कृष्णपक्ष। झमक्क साँझ परेको हुन्छ। म चोकतिर एकछिन गफिएर घर फर्कदै गरेकोहुन्छु। बिजुलीको पोलमा साइकल यात्रीहरू ठोकिएर लड्दैगरेका हुन्छन। खन्द्र्याङ र खुन्द्रुङ गरेको आवाज सुनेको हुन्छु। सिमेन्टको पोल निर्जीव हुन्छ।
बाटो छोड्न जानेको हुँँदैन। साइकल यात्रीहरू नशामा टुल्ल भएका हुन्छन। रातपरेपछि सोह्र फिटको बाटोपनि साँगुरो भएको हुन्छ। एकमहिना पहिला एउटा साइकल यात्री पोलमा ठोकिएर ठहरै भएकोहुन्छ। प्रत्यक पोलमा लाल्टिन झुण्ड्याइदिन पाए हुन्थ्यो कि भनेर सोचेको हुन्छु।
'बिजुलीको पोलमा लाल्टिन' भनेर एकलै हाँस्छु, पनि। यी पोलहरूपनि पासोथापे जत्तिकै भयो भनेजस्तो लागेकोहुन्छ। 'धन्न, मैले घरमा वाइरिङ् गरिनछु। केटाकेटी त गरौं भन्दै थिए। खर्च छैन, पछि गरौंला भनेर तारहरू त्यत्तिकै लन्द्र्याङ्–लुन्द्रुङ्ग झुन्ड्याएर विजुली तानेको थिएँ। अहिले त लुगा झुण्ड्याउन काम दिएको छ।' भनेर पनि सोचेको हुन्छु।
यस्तै के के सोच्दै घरतिर आइरहेको हुन्छु। बाटोमा एउटा बौलाहासित जम्काभेट भएकोहुन्छ। झुत्रे, मैला लुगालगाएको, कपाल जिङ्ग्रिङग परेको, हातमा एउटा बन्दुक आकारको काठकोठुन्को बोकेकोहुन्छ। म आफ्नै सुरमा आइरहेको हुन्छु। उसले त्यो बन्दुकजस्तो काठको ठुन्को मेरो अगाडि तेर्स्याएकोहुन्छ। म झसङ्ग भएर तर्सिएको हुन्छु। म तर्सेको देखेर ऊ मरुन्ज्याल हाँसेको हुन्छ।
'को हो?' भनेर सोधेको हुन्छु। ऊ हाँसिमात्रै रहेको हुन्छ। गहिरिएर हेर्दा पागलजस्तो लागेको हुन्छ, मलाई।
'काहाँबाट आउछन यी बौलाहाहरू, हट, पर जा' भनेर कराउको हुन्छु। भोकलागेको इसारा गरेर, खान मागेको हुन्छ, उसले। मलाई दया लागेको हुन्छ। र, उसका व्यवहारहरू विचार्दै घर लिएर आएको हुन्छु।
'नुहाइ–धुवाइ गरेर सफा–सुग्घर भइस भने मात्रै खानदिन्छु।' भनेर भनेको हुन्छु।
उसले पागल नभए जस्तै गरेर मेरो आदेश पालना गरेको हुन्छ। साँझको बेला सिउसिउ गर्दै नुहाएको हुन्छ। मैले आफ्ना पुराना लुगा लगाउँन दिएको हुन्छु। ऊ मैले दिएका लुगाल गाएर भलाद्मीभएर मेरो अगाडि बसेकोहुन्छ।
'ल, हिँड। खाना खान' भनेर भान्छामा लिएर आएको हुन्छु। र, सबैजना एकैसाथ खाना खाएका हुन्छौं। मेरा केटाकेटीहरूले मेरो त्यो काम त्यति निको मानिरहेका हुँदैनन्। इन्दुले कड्के आँखाले हेरेकी हुन्छिन।
***
बेलुका खानपिन सकेर टिभि कोठामा सबै जम्मा भएका हुन्छौं। बौलाहा पनि आएर छेउमै बसेको हुँन्छ। र, मैले उसको ढाडमा धाप मार्दै, नाम र ठेगाना सोधेको हुन्छु।
'घर दैलेखको द्वारीगाउँ। नाम चाहिँ लछिराम उर्फ निर्भीक' भनेर उसले जवाफ दिएको हुन्छ।
बौलाएको पर्दाभित्र मनभित्रका सारा उकुसमुकुस र बोझहरू लुकाएर विसाउन सकिन्छ कि भन्ने प्रयासस्वरूप उसले यो बाटो रोजेको हुँदोर'छ।
'मान्छे इच्छ्याएर बौलाउँनुको अर्थ रैनछ। मान्छे बौलाउन मानसिक सन्तुलन गुमाउनै पर्नेर'छ। म बौलाएको पर्दाभित्र मनका पीडाहरू, रोदनहरू, पश्चापातहरू, क्रन्दनहरू, मनोकुण्ठाहरू, अपराधवोधहरू छोप्न चाहान्थे। तर म गलत थिएँ।
