नेपाल र भारतबीच विद्युत् क्षेत्रमा आपसी सहयोग बढाउन र देखिएका समस्या द्रुतगतिमा समाधान गर्न उर्जा सचिवस्तरीय संयन्त्र स्थापना हुने भएको छ।
विद्युत क्षेत्रमा पूर्वाधार निर्माण, ग्रिड कनेक्सन,विद्युत् व्यापार लगायत द्विपक्षीय सहयोग बढाउन संयन्त्र स्थापना हुन लागेको उर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीले बताए।
‘भारतीय राजदूत र उर्जासचिवले नेपालका उर्जामन्त्री र सचिवसित संयन्त्र स्थापनासम्बबन्धी छलफल गरिसकेका छन्’ प्रवक्तासमेत रहेका अधिकारीले सोमबार अन्नपूर्णपोष्टसंग भने ‘औपचारिक रुपमा तय भइसकेको छ अब छिट्टै स्थापना हुनेछ।’
हाल नेपाल र भारतबीच जलस्रोत सचिवस्तरीय संयुक्त स्थायी समिति क्रियाशील छ। समितिमा विद्युतभन्दा जलस्रोतका विषयमा धेरै छलफल हुने गरेको तर विद्युतसम्बन्धी विषय ओझेलमा परेकाले छुट्टै समिति गठन गर्न दुवै देशले महसुस गरेको अधिकारीले बताए।