दशवर्षे जनयुद्ध, उन्नाइसदिने जनआन्दोलन, युद्धविराम, शान्तिसम्झौता, अन्तरिम संविधान, दुईसय चालीसवर्षे राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, यसबीच संविधानसभाका दुईवटा निर्वाचन– – नेपाल यतिबेला ऐतिहासिक संकट र संक्रमणको पछिल्लो चरणमा आइपुगेको छ।
गएका दुई दशकमा नेपालमा जति तीब्र राजनीतिक घटनाक्रम विकास भए, त्यो विश्वको अन्य कुनै देशमा विरलै भएको छ। सत्रौं, अठारौं र उन्नाइशौं शताब्दीमा युरोपले सामन्तवादबाट पुँजीवादमा संक्रमण गर्दाको यस्तै ऐतिहासिक चरणमा हब्स, लक, रुसो, बेन्थम, मिल, रिकार्डो, स्मिथ मार्क्स, वेबरजस्ता अनेकन चिन्तक र विचारकहरु जन्मिए। हालसालै युरोपले केही दशक यताको आर्थिक गतिरोध र पछिल्लो विश्वव्यापी आर्थिक संकटको बीचबाट थोमस पिकेटीजस्ता विचारक जन्माएको छ। यही वर्ष प्रकाशित उनको एक्काइशौं शताब्दीमा पुँजी शीर्षकको कृतिले पश्चिमा जगतमा वैचारिक भूकम्प नै सिर्जित गरिदिएको छ। पिकेटीको उक्त पुस्तकलाई कार्ल मार्क्सको पुँजी पछिकै सबभन्दा प्रभावशाली कृति हुने ठानिएको छ। तर, परापूर्वकालमा ऋषिमुनिहरुले बास गरेको आजभन्दा पच्चीस सय वर्ष पहिले गौतमबुद्ध जस्ता महान् विचारक जन्माएको नेपालमा आज यस्तो अभूतपूर्व ऐतिहासिक उथलपुथलका बीचबाट पनि किन वैचारिक छलफल बाँझो र चिच्याटलाग्दो बनिरहेको छ र किन हामीले यति धेरै रगत, पसिना र आँशुको भेल बगाउँदा पनि नेपाली रुसो, मार्क्स वा पिकेटी जन्माउन सकेनौं? यो प्रश्नको समाधान भेट्टाउन नसके हामी नेपालीले अबको सय वर्षमा पनि केही गर्न सक्ने छैनौं।
नेपाली प्राज्ञिक क्षेत्रमा राजनीतिक दल र तिनका नेताहरुलाई निकै गाली गरिन्छ। नेपालको सबभन्दा पुरानो र प्रसिद्ध त्रिभुवन विश्वविद्यालयमा दुई/चारवटा कक्षा लिइयो भने नेतालाई कसरी गाली गर्ने भन्ने सिक्न चियापसलमा जानु पर्दैन। अर्को शब्दमा भन्दा नेपाली प्राज्ञिक क्षेत्रको स्तर यति गिरिसकेको रहेछ, चियापसल र विश्वविद्यालयमा हुने बहसमा कुनै फरक छैन। विश्वविद्यालयमा, अझ खासगरी त्यसको मानविकी तथा समाजशास्त्र संकायमा भर्ना हुने भनेको समाजसम्बन्धी वैज्ञानिक र स्तरीय ज्ञान सिक्न हो, चियापसल र रक्सीभट्टीमा हुने तल्लास्तरका गालीगलौज सुन्न/सुनाउन होइन भन्ने बुझ्न नसक्नु र त्यसमा विद्यार्थीका अमूल्य समय खर्च गराउनु प्राध्यापकका तर्फबाट प्राज्ञिक अपराध नै हो।
यहीँनिर आफूलाई चोखो र नेताहरुलाई मात्र बदमास (यद्यपि नेपालका अधिकांश नेता ठग र बदमास नै हुन्) देख्ने त्रिभुवन विश्वविद्यालयलगायत नेपालका विश्वविद्यालयका मठाधीशहरुले बुझ्नुपर्ने कुरा के हो भने नेपालको उन्नति हुन नसक्नामा नेताहरु जति जिम्मेवार छन् प्राज्ञिक क्षेत्र त्योभन्दा बढी जिम्मेवार छ। नेताहरुको उत्पादन गर्ने यिनै विश्वविद्यालय होइनन्? नेपालले उन्नति नगरेको मूल रुपमा हामीसँग राम्रा इन्जिनियर वा डाक्टर नभएर होइन, गतिला सामाजशास्त्री, राजनीतिशास्त्री र अर्थशास्त्री नभएर हो। राजनीतिक नेताले जहिले पनि कुनै मरिसकेको वा जिउँदो विचारकको बुद्धि पैंचो लिएर काम चलाइरहेको हुन्छ। उदाहरणको लागि हिटलरजस्तो कुख्यात तानाशाही पनि नित्से र रुसोजस्ता विचारकबाट प्रेरित भएको पाइन्छ। यदि नेपालमा राम्रा प्राज्ञिक जन्मन सकेको भए पक्कै पनि राम्रा नेता जन्मन्थे होलान् किनकि आखिर विभिन्न प्रकारका सल्लाहकार भएर नेतादेखि प्रधानमन्त्री र मन्त्रीसम्मलाई सल्लाह दिने त यिनै समाजशास्त्री, अर्थशास्त्री वा राजनीतिशास्त्री नै त हुन्।
