पाका पत्रकार भैरव रिसाल ८७ वर्ष अघि भक्तपुरको काँठमा जन्मिए। उनी केटाकेटी मात्र हैन, युवा हुँदासम्म काठमाडौं ओहोरदोहोर गर्दा बागमतीको पानी अँजुलीमा उभाएर खान्थे।
रिसालको उमेर ढल्किदै जाँदा यो पवित्र नदी पनि दुर्गन्धित हुँदै गयो। चालिस र पचासको दशकमा विस्तार भएको बाक्लो वस्तीले बागमतीलाई ‘ढलमती’ बनाइदियो।
काठमाडौं उपत्यकाको सम्पन्न सभ्यताको यो धमनी दुर्गन्धित भएको देखेर उनी विरक्तिए। साठीको दशकमा रिसालले एउटा कठोर घोषणा गरे, ‘मलाई बामतीमा नजलाइयोस्।’
लामो पत्रकारिता करिअरलाई सक्रिय बुढेसकालमा वातावरणका मुद्दातिर मोडेका तीनै रिसाल सोमवार बिहान आठै नबज्दै गुह्येश्वरी आइपुगे।
देव्रे हातमा लठ्ठीको सहाराले पैदलै आएका उनी बायाँतिर बगिरहेको सङ्लो बागमतीलाई हेर्दा लठ्ठिए।
त्यतिबेला मुख्य सचिव लीलामणि पौडेल बागमती सफाइ अभियनको सपथ र संकल्प गराइरहेका थिए।
नयाँ वर्षको दिन राखिएको स्नान कार्यक्रम अभियानले अर्को खुट्किलो पार गरेको सन्देश दिनु थियो।
‘भैरव रिसालले बागमतीमै जलाइयोस् भन्ने दिन ल्याउँछौं’ भन्ने लगायत संकल्प गरेर पौडेलकै अगुवाईमा सुरु भएको अभियान ४८ हप्ता पार गरिसकेको छ।
स्नान कार्यक्रममा सरिक हुन रिसाल पनि आएका थिए । एलर्जीको समस्याले नुहाउन भने सकेनन्।
बागमती सफाईका अभियन्ता र अरु सयौंले भने नयाँ वर्ष २०७१ को सुरुवात यो स्नानबाटै गरे। पौडेललाई पछ्याएर सचिवहरु कृष्णहरि बाँस्कोटा, किशोर थापा, जयमुकुन्द खनाल लगायतले बागमतीमा डुबुल्की मारे।
उनीहरुभन्दा पहिला नै उमेरले रिसालकै दौतरी साहित्यकार कमलमणि दीक्षितले मज्जाले नुहाए।
नदीको मुहार फेरिन थालेको देखेर त्यहाँ उपस्थित मध्ये रिसाल पनि औधि हर्षित देखिन्थे। ‘रिसालज्यूले मलाई अँगालो हालेर बरर आँसु खसालेर माहोल भावुक बनाइदिनुभयो,’ पौडेलले भने, ‘उहाँको हर्षले बागमती सफाइको अठोटलाई थप ऊर्जा दिएको छ।’
अभिषेक गर्न समेत दिगमिग मान्नुपर्ने बागमती एकै वर्षमा कसरि नुहाउन लायक भयो त?
