संविधानसभा तथा व्यवस्थापिका संसदको बैठक सुरु भएको तीन महिना बित्नै लाग्दा प्रमुख प्रतिपक्ष दल एमाओवादीले आफ्नो संसदीय दलको नेता तथा प्रमुख सचेतकको चयन गरेको छ।
बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै दलको नेता बनाउने निर्णय गरेको हो। त्यसैगरी पार्टीका नेता गिरिराजमणि पोख्रेललाई प्रमुख सचेतक बनाउने निर्णय पनि गरेको एमाओवादी नेताले बताए।
संविधानसभा तथा व्यवस्थापिका संसदको बैठक क्रमशः माघको ८ गते र १२ गतेबाट शुरु भए लगत्तै सबै राजनीतिक दलहरुले आफ्नो संसदीय दलको नेता तथा प्रमुख सचेतक चयन गर्नु पर्ने भए पनि प्रमुख दलहरुले प्रमुख सचेतकको चयन गर्न ढिलाइ गरिरहेका थिए।
सभामुखमा एमाले नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएर आएपछि प्रमुख दलहरुलाई प्रमुख सचेतक तोक्न पटक पटक आग्रह गरेको भएपनि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले उनको आग्रहलाई बेवास्ता गर्दै आएका थिए।
अघिल्लो महिनाको कांग्रेसले प्रमुख सचेतकमा सभासद चिनकाजी श्रेष्ठलाई चयन गरेको भएपनि एमाले संसदीय दलका नेता केपी ओली स्वास्थ्य उपचारका क्रममा मुलुक बाहिर रहेको कारण पनि प्रमुख सचेतक चयन गर्न सकिरहेको छैन भने प्रतिपक्षी दल एमाओवादीले पनि आफ्नो पार्टीको आन्तरिक विवादका कारण दलको नेता तथा सचेतकमा निर्णय गर्न आलटाल गर्दै आएको थियो।