११ वर्षीय बालक जब मीठो सपना बोकेर घरबाट भाग्छ र आइपुग्छ सपनाको संसार, रंगीन काठमाडौं। गर्ने के? काम गर्ने पैसा कमाउने भनेर घर छोडेको। बुवा आमालाई पैसा कमाएर पठाउँछु भनेर ५ कक्षामा पढ्दापढ्दै काठमाडौं छिरेको।
११ वर्षका कुमार रावत सप्तरीबाट २ महिनाअगाडि काठमाडौं छिरेका रहेछन्। उनलाई मैले नख्खुको बाटोमा रोडमा पीच गर्नका लागि धुलो सफा गर्दै गरेको भेटेँ। धुलोले छप्रक्कै ढाकेको त्यस बाटोमा उनीसहित ५/६ जना अरु पनि बालकहरु बाटोमा अड्केको अचकल्टो ढुंगाहरुलाई मिलाएर बाटोमा ब्रसले घोट्दै थिए। रोडमा पीच गर्नुअघि सफा र सम्म गर्नु पर्ने रहेछ।
ठेकेदारले महिनाको ९ हजार दिँदा रहेछन् उनीहरुलाई, खाएर बसेर जोगिने पैसा तपाईँहामी आफैले बुझ्न सक्छौ। काम गर्ने बखत मास्क पनि नलगाएका हैनन् तर पनि सोच्छु, कठै! अहिले त काम गरिन्छ, तर पछि छातीले दुख नदेला भन्न सकिन्न। दोष कसको भन्ने? ११ वर्षीय बालक, जसलाई कमाएर पैसा घर पठाउनु छ या ठेकेदारको जसले चैत मसान्तभित्र काम फत्ते गरिसक्ने भनेर ठेका लिएको थियो र अहिलेसम्म पनि सकिएको छैन।
काम गरेर खानेलाई दुख दिनु हुन्न। काम नगरी खान पाइन्न। तर पनि त्यस धुलोमा ढाकिएर काम गर्दै गरेको बाल श्रमिकहरु देखेर मन कुँडिन्छ।
मुस्कुराउदै एक बाल मजदुर।
धुलोले ढाकिएको सडकबीचमा एक मजदुर।
रोडमा अड्केको गिट्टीहरु सफा गर्दै केटाहरु।
रोडको धुलो सफा गर्दै मजदुरहरु र पछाडी स्कुटर यात्रीहरु।
धुलोले रोड ढाकेपछि हतार हतार मुख छोपेर लम्किदै पैदल यात्रुहरु।
एक साईकल यात्री।
११ वर्षीय कूमार रावत र उनका दूई साथी थकान मेट्दै।
धुलोमैलो हात र राेड सफा गर्ने बुरुस।