तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावनासँगको एकीकरण प्रक्रियालाई बीचमै छाडेर फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव फोरम लोकतान्त्रिकलगायतका साना मधेसी दलसँगको एकतामा जुटेका छन् ।
तीन पार्टीबीच नेतृत्वमा कुरा नमिलेपछि यादवले फोरम लोकतान्त्रिक, तराई मधेस सद्भावना, राष्ट्रिय मधेस समाजवादी र फोरम गणतान्त्रिकलगायतसँग एकीकरणबारे छलफल थालेको खबर आजको कान्तिपुरमा खबर छ।
'एकीकरण र मधेस मुद्दाबारे गच्छदार-यादवलगायतबीच धेरै पटक छलफल भइसक्यो,' लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूले शनिबार कान्तिपुरसँग भने, 'मधेस मुद्दालाई कसरी बलियो बनाएर लैजाने भन्नेबारे गम्भीर छलफल भइरहेको छ ।'
फोरम लोकतान्त्रिकको १६ देखि १८ चैतसम्म भएको राजनीतिक समितिको बैठकले समेत एकीकरणका लागि फोरम नेपाललाई पहिलो प्राथमिकतामा राखेपछि यादव र गच्छदारबीच छलफल अघि बढेको हो । लोकतान्त्रिकको निर्णयलगत्तै २२ चैतदेखि यादव-गच्छदारबीच छलफल भइरहेको थारूले बताए ।
यादवले गच्छदारलगायतका मधेसी नेतासँगको छलफललाई गोप्य राखेका छन् ।
गच्छदारसँग मात्रै होइन, यादवले तमसपा अध्यक्ष महेन्द्र यादव, रामसपा अध्यक्ष शरतसिंह भण्डारीसँग पनि छलफल गरिरहेका छन् । 'एकीकरणकै विषयमा उपेन्द्रजी र महेन्द्रजीबीच पनि छलफल चलिरहेको छ,' तमसपाका प्रवक्ता सत्यनारायण मण्डलले भने, 'तमलोपा र सद्भावनासँग एकीकरण जारी भइरहँदा किन हामीतिर सक्रिय हुनुभएको हो त्योचाहिँ बुझ्न सकेका छैनौं ।' तमसपाको कार्यसम्पादन समितिले समेत शुक्रबार फोरम नेपाल र फोरम लोकतान्त्रिकसँग एकीकरण गर्न आफ्नो पार्टी तयार भएको निष्कर्ष निकालेको थियो ।
गच्छदार, महेन्द्र र भण्डारीलगायतसँग हिमचिम बढेपछि तमलोपाका महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोसँग भने यादव टाढिएका छन् । तीन पार्टीका अध्यक्षबीच १६ चैतमा सद्भावनाको कार्यालयमा भएको छलफलपछि भेटघाट र कुराकानी भएको छैन । त्यतिबेला तीन नेताबीच नेतृत्व कसले गर्ने भन्नेमा कुरा मिलेको थिएन ।
तमलोपा र सद्भावनाले ठाकुरलाई अध्यक्ष बनाउनुपर्ने अडान राखेका थिए भने यादव आफैंले नेतृत्व लिन चाहन्थे । उनीहरूबीच पार्टीको नाममा समेत सहमति जुटेको थिएन । यादवले नयाँ पार्टीमा जोड दिए पनि तमलोपा र सद्भावनाले तीनवटै पार्टीको अस्तित्व देखिने नाम दिनुपर्ने अडान लिएका थिए । नयाँ पार्टी बनाउनै परे एक वर्षपछि हुने महाधिवेशनबाट टुंगो लगाउन सकिने तमलोपा-सद्भावनाको भनाइ थियो ।