भनिन्छ वुवा आमाको लागि सन्तान भनेको प्राण भन्दा प्यारो हुन्छ तर, विडम्बना खोटाङका एक दम्पति आफ्नो छोरालाई कसैलाई सुम्पन तयार छन्।
देविस्थान–६, नर्कटे गाउँ खोटाङका कुलबहादुर कार्की र बालकुमारी कार्की आफ्नो १० महिने छोरालाई अन्य कसैलाई सुम्पन विवश भएका छन्।
गरिबीको कारण छोराको उपचार गर्न नसकेपछि उनीहरुले औषधी उपचार गरी कसैले आफ्नो छोरा लाने मान्छे भए दिन तयार रहेको विवशता सुनाउँछन्। वुवा बालकुमार भन्छन् –‘जन्मदै रोगी जन्मिएको छोराको उपचारको लागि ८ महिनादेखि घर छाडेर हिडेको १० लाख खर्च भइसक्दा पनि उपचार हुन नसकेपछि उपचार गरेर पाल्ने कोही निस्किएपनि छोरा दिने थिए।' छोरा रुद्रको मुटुको दुवै भल्भमा प्वाल परेको छ भने खुट्टा जोडिएको र नाक र मुखको भाग पनि एकै स्थानमा रहेको छ।
उनले छोराको उपचारको क्रममा राजधानीका विभिन्न अस्पताल पुर्याइसकेका छन्। काठमाडौको गंगालाल, कान्ति, शिक्षण, मोडल, बि एण्ड बि, बालमैत्री, त्रिशुली, न्युरो अस्पतालमा विभिन्न चरणको उपचार गरेका छन्। त्यसो त उनले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरका अस्पतालहरुमा कयौपटक उपचार गरेका छन् आफ्नो छोराको। छोराको मुटुको एकातर्फभल्भको शल्यक्रिया गंगालाल हृदय रोग केन्द्र काठमाडौमा भइसकेको छ भने अर्काेपटिको शल्यक्रिया गर्ने रकम अभाव भएकोले मुटुको अप्रेशन हुन नसकेको बताउँछन्।
तीन छोरी पछि छोरा जन्मिदा ज्यादै हर्ष लागेपनि कुलबहादुर छोरा जन्मिएपछि कसरी बचाउने भन्ने ध्यावन्नमै दिन बिताउँछन्। २–४ पैसा बटुल्दा बटुल्दा थकित भइसके अहिलेसम्म ८ लाख खर्च भइसक्यो भने अझै कति लाग्ने हो टुंगो छैन। उनी आफ्ना आफन्तले सहयोग नगरेको गुनासो पनि पोख्छन्।
दाजुभाईहरु करोडौको मालिक भएपनि एकपैसा सहयोग त के बोलीबचन समेत राम्रो नगर्दा कोही नभएको अनुभूति हुने गरेको बताउँछन्।
उनको घर विगत ८ महिनादेखि घर छोडेका कुलबहादुर घरबारे बेखबर छन् भने २ छोरी ८ वर्षे रिता र ६ वर्षे सीता आफन्तलाई जिम्मा लगाएर हिडेका दिनदेखि के गर्दैछन् भन्नेबारे पनि बेखबर नै छन्। उनले विरामी छोरासँगै आफ्नी श्रीमती र २ वर्षे छोरी गीतालाईसँगै लिएर निस्केका थिए। छोराको उपचारको क्रममा ४ वर्ष साउदी अरबमा काम गरी ल्याएको अलिकति पैसा र त्यही पैसाले सुनसरीको प्रकाशपुरमा किनेको २ कठ्ठा जमिन समेत साहुलाई सुम्पने स्थिति भएको बताउछन्।
त्यति मात्र नभई उनले छोराको उपचारको क्रममा जहाँ पुगेपनि चन्दा उठाउछन् कसैसँग सय–पचास गर्दै उनले अहिलेसम्म धानीरहेको बताउछन् । अब भने चन्दा मागेर उपचार सम्भव नदेखेपछि उनी छोराको उपचार गरीदिने मानिसको खोजीमा छन्, भन्छन् –‘मैले यसरी कतिदिन सक्नु अब भने हार खाइसके।' निराश हुँदै ‘पहिले जसरी भएपनि बचाउछु भनेझै लाग्थ्यो अब मैले सकिन।' ‘कसैले लगेर म पाल्छु औषधि उपचार गर्छु भने भने मुटु मिचेरै भएपनि म छोरा सुम्पन्छु।'