काठमाडौस्थित नर्वेजियन दूतावासले विज्ञप्ति प्रकाशित गरी हिमाल साउथ एसियन ट्रष्टलाई आफूले उपलब्ध गराएको आर्थिक सहायता दुरुपयोग भएको विश्वास गर्नुपर्ने कुनै कारण नरहेको जनाएको छ।
राजदूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, '(हिमाल साउथ एसियन ट्रष्ट) आफूले उपलब्ध गराएको आर्थिक सहायता दुरुपयोग भएको विश्वास गर्नुपर्ने कुनै कारण छैन, तर ऊमाथि लागेका आरोप गम्भीर भए र हाम्रो तर्फबाट कुनै आवश्यक कदम चाल्नु पर्ने भए हामी (त्यसमा ध्यान दिनेछौँ)।'
राजदूतावासले आफूले नेपालमा जारी शान्ति प्रक्रिया विरोधी कुनै पनि गतिविधिलाई आर्थिक सहयोग नगरेको पनि जनाएको छ।
आफूले आर्थिक सहयोग उपलब्ध गराएका सबै संस्था (नेपाली कानुनअनुसार) दर्ता गरिएका र समाज कल्याण परिषद्को स्विकृति लिएका दूतावासले उल्लेख गरेको छ। आफ्ना सबै आर्थिक सहायता पारदर्शी रहेको र राजदूतावासको वेबसाइटमा राखिएको पनि दूतावासले जनाएको छ।
गोरखाको फुजेल गाउँका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा आफ्ना केही कार्यकर्तालाई चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको विरोधमा बिहीबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै एमाओवादी नेता शक्तिबहादुर बस्नेतले नर्वेजियन राजदूतावासले हिमाल साउथ एसियन ट्रष्टको नाममा झण्डै ६ करोड रुपैयाँ आर्थिक सहायता दिएर शान्ति विरोधी गतिविधिलाई बढावा दिएको दाबी गरेका थिए।