इन्डियन आयल कर्पोरेसनले बक्यौता रकम माग्दै तेल दिने छोडेपछि पूर्वमा पेट्रोलको हाहाकार मच्चिन थालेको छ। पम्पहरू पेट्रोल अभावले बन्द हुन थालेका छन्।
आयल निगमका अनुसार चार दिनयता इन्डियन आयलले नेपालमा तेल पठाउन छोडेको छ। 'पैसा बक्यौता माग्दै इन्डियन आयलले पेट्रोल पठाउन छोडेको छ,' निगमका क्षेत्रीय प्रमुख सीताराम पोखरेलले सेतोपाटीलाई भने, 'स्टक तेल पनि सकिएकाले बजारमा तेल पाउन छोडेको हो।' नेपाल आयल निगमले भारतलाई ५ अर्ब ५० करोड रूपैयाँ बक्यौता तिर्न बाँकी छ। निगमले उक्त रकम तिर्न नसकेकाले भारतबाट आपूर्ति बन्द भएको उनले बताए।
मौज्दात रहेको डिजेल र मट्टितेल पनि सकिन लागेको छ। पाँच सय किलोलिटर क्षमताको निगमको क्षेत्रीय कार्यालयस्थित डिपो रित्तिन लागेको छ। तीन हजार पाँच सय किलोलिटर क्षमताको डिजेलको डिपोमा २ हजार ३ सय लिटर मौज्दात छ। यो तेल शनिबारसम्ममा सकिने निगमको भनाइ छ।
पेट्रोलियम डिलर्स एशोसिएसन कोसीका अनुसार पाँच दिनयता निगमले डिजेल र पेट्रोल आपूर्ति क्रमशः घटाउँदै गएको छ। कोसी अञ्चलमात्र सामान्य अवस्थामा पनि दैनिक चार लाख लिटर डिजेल र एक लाख लिटर पेट्रोलको माग छ। पाँच दिनयता निगमले ५० देखि ५० हजार लिटर मात्र तेल दिँदै आएको थियो।
बक्यौता रकम समयमै निगमले बुझाउन नसके पेट्रोलियम समस्या थप जटिल बन्दै जाने अधिकारीहरू बताउँछन्। 'कोसी अञ्चलका झन्डै सय वटा डिपोमा तेल छँदै छैन,' एशोसिएसन कोसीका उपाध्यक्ष मुकुन्द न्यौपानेले भने, 'अलि बढी क्षमताको पेट्रोलको डिपो राखौं, अफ्ठ्यारो पर्दा धेरै दिनसम्म पुग्छ भन्दा आयल निगम सुनेनसुनै गर्छ।'
भारतले पेट्रोल दिन छोडेपछि निगमका ट्याङ्कर थन्किएर बसेका छन्। चार दिनयता निगमका ट्याङ्कर भारत जान छोडेका छन्। ट्याङकर व्यवसायी संघका महासचिव अरविन्द शर्माका अनुसार दुई सय बढी ट्याङकर पेट्रोलियम लिन भारत जान्थे। पूर्वाञ्चलमा बिहार राज्यको बरौनीबाट तेल आपूर्ति गरिँदै आएको छ। बरौनी विराटनगरबाट साढे तीन सय किलोमिटर टाढा छ। निगम घाटामा गएको भन्दै आयल निगम केन्द्रीय कार्यालयले बक्यौता रकम तिर्न सरकारसँग भुक्तानी मागिरहेको छ। तर सरकारले केही निर्णय गर्न सकिरहेको छैन।
तेल आपूर्ति सहज गराउन निगमले पश्चिम बंगालबाट ऋणमा तेल खरीद गर्न खोजेको थियो। तर पश्चिम बंगालमा लोकसभा चुनाव चलिरहेकाले नेपाल–भारत बोर्डर सिल छ। सोमबारपछि मात्र सिमा खुल्ने भएकाले समस्या जटिल बन्दै गएको आयल निगमको भनाइ छ।