‘सुन्दरीजलदेखि गुहेश्वरीसम्म अहिले कहिँ पनि नदीमा ढल मिसिएको छैन,’ पौडेलले भने, ‘दुवै नदी किनारमा छुट्टै ढलमार्ग बनिसकेको छ।’
वस्तीको ढल बागमतीमा मिसिन नदिएर त्यसको छुट्टै बाटो जति छिटो बनाउन सक्यो नदी आफै सङ्लिदै जान्छ।
अधिकारसम्पन्न बागमती ढल सुधार समितिको योजना अनुसार पशुपती क्षेत्रभन्दा तलतिर पनि नदी किनारमा ढल बनाउने काम भइरहेको जानकारी पौडेलले दिए।
‘कामले अहिलेकै गति जारी रह्यो भने अबको तीन/चार महिनाभित्रमा मनहरा दोभानसम्म बागमती ढलरहित हुन्छ,’ उनले भने।
समितिलाई जस दिन खोजेपनि त्यसमा पनि परि आएको अप्ठेरो फुकाउने काम पौडेलले नै गरिरहेका छन्।
बागमती किनार मिचेको वस्ती हटाउनु चुनौतीपूर्ण रहेको अनुभव पौडेलको छ।
किनारबाट अलग्गै ढल बनाएर मात्रै बागमती पहिलेभन्दा सङ्लिएको हैन। यसका लागि ४८ हप्तादेखि सयौं स्वयंसेवकले पौडेलको अगुवाईमा नदीमा फ्याँकिएका सयौं टन फोहोर बटुलेका छन्।
कुहिएका, सडेगलेका फोहोर, सिनो, प्लाष्टिक, बोतल लगायत उठाउने काममा पौडेल, एपेक्स कलेजका प्रिन्सिपल भानु शर्मा, गायत्री परिवारका डा. राजु अधिकारी, प्रहरी, व्यापारी, बैंङ्कर, विद्यार्थी डटेका डट्यै छन्।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजस्तो शनिवारको सफाईमा ऐक्यवद्वता जनाउएर हौसला बढाउनेहरुको पनि कमी छैन।
‘पुर्खाले दिएको बागमती जस्ताको तस्तै भावी पुस्तालाई फर्काउने’ भन्ने अभियानको अर्को मन्त्र छ । त्यसका लागि नदी किनार सफा हुनुपर्ने वा फोहोर फ्याँक्न रोक्नु अनिवार्य छ । नत्र सफाइ अभियान ‘अघि बढ्दैछ पाइला मेट्दैछ’ भनेजस्तो हुन्छ ।
त्यसैले अभियन्ताहरुले उपाय पहिल्याएका छन् । राष्ट्रकवी माधव घिमिरेले धेरैअघि लेखेजस्तै बागमती नदीको दुवै किनारमा बगैचा होस्, चराहरु चिरविर गरुन, मानिसहरु घुम्न, डुल्न रमाउन आउन।
'पार्क बनाउन सक्ने हो भने दोहोरो फाइदा रहेछ,’ पौडेल भन्छन्, ‘पार्क नघाएर फोहोरको पोको फ्याँक्न त कोहि नआउला ।’
मुख्य सिचवको कार्यकक्षमा दशौं बैठक गरेर सरकारी निकाय, सुरक्षा फौज, निजी क्षेत्र जो इच्छुक छन् तीनलाई पार्क बनाउन दिने निर्णय भएको छ । केहिले नमूना काम समेत थालिसकेका छन् ।
‘बागमतीको दुवैतिर ८ किलोमिटरको बगैचा बनाउन ३२ वटा एजेन्सीले जिम्मा लिएका छन्,’ पौडेलले भने, ‘निजी क्षेत्र आफ्नो सामाजिक उत्तरदायीत्व मनन गरेर काम गर्न राजी भएकाे हो ।’
नयाँ वर्ष मात्र हैन दशै, छठ, वाला चतुर्दशी, शिवरात्री लगायत पर्वमा अतिरिक्त सफाइ अभियान चलेकै छ ।
दुर्गन्धित बागमतीमा हेलिनु एक किसिमको जोखिम नै हो । तैपनि मख्य सचिव र उनलाई साथ दिनेको जोश घटेको छैन ।
मनहरा र बागमती मिसिने शंखुमुल दोभान भन्दा तल जान भने कठिन देखिएको छ । ‘बागमतीका अरु सहायक नदी सफा नगरि अघि बढ्न गाह्रो हुने देखियो,’ पौडेलले भने, ‘त्यसमा लागि आउँदो चार पाँच महिनामा पहिला मनहरा सफा गर्छौैै ।’
शंखमुल दोभानको केहि किलोमिटर तल धोवीखोला, टेकुमा विष्णुमती हुँदै बल्खु मिसिएपछि बागमती चोभारतिर लाग्छ ।
‘बागमतीका सहायक नदी पनि सफाई योजना ल्याउनुपर्छ,’ पौडेलले भने, ‘बाघद्वारदेखि चोभारसम्मको २८ किलोमिटर नुहाउन मिल्ने बनाइयो भने बागमतीले नयाँ जीवन पाउँथ्यो ।’
अवको दुई वर्षमा त्यो सबै काम सम्भव छ । पौडेलसँग त्यसको रोडम्याप पनि छ ।
तस्बिरहरु: प्रकाश लामा/सेतोपाटी