भूतपूर्व सभासद्
भूतपूर्व सभासदहरुले
अभूतपूर्व काम गरेर गए
नयाँ संविधान पढेर मर्ने
मेरो अन्तिम सपना
अपहरण गरेर गए
म त मर्न पनि पाइन किनकि
मेरो अन्तिम घिडघिडो
संविधान खोज्न गएछ
क्ठै मृत्यु त मेरा
सभासद्हरुको पो भएछ
समवेदना दिनुपर्थ्यो
तर भाँचिएको मन भनिरहेछ–
दिन्न यस्ता बेइमानलाई
अब मतदान पनि दिन्न
मानसम्मानको कुरै छोड
अपमान पनि दिन्न
विश्वासघाती मरेकै जाति
तिम्रो सुन्दर मृत्युपछि
नयाँपुस्ताको पाखुरामा
नयाँ नेपाल फुलेको
सपना देख्न थालेको छु
हिमाल पहाड तराईमा
प्रकाश देख्न थालेको छु
लोभी पापी फटाहा
द्रव्यपिचासहरु
नेपाल बन्द नगर
प्रगति बन्द नगर
देश दुर्गन्ध नगर
निदारमा नेपाल र नेपाली सजाएर
नयाँ बुद्धि र विवेक अब
सुन्दर शान्त विशाल
देशको संविधान लेख्छन्
भूतपूर्व भस्मासुरहरु
भयावह भाँडभैलो नगर
हरौटे भरौटे र कुरौटेहरु
चटके र पटकेहरु
नयाँ पुस्तालाई डिस्टर्व नगर
डायस्पोराको इमेल
गर्मी भयो रे भन्छन् चिसो हिमाललाई
सन्चोविसन्चो के छ आमा नेपाललाई ?
टाढा भएनि हामी
स्वेदश भुलेको छैन
तातो मरुभूमिमा
गुराँस फुलेको छैन
प्यारा ए साथीसंगी प्यारा ए बन्धु भाइ
सन्चोविसन्चो के छ आमा नेपाललाई ?
हामी सुधा परेवा
चारो चरिरहन्छौँ
वच्चाहरुको लागि
थैलो भरिरहे छौं
कैल्यै पनि कसैले नसम्झनु पराई
सन्चोविसन्चो के छ आमा नेपाललाई ?
आकार सानु किन्त
माया ठूलो भएछ
ठूलो भनेको के हो ?
नेपाल पो रहेछ
मिलेर वस्नु पर्छ हिमाल, पहाड तराई
सन्चोविसन्चो के छ आमा नेपाललाई ?
(कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको ७२ वर्ष उमेरमा आइतबार निधन भएको छ।)