उत्तरी लमजुङको बाहनडाँडा ८ मालपाटा स्थायी घर भएका टेकनारायण घिमिरेले १२ विद्यालय आफैले स्थापना गरे। उनले निरन्तर ४३ वर्षसम्म लमजुङ र चितवनका विद्यालयहरुमा पढाए।
उनले पढाएका विद्यार्थी कोही प्रशासनको उपल्लो तहमा छन् भने कोही राजनीतिमा लागेर नीति निर्माण तहमा पुगेका छन्। कोही विदेश पुगेका छन्। तर, २०२४ सालदेखि २०६७ सालसम्म निरन्तर अध्यापन गरेका उनी भने ७० वर्षको उमेरमा अवकाशपछिको जीवन विताउन वृद्धाश्रम पुगेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
४३ वर्षको समय अरुको भविष्यको लागि खर्चेका उनी बुढेसकालमा आफै बेखर्ची बनेका छन्। पहिले कक्षा ८ उत्तिर्ण गरेपछि विद्यालयमा पढाउन पाउने चलन थियो। १० कक्षासम्मको अध्ययन गरेका घिमिरेलाई संस्कृत पढाउन तानातान हुन्थ्यो। उनकै पहलमा दर्जन विद्यालय खुले। उनले अध्यापन गराएका चन्द्रोदय उमावी बाहुनडाँडादेखि चितवनको शशीनगर निवावीसम्म छन्।
घिमिरेसँग अहिले सम्पत्तिको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्रबाहेक अरु कैही छैन। उनको योगदानको अभिलेख शिक्षा कार्यालय लमजुङमा समेत छैन। 'सम्पत्ति, श्रीमती, परिवार सबै यही हो,' घिमिरेले भने।
सरकारले एसएलसी उतिर्ण गरेका दरबन्दी शिक्षक पढाउन थालेपछि उनी विभिन्न विद्यालय चहार्न थाले। पछि सबै विद्यलयमा एसएलसी पास शिक्षक आएपछि उनी सेवानिवृत्त भए।
आफ्नो विद्यालयमा करिब पाँच वर्ष पढाएपछि स्टकोट र ढाकाटोपी लगाइदिएर आफूहरुले विदाई गरेको लताकुञ्ज निमावी खुदीका प्रअ उमरबहादुर गुरुङले बताए।
विद्यालयबाट अवकाश लिनुपरेपछि घिमिरे केही समय पूजापाठ गरेर गाउँ डुले। तर, त्यसबाट पनि गुजारा चल्न नसकेपछि फेरि गाउलेको गोठमा बसेर पनि काम गरे।' उमेर ढल्कदै गएपछि लेकबेसी गर्न सकिनँ,' घिमरेले भने,' अबको साहारा वृद्धाश्रम भयो।'