शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा अनियमितता गर्ने ४ सय ८० परीक्षार्ठ्ठीको परीक्षा रद्द भएको छ। उत्तरपुस्तिकामा नगद राखेर आर्थिक प्रलोभन देखाउँदै नोट नै नथ्थी गरेर राख्ने ४ जना,चिठ्ठी सहित आर्थिक प्रलोभन देखाउने करिब ४ दर्जन, नागरिकताको प्रमाणपत्रसहित अनुरोधपत्र राख्ने १ जना, मुक्त कमैयाको परिचयपत्र प्रतिलिपी राख्ने एक जनाको परीक्षा रद्द भएको छ। आफ्नो नाम र मोबाइल नम्बर राख्नेको संख्या करिब ३ सय रहेको छ।
यस्तो अमर्यादीत कार्य गर्ने करिब डेढ सय जनाको परीक्षा रद्द गरेको भन्ने व्यवहोरामा सार्वजनिक सूचना जारी गरिएको छ। परीक्षकलाई अवाञ्छित प्रभाव पार्ने चिठी लेख्ने, उत्तर पुस्तिकाको भित्री पृष्ठमा नाम र रोल नम्बर लेख्ने, आफूलाई चिनाउने चिह्न र संकेतहरु उल्लेख गर्नेलगायतका दर्जनौं गल्ती परीक्षा रद्द गरिएको आयोगका प्रवक्ता खगेन्द्र नेपालले जानकारी दिए।
आयोगको यही ४ गतेको निर्णयअनुसार ४ सय ८० जनाको परीक्षा रद्द गरेको जनाउँदै ती मध्ये अधिकांश तराईका परीक्षार्थी रहेको आयोगका अध्यक्ष उदयराज सोतीले बताए।