मलाई बौलाउन भन्दापनि झनगाह्रो भैरहेकोछ, बौलाएको पर्दाभित्र गुम्सिएर बाँच्न। म 'निर्भीक' भएर बाच्न चाहान्न। लछिराम भएर बाच्ने धरातल मैले गुमाइसकेको छु।' उसले यसरी जवाफ दिएको हुन्छ।
२०५४ सालतिरको कुरोर'छ। लछिरामका बाउछोरा जनताको मुक्तिको खोजीमा घरबाट निस्किएका रहेछन। जनमुत्ति सेना बनाँइएछन्। बहुत गर्व लाग्थ्यो, अरे। जनमुत्ति सेना हुन पाएकोमा। जनयुद्ध सफल भएपछि 'समाज विकासको क्रममा पछाडि पारिएका राउटेहरू गुफाबाट बाहिर निस्कनेछन। मुसहर समुदायले मुसाखाएर जिवीकोपार्जन गर्नुपर्नेछैन। कुसुण्डा समुदायका बच्चाहरूको हातले लिसो र भालाबाट मुक्ति पाउनेछन। र, उनीहरूको हातमा पुस्तक थमाइनेछ।
गरीवले झाडापखाला लागेर मर्नुपर्ने दिनको अन्त्य हुनेछ। देशभित्रै उद्योग र कलकारखाना खुल्नेछन।' भन्ने विश्वास लागेको हुँदोर'छ , उसलाई। त्यहीभएर ऊ क्रान्तिमा लागेको हुँदोर'छ।
अहिले ऊ भनिरहेको हुन्छ, 'मुक्तिको खोजीमा निस्केका थियौं। जनमुत्ति सेना बनाँइयौं। अन्तमा मर्नु न बौलाउनुको दोसाँधमा ल्याइ पुर्याइका छौं। मुक्तिको कुरै छोडौ। बिगतमा गर्न लगाइका कर्महरूले स्वतन्त्रतापूर्बक बौलाउनपनि पाइएको छैन। बाहिर बौलाएको अभिनय गरेर के गर्नु भित्र भतभति पोलेकोछ।'
उसका दुबै आखाँ आँसुले निथ्रुक्क भिजेका हुन्छन। कमेजको फेर तानेर आँसु पुछ्दैगरेको हुन्छ। बार्दलीमा निस्किएर आकाशमा चम्किइरहेका ताचाहरूपनि नियाल्छ। र, फेरि आएर पुरानै ठाउँमा बस्छ।
आफ्ना दुबैहातहरू देखाँउदै भनिरहेको हुन्छ, 'यस्तै एउटा कालो रात। फागुनको महिना, २०५९ साल हो क्यार। कालीकोटको एउटा आक्रमण, बाबुछोरा सँगै थियौं। अनायास एउटा गोली आएर छोराको छातीमा लाग्यो। मेरो अगाडि छोरो
गर्ल्याम्म ढल्यो। म छाँगोबाट खसेजस्तो भएँ। यिनै हातहरूले खाल्टो खने। तोते बोल्न सिकाएको, तातेताते भन्दै यो धरतीमा पाइला टेक्न सिकाएका दुश्यहरू झलझली सम्भि्कएँ। ऊ जन्मिदाखेरि मनाइका खुसी र उमङ्गहरूका दिनहरू पनि संम्झना आयो। छोरोलाई त्यहि खाल्डोमा पुरेँ। र, रातभरि रोएँ।'
ऊ भनिरहेकै हुन्छ, 'मेरी आमा प्रत्यकदिन आँसुु पिएर बाँचेकी छिन। मेरो नाति खोई भनेर प्रत्यकदिन सोध्थिइन। श्रीमति प्रत्यकदिन छोराको बिलौना गरिगरि रुन्थिइन। मैले कहिल्यै भन्न सकिन कि तिम्रो नातिलाई खाल्टोखनेर गाडेर आएकोछु। मैले श्रीमतिलाई कहिल्यै भन्न सकिन कि तिम्रो छोरो पानीपानी भन्दैथियो। बदलामा मैले मुखभरी एक अँजुली माटो हालिदिएँ। रोजको आत्मा–पीडामा छटपटाएर म बाच्न सकिन। त्यसैले म बौलाएँ।'
उसले अर्को एउटा हृदयविदारक घटना पनि स्मरण गरेकोहुन्छ। उसको एकजना डेकेन्द्र भन्ने बचपनको साथी हुँदोर'छ। ऊ छिमेकि पनि थियो, अरे। कसाध्यै मिल्थे अरे। उसले सम्झना गरेको हुन्छ विवाह गरेपछि मात्रै उनीहरूको ओछ्यान वद्लिएछ। नत्र बचपनदेखि एउटै ओछ्यानमा सुत्थे अरे।
