पखालाबाट मंगलबार राति महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–७ बस्ने ६१ वर्षीय रामविलास ठाकुर रहेको परिवारजनले जनाएको छ । तीन÷चार दिनदेखि पखाला लागेर उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा भर्ना गरिएको ठाकुरको गएराति अवस्था बिग्रेपछि थप उपचारका लागि जलेश्वरबाहिर लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
पखालाले ग्रसित ठाकुरलाई तीन/चार दिनदेखि निरन्तर लुगाफाटामै दिसापिसाब हुँदै आएको थियो भने गएरातिसम्म सो क्रम नरोकेपछि चिकित्सकहरूको सल्लाहमा निजलाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको निजका छोरा मोहनले बताए।
अहिले जिल्ला अस्पताल जलेश्वरमा दैनिक ५० भन्दा बढी पखालाका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ । रासस