युनाइटेड अरब इमिरेट्स(युएई)को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए। काठमाडौ अवतरण गर्न 'ल्याण्डिङ गियर' झारीसकेको जहाज विमानस्थलको दक्षिणपट्टी कोटेश्वर चोकमाथी आइपुगेको थियो। झिलीमीली बत्ती बलिरहेको धावनमार्ग र विमानस्थलमा एक्कासी बत्ती निभ्यो। जताततै अन्धकार छायो। आजको नागरिकमा खबर छापिएको छ।
जहाजको धावनमार्गमा छुन एक निमेशमात्र बाँकी हुँदा झ्याप्पै बत्ती गयो, अगाडि पुरै अन्धकार न धावनमार्ग देखियो न विमानस्थल, सम्बद्द स्रोतले चालकदलका एक सुदस्यलाई उदृत गर्दै भने,'हाम्रो अगाडि जहाजलाई जबर्जस्ती ओभरसुट गराउनुको विकल्प थिएन। धन्य जहाजलाई उकास्न सफल भयौ र ठूलो दुर्घटनाबाट जोगियौं।'
यो घटना बुधबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो।
स्रोतका अनुसार एयर अरेबियाको उडान नम्बर जी ९५३५ भएको एयरबस ए ३२० मोडलको उक्त जहाज राति ९:५५ बजे विमानस्थल अवतरण गर्ने तालिकाअनुसार आइरहेको थियो। धावनमार्ग ओर्लन ठिक्क परेको जहाज त्यसबेला जमिनबाट ५० मिटरमात्र माथि थियो।
‘चालकदलले अनुमानका आधारमा धावनमार्गमा जहाज अवतरण गराउनु निकै जोखिमपूर्ण काम हो, त्यस्तो जोखिम मोल्नुभन्दा जबर्जस्ती जहाजलाई उकास्नु नै बुद्धिमानी हो,' एयर अरेबियाका नेपालस्थित एक अधिकारीले भने, ‘अनुभवी चालकदलले जहाजलाई उकासे र सम्भावित दुर्घटना हुनबाट जोगाए। तर, हाम्रो विमानस्थलको लापरबाहीको सिकार वायुसेवा कम्पनी र यात्रु हुन पाउँदैनन्।'
उनका अनुसार जहाज उकासिएर गएको ४० मिनेटपछि राति १०:३५ बजेमात्र पुनः अवतरण गर्न सफल भएको थियो। अवतरण गर्नै लागेको जहाज एक्कासि उकासिँदा यात्रु अत्तालिएका थिए। त्यसबेला विमानस्थलमा ओमान एयर, ड्रागन एयर र नेपाल वायुसेवा निगमका जहाज पार्किङमा थिए। जहाज उकास्न नसकी अवतरण गराइएको भए जे पनि हुनसक्थ्यो।
‘राति तीव्र गतिमा गाडी वा मोटरसाइकल कुदाइरहँदा बलिरहेको हेडलाइट एक्कासि बन्द हुँदा चालकलाई जे हुन्छ, जहाजमा पनि त्यस्तै हुन्छ,' एक वरिष्ठ पाइलटले भने, ‘बाटोमा त गाडी वा बाइक झ्याप्पै रोक्न सकिएला तर, आकासमा के गर्ने?'
एयर अरेबियाको त्रिभुवन विमानस्थलस्थित अधिकारीहरूले घटनालगत्तै विमानस्थल व्यवस्थापनलाई जानकारी गराएका थिए। तर, व्यवस्थापनले घटनाबारे बिहीबार कुरा गर्ने भन्दै ‘गैरजिम्मेवार' जवाफ दिएको सम्बद्ध अधिकारीले बताए।