मानवताको सबैभन्दा उच्च पुँजी सत्य हो। र, स्वतन्त्रता मानव आत्माको सबैभन्दा ठूलो चरित्र।
सत्य नै हो जसले मानिसलाई स्वतन्त्रताको यात्रामा अघि बढाउँछ। सत्यबिना स्वतन्त्रता हासिल हुँदैन।
पृथ्वीमा पैदा भएका सबै महान आत्माहरुले सत्यको यो आलोकबाटै आफ्नो यात्रा अघि बढाए। सोक्रेटस हुन् वा बुद्ध, लुथर हुन् वा गान्धी– मानवताका कालातीत गुरुहरुको जीवनको एउटै अभीष्ट रह्यो– सत्यको खोज।
अघिल्लो शताब्दीका महान सत्यान्वेषी गान्धीको जीवन र उनको शिक्षा समाजका लागि गतिलो सन्दर्भसामग्री हुनसक्छ, हामीले पढ्यौँ र ग्रहण गर्यौँ भने। भारत स्वतन्त्रतका लागि गान्धीले लडेको अहिंसात्मक लडाइँ सत्यको खोजमा उनी हिँडेको बाटोको एउटा परिणाम थियो।
गान्धीका सबैभन्दा निकट सहयोगी थिए महादेव देसाई, सोक्रेटसका प्लेटो वा बुद्धका आनन्दझैं। ५० वर्षको उमेरमा जब आग्रा खान प्यालेसमा आफूसँगै बन्दी बनाइएका बेला सन् १९४२ अगस्ट १५ मा महादेव हृदयाघातबाट ढले, गान्धी दौडँदै आए र चिच्चाए, ‘महादेव, महादेव।’ महादेव चीरनिद्रामा सुतिसकेका थिए।
‘किन त्यस्तो गर्नुभएको’ भनेर गान्धीलाई पछि सोध्दा उनले जवाफ दिएका थिए, ‘यदि महादेवले आँखा खोलेर मलाई हेरेको भए म उनलाई उठ्न भन्थेँ। सारा जीवनमा उनले जहिल्यै मैले भनेको मानेका थिए। म विश्वस्त थिएँ, यदि उनले मैले बोलाएको सुनेका भए मृत्युलाई अवज्ञा गर्थे र उठ्थे।’
महादेवको निधन हुँदा उनका छोरा नारायणभाइ देसाई १८ वर्षका थिए। त्यसको ६ वर्षपछि गोड्सेले गान्धीलाई पनि गोली हाने।
आफ्ना पिता महादेवको निधन भएको ७१ वर्ष र गान्धी गएको ६५ वर्षपछि अघिल्लो साता काठमाडौंमा पाँचदिने गान्धी कथावाचन गरेर भारत फर्केका ८९ वर्षीय नारायणभाइ देसाईको जीवन नै गान्धी दर्शनको प्रचारप्रसार र शिक्षा बनेको छ। गान्धी बस्ने गुजरातको सावरमती आश्रममै हुर्किएका नारायणले जीवनका प्रथम २४ वर्ष गान्धीको निकटतामा बिताए, त्यसपछि लामो समय भारतका प्रख्यात सन्त राजनीतिज्ञ विनोवा भावे र अर्का प्रखर समाजवादी जयप्रकाश नारायणसँग उनको हिमचिम रह्यो। सन् १९७९ मा जयप्रकाशको निधनपछि उनले आफ्नो सम्पूर्ण ऊर्जा गान्धी शिक्षा र अहिंसाको प्रचारप्रसारमा लगाएका छन्। शारीरिक रुपमा कमजोर भइसक्दा पनि उनी मानसिक रुपले गान्धी दर्शन फैल्याउन युवावयझैँ तन्दुरुस्त छन्।
गान्धी, विनोवा भावे र जयप्रकाश नारायणजस्ता प्रखिर छिन्द्रान्वेषीको सहचार्यले नारायणमा वस्तुपरकता र सत्य परख गर्ने गुणका जरा गहिरोसँग गाडिएका छन्।
...