तर, ओछ्यान बद्लिएपछि उनीहरूको विचार पनि बद्लिएको र'छ।
ऊ रुदै भनिरहेको हुँन्छ, 'म जनयुद्धको बाटो लागेँ। डेकेन्द्र पत्रकारिताको। म गलत स्कूलिङको शिकार भएँ भनेर अत्यन्त पीर गर्थ्यो।'
'साथीभाइ, छरछिमेक, इष्ट–मित्रहरूलाई शत्रु घोषणा गरेर गलत गर्दैछौ। राष्ट्रहरूको बीचमा शत्रुता सृजनागरेर राष्ट्र संमृद्ध बन्न सक्तैन' भनेर प्रतिवाद गर्थ्यो, अरे, डेकेन्द्र।
अन्ततोगत्व लछिरामहरू डेकेन्द्रको कृयाकलाप सङ्गठन बिस्तारमा बाधक बन्नपुगेको निष्कर्षमा पुगेको हुँदोर'छ। र, डेकेन्द्रको विचारसित वैचारिक सङ्घर्ष गर्न नसक्नेभएपछि, सफाय गर्ने निर्णमा पुग्दोर'छ।
ऊ रुँदै भनिरहेको हुन्छ, 'त्यसको जिम्मा मेरै थाप्लोमा आयो। मैले, कसाइले छाला काड्न बाख्रो झुण्ड्याएको जसरी, यीनै पापी हातहरूले डेकेन्द्रलाई स्कुलको एउटा कक्षाकोठाको दलिनमा उँधोमुन्टो पारेर झुण्ड्याएँ। शरीरका कपढाहरू खाल्यौँ र नाङ्गेझार पार्यौ। चारैतिरबाट सङ्गिन रोप्यौ। बाँसको भाटाले हिर्कायौं। रक्तमुछेल भयो साथी। उसको चेतनाले कामगर्न छोड््यो। हाम्रो सबभन्दा ठूलो दूस्मन नै उसको चेतन–तत्व थियो। त्यस्लाई मैले निस्तेज पारिदिएँ। छामे, नारीको धड्कन चल्दैथियो। लाग्यो, चेतनाबीनाको शरीरको केमाम? खाल्डो खन्यौं र पुरिदियौं। 'तरवार भन्दा कलम बलियो' भन्ने सामन्तवादी चिन्तनको अन्त्यभएको घोषणा गरेँ। साथीहरूले ताली बजाए।'
त्यहीँ दिनदेखि लछिराम निर्भीक भएको हुँदोर'छ। उसको पद्दोन्नति पनि भएछ।
***
क्रान्तिको भूत उसको शरीरबाट उत्रिएपछि लछिराम विधुवा भाउजु र टुहुरा केटाकेटीलाई देखेर प्रत्यक दिन तड्पिँदो र'छ। ती केटाकेटीहरूको खुसीहराएको अनुहार देखेर उसलाई आँशु थाम्न कठिन हुँदोर'छ। उसका आँखामा आँसुु देखेर ती निर्दोश नानीहरूले 'आबुइ अङ्कल रुनु भयो' भनेर जिस्क्याएका थिए, अरे। सरिता भाउजुले 'बाबाको यादआएर रुनुभएको' भनेर सम्झाएकी रहिछन। र, ती नानीहरूले आफ्नो बाबालाई सम्झेर रोएको विश्वासमा लछिरामका आखाँ पुछिदिएका थिए, अरे। गाला सुमसुम्याइ दिएका थिए, अरे। र, लुपुक्क छातीमा टाँसिएका थिए, अरे। आफ्नै बाबाको छातीमा टाँसिएको जसरी।
लछिराम भनिरहेको हुन्छ, 'तर ती कलिला मनहरूलाई के थाहा कि उनीहरूको खुसी उजाड्ने कसुरदार मै थिएँ। र, यो डरलाग्दो सत्य म सद्दे मान्छे भएर भन्न सक्तिन थिएँ। मेरो मृत्युले, यदि ती सबैका खुसीहरू फर्किएर आउँथे भने। म यातना दिइदिइ आफैलाइ मारिदिने थिएँ। डेकेन्द्र जीवित हुन्थ्यो भने म सेरिएर मर्न तयार थिएँ। म कसरी यस्तो क्रुर भएँ, मेरो मानस्पटमा कसरी राक्षेसले बासगर्यो। मलाइ पत्तैभएन।'
लछिराम क्वाक्वा गरेर रोएको हुन्छ। ऊ बौलाएको पर्दा भित्र, डाको छोडेर रुने गर्छ, अरे। ऊ बौलाएको पर्दा भित्र कयौ सत्यहरू ओकल्दै हिँड्छ, अरे। तर त्यो बौलाहाको कुरा कस्ले सुन्ने, कस्ले पत्याउने?
