एमालेको नवौं महाधिवेशन नजिकिँदै जाँदा वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीले गति लिएको छ।
भारतमा करिब डेढ महिना उपचार गराएर बुधबार फर्केलगत्तै ओलीले आफूनिकट नेतासँग भेटघाट तीव्र पारेका छन् भने नेपाल देशका विभिन्न स्थान भ्रमण गर्दै कार्यकर्ता भेटिरहेका छन्। उनीहरू दुवैले प्रतिस्पर्धाका लागि आ–आफ्नो टोलीसमेत बनाउन थालेको खबर आजको नागरिकमा छापिएको छ।
ओलीलाई अध्यक्ष बनाउन उपाध्यक्ष वामदेव गौतम प्रमुख सारथि देखिएका छन्। महासचिव जितेका ईश्वर पोखरेल पनि ओलीका अर्का सारथि भएका छन्। आठौं महाधिवेशनमा गौतम र पोखरेल दुवै ओली प्यानलविरूद्ध झलनाथ खनाल प्यानलमा थिए।
त्यतिखेर ओली समूहबाट उपाध्यक्षमा विजयी विद्या भण्डारी र सचिव शंकर पोखरेल अहिले पनि ओली समूहमै छन्। उतिबेला दुवै समूहको साझा उम्मेदवार भएर सचिवमा विजयी विष्णु पौडेल अहिले ओली समूहमा खुलेर लागेका छन्। यस हिसाबले ओली पक्षमा पदाधिकारीहरूको बहुमत छ।
महासचिव पोखरेलले पार्टी पुनर्गठनपछिको ३९ वर्षमध्ये अध्यक्ष खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रमुख भएर करिब ३० वर्ष नेतृत्व गरिसकेको भन्दै ओलीलाई अध्यक्ष बनाउनुपर्ने तर्क गरेका छन्। मेची–काठमाडौं अञ्चल सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘उपाध्यक्षद्वय वामदेव गौतम, विद्या भण्डारी र महासचिव ईश्वर पोखरेलले अहिले नै प्रमुख पद दाबी गर्नेछैनौं।'
संसदीय दलको निर्वाचनमा माधवकुमार नेपालको समर्थन हुँदाहुँदै पनि अध्यक्ष खनाललाई पराजित गरेपछि ओली पक्ष हौसिएको छ। तर, नेपाल पक्षले ओलीको कमजोर स्वास्थ्य अवस्थामात्रै नभएर पार्टीभित्र विकृति भित्र्याएको आरोप पनि लगाउँदै आएको छ।
नेपालले राजनीतिक परिवर्तनको नेतृत्व गरेको भन्दै देशको आर्थिक रूपान्तरणको पनि नेतृत्व गर्न चाहेको बताउँदै आएका छन्। उनले पार्टीभित्र विकृति देखिएको जनाउँदै त्यसलाई हटाउन पनि फेरि नेतृत्वमा आउन चाहेको बताए।
यता ओलीले भने नेतृत्व हस्तान्तरणको विषयलाई अघि सारेका छन्। सामूहिक नेतृत्वमा चलेको पार्टीमा एउटै उमेर समूह, अनुभव र योग्यता भएका नेता रहेकोमा एक व्यक्तिमा मात्रै लामो समय नेतृत्व राख्दा समस्या हुने उनको धारणा छ। ओली र नेपालबीच अप्रत्यक्ष रूपमा घोचपेच र व्यक्तिगत आलोचना पनि सुरु भइसकेको छ।
ओलीको नेतृत्व हस्तान्तरणसम्बन्धी नाराले युवा नेतालाई आकर्षित गरेको छ भने पार्टीभित्र विकृतिविरूद्ध संघर्ष गर्ने नेपालको नाराले पनि नेतालाई उत्तिकै आकर्षित गरेको छ। यो अवस्थामा नेपाल र ओली दुवै आ–आफ्नै टोली बनाउन व्यस्त छन्। अन्य नेता पनि नेपाल र ओली पक्षमा ध्रुवीकृत हुन थालेका छन्।
नेपालको टोलीमा सचिव युवराज ज्ञवाली, स्थायी कमिटी सदस्यहरू भरतमोहन अधिकारी, अमृतकुमार बोहोरा तथा सल्लाहकार परिषदका अध्यक्ष सिद्धिलाल सिंहसम्म छन्।
नेपालको टोलीमा पदाधिकारी र स्थायी कमिटीका सदस्य कम भए पनि युवा पुस्ताका नेता उल्लेख्य छन्। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र पूर्व गृहमन्त्री भीम रावल नेपालका बलिया सारथि मानिएका छन्। पाण्डे र रावल दुवै नेपाल नेतृत्वको सरकारमा मन्त्री थिए।
पार्टीभित्र विगतमा स्थायी गुट नभएका नेपालको टोलीमा अहिले उनका केही पुराना सहयोगी र अध्यक्ष खनालनिकटका नेता छन्। खनाल नेतृत्वको मन्त्रिपरिषदमा चर्चामा आएका गोकर्ण विष्ट र पार्टीभित्र वैचारिक संघर्षमा उत्रिएका युवा नेता घनश्याम भुसाल पनि अहिले नेपालकै टिममा छन्।