'तिमीले त होइन तिम्रा भाकाहरूले मेरो मुटु छोइसके छन्,' हिजोआज मात्रै हो, यस कालजयी गीतलाई अक्षता अधिकारीको स्वरमा पुनः यूट्युबमा हेर्न र सुन्न पाएको थिएँ। साथै उनी यसै गीतका स्रष्टा कवि, गीतकार क्षेत्रप्रताप अधिकारीकै नातिनी हुन् भन्ने पनि थाहा पाएँ।
युवाको अत्यावश्यक प्रेम र रोमान्सलाई बढो सटिक ढङ्गले सम्बोधन गरेको तथा माया कसरी लगाउने कसरी गर्ने भन्ने सिकाउने आफ्नो हजुरबुवाको सर्वाधिक लोकप्रिय गीतलाई उनले पछिल्लो युवा पुस्तामाझ भिजाउने जमर्को गरेकी छिन्। 'तिमीले त होइन तिम्रा भाकाहरूले मेरो मुटु छोइसके छन्'
शीर्षक गीतका रचयिता क्षेत्रप्रताप अधिकारीको वि. स. २०७१ को पूर्वसन्ध्याको दिन ह्रदयाघातको कारण मृत्यु भएको छ। उनीसँग मेरो भेट १३/१४ वर्षअघि भएको थियो। त्यसताका मेट्रो एफएम असनमा थियो र म कार्यक्रम कोशेढुङ्गाको सञ्चालन गर्थेँ। शायद त्यसपछि खासै उल्लेखनीय भेट भएको छैन र हाल उनीसँग गरिएको कुराकानीको रेकर्ड सुनेर केही जानकारी दिन पनि म असमर्थ छु। तर उनीसँगको त्यो भेटवार्ताका केही कुरांश अझै पनि मेरो अन्तस्करणमा ताजै छन्। उनी कर्मठ थिए, भाग्य डाक्ने विविध विधि उनले कहिले अपनाएका छैनन् भन्ने मलाई लागेको छ किनकि भाग्य र ज्योतिषको खेलमा चिना चाहिन्छ, अनि जन्मिएको साइत चाहिन्छ जुन उनीसँग थिएन। सूर्यको चालको अवस्थामा यतिउति बज्यो भन्ने स्थितिमा ठीक जन्मसमय पत्ता लगाउन सम्भव नै छैन। त्यसकारण उनी कर्मवीर थिए।
पत्रिका बेच्नेदेखि कण्डक्टर हुँदै सहायकमन्त्रीसम्म भए। यसको अर्थ यो होइन कि नपढीकनै मन्त्री बने जुन हाल पनि सभासद या मन्त्री, नेता बन्न पढाइको आवश्यक्ता छैन। उनी त्यसरी मेहनत गर्दै लगनशीलताका साथ रात्रि विद्यालयमा पढेका थिए। जहाँसम्म लाग्छ, उनले साझा यातायातमा कण्डक्टरको रुपमा सेवा गरेका थिए पहिला र पछि साझा प्रकाशनको अध्यक्ष पनि हुनपुगे। सुपरिचित साहित्यकार तथा मन्त्रिअघिको उनको अघिल्लो जीवनको बारेमा कार्यक्रमको भेटमा मात्रै बताएका थिए, मलाई। यस्तै अर्को कुरा यी व्यक्तित्व बितेपछि मात्र थाहा पाइयो, मृत्युपर्यन्त आफ्नो शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गरेका रहेछन्। रक्तदान, आँखा दानको सदैव चर्चा हुने ठाउँमा हालै छाला दानको कुरा पनि चलेको छ र अब सुनामधन्य व्यक्तिबाट यस्तो प्रयास भएपछि शरीर दानका अरु समाचारहरू पनि आइन्दा सुनिने छन्। यस अर्थमा पनि उनी रवि नपुगेको ठाउँमा पुगेका छन्, फेरि एकपटक। उनको अस्थि माटोपानीमा मिलेर भोलि वनमा लालीगुराँस नफुले तापनि मनभरि भने अवश्य फुलिरहनेछ। 'म त लाली गुराँस भएछु बनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु।'
उनका प्रेम, विरहबाहेक देशभक्तिका गीत पनि चर्चित छन् र साथै पत्रपत्रिकामा पनि देशको स्थिति र नेताको मनस्थितिलाई व्यङ्ग्य गरिएका कविताहरू पनि धेरै प्रकाशन भएका छन्। साथै उनका केही गीतहरू देशभक्तिभन्दा राजाको स्तुति गान भएको भन्ने पनि आरोप लगाइएको थियो। त्यो भनेको सोचस्तर, समयस्थिति लगायतका विविध कारक तत्वमा निर्भर हुने कुरा हो भन्छु म। तापनि ‘चौतारीको बरै ढलेछ’ बोलको गीतले दरबार हत्या काण्डलाई इङ्गित गर्दछ।
साँच्चै ‘चौतारीको बरै ढलेछ’, उनको अनुपस्थिति नेपाली साहित्य फाँटमा खट्किरहनेछ र यस स्थितिमा के भनुँ, उनकै अर्को चर्चित गीत सापटी लिन्छु म। 'घामछायाँमा छैनौ तिमी, जूनेलीमा छैनौ तिमी, क्या बोर भयो।'
चिरशान्तिको कामना। श्रद्धासुमन क्षेत्रप्रताप अधिकारी!
हाल: बेजिङ