ऊ भनिरहेको हुन्छ, 'मानिसहरू बेपत्ता पारिएकाहरूको रहस्य खोज्दै छन भनेको सुन्छु। मलाई विश्वास लाग्दैन कि एउटा सामान्य मान्छेले त्यस्तो दर्दनाक सत्य ओकल्न सक्छ।'
'यी त छोटा अंशहरूमात्रै हो। यस्ता धेरै कथाहरू छन जस्ले मलाई पलपल सताउने गर्छ। र, म यही पागलपनको पर्दाभित्र सत्यहरू ओकल्दै हिँड्छु। सायद यहि मेरो सजाय हो।' ऊ भनिरहेको हुन्छ।
रात धेरै ढल्नि सकेको हुन्छ। बौलाएको मान्छेको मुखमा पुलुक्क हेर्दै, छोरी ममीको काखबाट जुरुक्क उठेर 'मेरो गालो सुम्सुम्याउदै' छातीमा लुपुक्क टासिन आइ हुन्छपुगेकि हुन्छेे। छोरो पुलुक्क मेरो आँखामा हेरेर काखमा घोप्टो परेको हुन्छ। इन्दु, आफ्ना टिलपिलाएको आँखा जुधाउँदै बसिरहेको ठाउँबाट जुरुक्क उठ्छिन।
'कालपनि कहिल्यै नआउने भयो। केके देख्नु र सुन्नु पर्ने हो। ढोका राम्ररि लगाएर सुत;' भन्दै आमा आफ्नो कोठा तिर जानु हुन्छ।
बिहान चिया पिउने बेला भएको हुदोर'छ। लछिराम! लछिराम! भनेर बोलाउँदै हुन्छु।
तर ऊ बोल्दैन।
मेरा आखा खुल्छन। भरै इन्दु पो, 'हन, कति सुतिर'नु भएको हो? घाम यत्तिमाथि आइसको। चिया ल्याइदिएँ है। सेलाउला?' भनेर बोलाउँदै हुँदिरहिछिन।
'खोई लछिराम?' भनेर सोध्छु।
'हन, के भन्नु हुन्छ? को लछिराम?' भनेर हर्काछिन, इन्दु। र, छक्क परेजस्तो हुन्छु।
***
भएको के र'छ भने – म विहानीपखको तन्द्रामा हुँदोरछु। छिमेकिको घरतिरबाट ....कल्याङ्कुलुङ ...कल्याङ्कुलुङ ..गरेको आवाज मेरो कानमा आएर ठोकिदोर'छ। र, मेरो अर्धचेतन मस्तिष्कले त्यो कल्याङ्कुलुङ गरेको आवाजलाई सपनामा रूपान्तरण गरेको हुदोर'छ।
म उठ्छु र चिया पिउँदै त्यतै तिर लाग्छु। कोही 'चोर चोर' भन्दै मुक्याउँदै हुन्छन। कोही 'ए नकुट, मर्छ' भनेर छुट्याउँदै पनि हुन्छन। चोर भनेर मुक्याइँ खाने एउटा मरन्च्यासे मान्छे चाहिँ 'म चोर होइन, पागल हुँ, म बौलाहा हुँ। म कसैको केहि बिगार गर्दिन' भन्दै प्रेमनारायणको गोडा समाएर रुदै हुन्छ।
बजारोन्मुख गाउँ, एकै छिनमा मान्छेहरूको भिडभाड बडिहाल्दोर'छ। र, त्यही भिडभाडबाट निस्किएको आवाज विहानीको शान्त आकाशमा तरङि्गत हुँदै मेरो कानमा कल्याङ्कुलुङ भएर पुगेको रहेछ। र, त्यहि कल्याङ्कुलुङ बाट निस्किएको भिविन्न आवाजहरूलाई मेरो अर्धचेत मस्तिष्कले जोडजाड गरेर एउटा स्वप्न–कथा बनाएको र'छ।
त्यो चुस्स दारी उमि्रएको मरन्च्यासे मान्छे, प्रेमनारायणको परालको माचमुनि गुँडुल्किएर सुतेको रहेछ। बिहान झिसमिसेमा गोरुलाई पराल तान्नजाँदा माचमुनिबाट अनौठो वस्तु निस्किएको देखेर प्रेमनारायण झस्किएछन। र, अत्तालिएको झोँकमा उनले 'चोरचोर' भन्दै दुईचार मुक्का लागाइहाले छन। किसानको मुक्का कसरी थामोस? ऊ ढलि हालेछ।
