नेपालगञ्जको राँझा विमानस्थलबाट काठमाडौं जान लागेका चारजना भारतीय नागरिकबाट बाँके प्रहरीले ठूलो परिमाणाममा विदेशी मुद्रा बरामद गरेको छ।
नेपालगन्ज हुँदै काठमाडौ जान लागेका भारतीयबाट प्रहरीले २ करोड ४३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ बराबरका युरो, अमेरिकन डलर र भाट बरामद गरेको छ।
उनीहरुले शरीरको गुप्ताङ्ग नजिक लुकाएर विमान मार्फत विदेशी मुद्रा राजधानी पुर्याउन लागिएको प्रहरीले जनाएको छ।
विमानस्थलको शौचालयभित्र रुपैयाँ निकालेर झोलामा राख्न लागेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।
उनीहरु नेपालगन्जबाट यति एयरलायन्सबाट काठमाडौं जान लागेका थिए। अञ्चल प्रहरी कार्यालय भेरीले शुक्रवार साँझ पक्रकार सम्मेलन गरी बरामद गरिएको बिदेशी मुद्रा र पक्राउ गरिएका व्यक्तिलाई सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भारत दिल्लीका ३० वर्षीय लायक अहमद, मोरादाबादका २१ वर्षीय लिजानुल हक र ३० वर्षीय याकुब तथा बरेलीका २४ वर्षीय गुड्डु रहेको अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक मधु पुडासैनीले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले एकलाख ७९ हजार ५ सय युरो, दुई हजार ९ सय अमेरिकी डलर र एकहजार ३ सय ३० थाई भाट बरामद भएको छ।
बरामद भएको बिदेशी मुद्रा नेपाली रुपैया दुई करोड ४३ लाख ५९ हजार १सय ७६ बराबरको रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरु यसअघि पनि विदेशी मुद्रा ओसारपसार गरेको स्वीकार गरेका छन्।
मोटरपार्टसको काम गर्ने उनीहरुले सामान खरिदका लागि थाइलेन्ड जान लागेको बताएका छन्।
पक्राउ परेका व्यक्तिहरुका बिरुद्ध अवैध विदेशी मुद्रासहित राजश्व अनुसन्धान विभागमा पठाइने र उनीहरुलाई विदेशी विनियम नियमित गर्ने ऐन बमोजिम विदेशी मुद्रा अपचलन असुरमा कारबाही हुने प्रहरीले जनाएको छ।