फेरि पनि नेपालमा किन विचारको दरिद्रता भयो? किन विचारक जन्मन सकेनन्? यसका पछाडि मूलतः दुईवटा कारण रहेका छन्– पहिलो, नेपालको प्राज्ञिक क्षेत्रले आफूलाई सामाजिक र राजनीतिक आन्दोलनसित जोड्न नसक्नु र दोस्रो नेपालको प्राज्ञिक डिस्कोर्स दाताहरुले उपलब्ध गराउने दानरकमबाट निर्देशित हुनु। त्रिभुवन विश्वविद्यालयमा यस्ता प्राध्यापकहरुको बाहुल्य छ जो विद्यार्थीलाई एनजिओ/आइएनजिओमा काम गर्न प्रेरित गर्छन्। एकजना गुरुवरले त कक्षामै विद्यार्थीलाई अंग्रेजी सिक्नुपर्छ, विदेशीसँग डलर माग्न पनि अंग्रेजी सिक्नुपर्छ भनेको यो पंक्तिकारका आफ्नै कानले सुन्नुपर्यो। हो, अंग्रेजी जान्नुपर्छ तर अंग्रेजी प्राज्ञिक बहसको भाषा भएकाले सिक्नुपर्छ भनेको भए त्यो सही हुन्थ्यो। तर, ती गुरुवरले जसरी तर्क पेश गर्नुभयो त्यसबाट उहाँको वैचारिक दरिद्रता झल्कन्थ्यो। यसरी, नेपालको प्राज्ञिक क्षेत्र विदेशी डलरको हरियो घाँसका कारण बन्ध्याकरण जस्तो भएको छ। देशका जल्दाबल्दा विषयमा भन्दा दाताका रुचिका विषयमा बढी अनुसन्धान हुन थालेको छ। बाँझो हुन पुगेको छ।
नेपालको प्राज्ञिक क्षेत्रले देशमा यति ठूलो राजनीतिक उथलपुथल हुँदा पनि त्यसबाट नयाँ विचारको अविष्कार गर्न सकेन। यसको मूल कारण के रहेछ भने पञ्चायतकालीन शिक्षाप्रणालीबाट गुज्रिएर आएका उनीहरुमा अझै पनि त्यसको धङधङी रहेछ। उदाहरणको लागि नेपालका ठूला भनिएका समाजशास्त्रीमा देखिएको संघीयताविरोधी उग्रवाद र कतिपय राजनीतिशस्त्रीहरुमा देखिएको महेन्द्रीय राष्ट्रवादलाई लिन सकिन्छ। खासगरी त्रिभुवन विश्वविद्यालयको अर्को विचित्र र विरोधाभाषपूर्ण विशेषता के छ भने त्यहाँका प्राध्यापकहरु यतिधेरै राजनीतिको विरोध गर्छन् कि यसबाट झट्ट सुन्दा उनीहरु प्राज्ञिक क्षेत्रको विकासमा कटिबद्धजस्ता देखिन्छन् तर अलि नजिक पुगेर हेरियो भने थाहा हुन्छ नेपालका राजनीतिक पार्टीमा भन्दा बढी राजनीतिकरण त्रिभुवन विश्वविद्यालयमा छ। त्यहाँका विभिन्न विभागीय प्रमुखहरु कुनै खास राजनीतिक पार्टीका नेताको चाकडी गरेका कारण ती विभागमा नियुक्त भएका छन्। परिवर्तनको राजनीतिमा योगदान नगर्नु तर त्यहाँबाट आएको प्रतिफल खान सबभन्दा अघि सर्नु नेपालका प्राज्ञिकहरुको विशेषता नै बनेको छ।
अन्त्यमा फेरि पनि यदि नेपाललाई उन्नत बनाउने हो भने त्यसको सुरुआत त्रिभुवन विश्वविद्यालयबाट गरिनुपर्छ। त्यहाँको मानविकी तथा समाजशास्त्र संकायलाई बलियो बनाउनुपर्छ र उत्कृष्ट दिमागहरुलाई डाक्टर वा इन्जिनियर हुन मात्र होइन समाजशास्त्री, राजनीतिशास्त्री र अर्थशास्त्री बन्न पनि प्रेरित गरिनुपर्छ। विश्वविद्यालयलाई समाज र राजनीतिमाथि निरन्तर अध्ययन गर्ने थलो बनाइनुपर्छ। विश्वविद्यालयमा विदेशी दान बन्द गरेर त्यसमा राज्यले प्रत्यक्ष लगानी बढाउनुपर्छ। यदि विश्वविद्यालयलाई दातृनिकायको छत्रछायाँमा छाडिदिने हो भने हाम्रा दिमागहरु आउँदा सय वर्षसम्म पनि बेचिइरहनेछन्, सिमापारि नेपाली चेलीहरु बेचिएजस्तै। र, डलरको वैजनी किरणले पक्षघात भएका दिमागका कारण हामी आउने शतकमा पनि केही गर्न सक्ने छैनौं। सम्बन्धित सबैलाई बेलैमा हेक्का होस्।
(अधिकारी एमाओवादी अन्तर्राष्ट्रिय विभागका सदस्य हुन्।)