हाउभाउ हेर्दा सुझबुझ भएकै जस्तो देखिने। मैला, झुत्रे र अव्यवस्थित पहिरनले बौलाहा भन्न मिल्ने खालको। तर, चोर भन्नचाँहि मेरो मनले मान्दैन। किनभने चोरहरू सर्बसाधरणभन्दा खाइलाग्दै र तागतिलै हुन जरुरी हुन्छ।
मेरो दिमागले अर्को कुरापनि सोच्छ 'यदि प्रेमनारायणले त्यो मान्छेलाई सुरुमै चोर भन्नुको साटो पागल भनिदिएको भए के हुन्थ्यो होला? म ठान्छु– सम्भवतः हामीसबै चोर भन्ने शव्दको पछि लाग्दैछौ। यदि उसले पागल भनिदिएको भए, हामीसबै पागलभन्ने शव्दको पछिलाग्ने थियौं। र, उसको करङ्ले त्यति दुख पाउने थिएन, होला।
हुँन त प्रेमनारायणले पनि उसलाई जानीबुझी चोर भन्ने अभियोग लगाएका होइनन। मेरो अर्धचेतन मस्तिष्कले उसको चित्कारलाई सपनामा लछिराम र डेकेन्द्रको कथा हालेजस्तै प्रेमनारायणको पनि आँत्तिएको मस्तिष्कले गरेको निर्णय थियो, त्यो। भ्रमको सुविधा विचार प्रकृयाले पनि पाउनुपर्छ। प्रेमनाराणको के दोश।
म अनुरोध गर्छु, ' साथी हो! हामी शव्दको पछि नकुदौ, सत्यको पछि कुदौ। यदि, यो पागलै रहेछ भने, उसको के दोश? पहिला टुङगोमा पुगौँ, अनि फैसला गर्दा हुदैन र?'
पछाडिबाट एकजना शिक्षकले समर्थन जनाउँछन, 'ठीक हो। हामीले शव्दहरूको पछि लागेर बिगतमा धेरै बिगार गरेका छौं। कहिल्यै पूरताल नहुनेखालका क्षति गरेका छौ। सोचेर निर्णय गरौं न।'
शिक्षकको त्यो कुरा सुनेपछि संकास्पद पागलले ती शिक्षकलाई गौण गरेर हेर्छ। मानौ कि उसले पनि विगतमा शव्दहरूको भ्रममा परेर ठूलै बिगार गरेकोछ।
एकजना समाज सेवी बैनीले थपिन, 'यो त कमनसेेन्सको कुरा हो। यस्तो मान्छेले चोर्ने रिस्क कसरी लिस्छ होला र? चोर त अलि हट्टकट्ट हुनु पर्ने हो।'
न भन्दै मान्छेहरूले कुट्न छोड्छन्।
ती सबै घटनाक्रमहरूलाई म गौंण गरेर हेरिरहेको हुन्छु। मलाई समग्र दृश्यमा कताकता कृत्रिमताका सूचनहरू आभास हुन्छ। संखास्पद पागल आफैलाई 'म पागलहुँ, चारे हुँइन' भन्दै हुन्छ। शिक्षकले भनेका कुराहरूको प्रभाव पनि उसमाथि प्रष्ट देखिन्छ। मानसिक सन्तुलन गुमाएको मान्छेले एस्तो प्रकारको सुबिधा पाउँँदैन। म गहिरिएर हेर्छु ठ्याक्कै मेरो सपनाको पात्र 'लछिराम' जस्तो लाग्छ। र, म सोच्छु सायद, त्यो बौलाएको पर्दापछाडि लुकेको लछिराम मेरो सपना सिद्धिएपछि प्रेमनारायणको माचमुनि आएर सुतेछ क्यार।
(कट्वाल साउदी अरवमा कार्यरत छन्।)
birendra_katuwal@yahoo.com