अघिल्लो बिहीबार (२०७० चैत २७ गते) बिहान काठमाडौँको एभरेस्ट होटलमा नारायणसँग मैले गान्धी, विनोवा भावे र जयप्रकाश नारायणसँगको उनको घनिष्ठताबारे केही सुन्न चाहेँ। काठमाडौं आएको केही दिनमै दुईपटक बाथरुममा लडेर शरीर अझ कमजोर भएको थियो तर उनको दिमागको आयाम फराकिलो र गहिरो थियो।
गान्धीका दर्शन र शिक्षा सुनाउँदै संसारभर घुमिहिँड्ने नारायणको जीवनको एउटै काम हो– पढाउनु/सिकाउनु। ‘समाजलाई गति दिन असल शिक्षकहरु चाहिन्छ, असल शिक्षकहरुको बढीभन्दा बढी उत्पादनले नै समाजको दिशा बदलिन्छ’ भन्ने नारायण आफैं असल शिक्षकको उदाहरण हुन्। ‘कसले के सिक्यो वा सिकेन’ भन्दा उनी आफ्नो सिकाउने कर्ममै दत्तचित्त हुन रुचाउँछन्।
उनी गान्धी कथावाचक मात्र होइनन्, अकादेमी पुरस्कार पाइसकेका प्रख्यात गुजराती साहित्यकार पनि हुन्। लामो सहचार्यमा रहेका आफ्ना अग्रजहरुमध्ये गान्धीलाई समाजको अभियन्ता र विनोवा भावेलाई महान सन्त मान्छन् नारायण, माझिएका राजनीतिज्ञ भइकन पनि जयप्रकाशलाई भने मानिसहरुले भुल्दै जान थालेको टिप्पणी गर्छन्। जयप्रकाश जो नारायणका दृष्टिमा एउटा उच्चकोटिका सन्त थिए, लाई पछिल्लो पुस्तासँग चिनाउन यी गुजराती साहित्यकारले भर्खरै एउटा नाटक लेखेका छन्।
‘गान्धी एउटा संस्था नै भए, विनोवा भावेलाई पनि मानिसले भुल्न सक्दैनन् तर जयप्रकाशलाई हाम्रो समाजले भुल्दै जान थालेको छ,’ नारायणले भने।
नारायणको स्मरणशक्ति तिखो छ। समाजका यी अग्रणीहरुको अन्तरहृदयमा रहेको सत्यको गहिरो खोजको साक्षी बन्ने मौका कतिपय अवस्थामा उनले पनि पाएका छन्।
सन् १९४० भन्दाअघि एक दिन गान्धी नुहाउन जान ठीक्क परेका थिए। अचानक दौडदै आए र महादेवलाई भने, ‘महादेव, ल यो लेख।’ दिमागमा आएका विचारहरु तुरुन्तै कागजमा उतार्ने बानी थियो गान्धीको। महादेवले पनि गान्धीसँगको सहचार्यका वर्षहरुमा नियमित डायरी लेखेका छन् जो पछि प्रकाशित भयो, गान्धीलाई बुझ्ने महत्वपूर्ण सन्दर्भसामग्रीका रुपमा।
गान्धी भन्दै गए, महादेव टिप्दै गए। गान्धी अब के भन्छन् भन्ने महादेवलाई थाहा हुन्थ्यो। कतिपय बेला महादेवले लेखिसकेका हुन्थे, गान्धी भन्दै गर्थे। महादेव लेखिसकेपछि गान्धीलाई फेरि सुनाउँथे। नुहाउन जान ढिला भइसकेको थियो।
लेखेको सुन्ने क्रममा अरु त सबै ठीक थियो, एक शब्दमा गान्धीले मानेनन्। उनले भने, ‘महादेव, मैले यो भनेको थिइन।’
महादेवले भने, ‘हैन, तपाईँले भनेको यही हो, म कसरी गलत सुन्न सक्छु?’
एक शब्दको विवाद निकै चर्को हुँदै गएपछि छेवैमा बसेका नारायणलाई चित्त बुझेन जो त्यसबेला १४/१५ वर्षका थिए। उनले गान्धी र महादेवलाई भने, ‘तपाईंहरु एउटा शब्दमा कति झुन्डिरहनुभएको? एउटा शब्दका लागि तपाईंहरुले धेरै समय बर्बाद गरिसक्नुभयो।’
गान्धी र महादेव दुवै हाँसे। गान्धीले भने, ‘तिमीले हाम्रो कान कटाइदिन्छौ।’
महादेवको निधनपछि गान्धीको जीवनी लेख्ने आफ्ना पिताको अधुरो इच्छा नारायणले पूरा गरे। उनले चार भोल्युममा गान्धीको विस्तृत जीवनी लेखेका छन्। यसबाहेक गान्धीका बारे सानाठूला थुप्रै किताब पनि लेखेका छन् गान्धीले।
‘बापुको समझ एकदमै गहिरो थियो, बिनोवा भावेमा बुद्धिको स्तर फराकिलो थियो, जयप्रकाशलाई अन्तर्राष्ट्रिय राजनीतिको गहिरो ज्ञान थियो,’ नारायण यी तीन नेतालाई सम्झन्छन्, ‘यी तीनैमा सत्यप्रतिको निष्ठा भने उत्तिकै गहिरो र अटल थियो।
...
गान्धीको यात्रा गुजरातदेखि लण्डन र दक्षिण अफ्रिकासम्म फैलिएको थियो। उनको निर्माण प्रक्रिया यी तीन स्थानमा भएको थियो। समकालीन भारतका प्रख्यात विश्लेषक रामचन्द्र गुहाले भर्खरै प्रकाशित आफ्नो पुस्तक ‘गान्धी बिफोर इन्डिया’मा उनले लामो अनुसन्धान र अध्ययनपछि लेखेका छन्, ‘गान्धीको निर्माण प्रक्रिया उनी सन् १९१५ मा भारत आउनुअघि दक्षिण अफ्रिकामा सम्पन्न भएको थियो।’ अर्थात ४६ वर्षमा भारत फर्किँदा उनी पूर्णरुपले ‘गान्धी’ बनिसकेका थिए।
त्यसरी बनेका गान्धीलाई उनका अभिन्न सहयोगी महादेव तर उनका छोरा नारायणले लगभग पूर्ण रुपमा बुझेका थिए। गुहाको किताबले गान्धीको आधा जीवन बुझ्न सकिन्छ भने गुजरात फर्केपछिको उनको जीवन बुझ्न महादेवका डायरी र नारायणका किताब पढ्नुपर्छ।
तिनै नारायण गान्धीलाई भगवान् वसुदेवझैँ मानेर उनको ‘पुराण’ सुनाउँदै देशदेशावर चहारिरहेका छन्।
जन्मँदा पनि उनी गान्धीसँगै थिए। जीवनको उत्तरार्द्धमा पनि गान्धीको दर्शन र शिक्षा फैल्याउन ‘गान्धी कथा’ वाचन गर्दै संसार घुमिरहेका छन्। गान्धीलाई सधैँ सिरानीमा राखेरै उनको जीवन यहाँसम्म आइपुगेको छ।