोर्याउने वाचा गर्ने, नेपाल र नेपाली सभ्यताहरुको विविधता, सम्पन्नता र महानता मनन गरेर तिनलाई अझै बृहद र सम्पन्न बनाउन लाग्नुपर्ने आवश्यकता छ । साथै घृणा र जातीय द्वेश फेलाउन उद्धत रहने अतिवादी कदमहरुको मिलेर प्रतिवाद गर्नु जरुरी छ । त्यस्ता अभिष्टहरुले बल्ल बल्ल स्वाभाविक गतिमा चल्न थालेको र आफ्नो अस्तित्वरक्षाबाट आन्तरिक समस्याहरुमा ध्यान दिन बल्ल शुरु गरेको हाम्रो देशको समय र श्रोत फेरी बर्बाद गर्ने निश्चित छ । नयाँ वर्षको अवसरमा हामीहरु एकआपससँग अझै वार्ता र समझदारी बढाउँदै जाऔँ र नेपालको वास्वविक गरीमालाई प्रष्फुटन हुने वातावरण बनाउन सजग र सुझबुझ अपनाएर अघि बढौँ।