लुम्बिनीबाट फर्किएपछि...उनलाई त्यतीबेला बाच्ने कुनै मन पनि थिएन । २७ वर्षको कलकलाउँदो उमेरमा अरुको सहारामा जिउनुपर्दा जीवनको हरेक पल बोझ लाग्न थालेको थियो उनलाई । ८-९ जनाको परिवारको लालन पालनको जिम्मेवारी भएको व्यक्ति नै अरुको भरमा बाच्नुपर्ने भएपछि जीवनको अन्त्य गर्नु नै सबैभन्दा उत्तम बाटो ठानेका थिए उनले ।
त्यसैले त अस्पतालको बेडबाट धेरै पटक जीवनको अन्त्य गर्ने प्रयास पनि गरेका थिए ।
धेरैपटक आफैलाई बचाउन लगाइएको सलाईनको पाईपमा झुण्डिएर मर्ने समेत प्रयास गरे तर मृत्यु पनि त समय नपुग्दै कहाँ आउँदो रहेछ र ? उनलाई जीवनको अर्थ बुझ्नु धेरै बाँकी थियो । त्यसैले होला सायद उनलाई मृत्युले पनि स्वीकार्न सकेन।
उनी अर्थात् रामबहादुर तामाङ । पटक पटक आत्महत्याको प्रयास गर्ने उनै रामबहादुर तामाङ ४ वर्षपछि आफ्नो मात्र होईन आफूजस्तै हज्जारौं व्यक्तिहरुलाई जीवनको अर्थ बुझाउँदै छन् । एकपटक पाएको अमूल्य जीवनमा आईपर्ने जस्तो सुकै समस्या र चुनौतीलाई पनि सहज रुपमा सामना गर्दै बाच्ने बाटो सिकाउँदै छन्।
शारीरिक रुपमा अशक्त भएर पनि आत्मबिश्वासका साथ काम गर्ने सोंच राख्ने हो भने अरु व्यक्ति सरह आफ्नो जीवनलाई सहज बनाउन सकिन्छ भन्ने सन्देश दिने अभियानमा लागेका छन् उनी। जसले गर्दा जीवनबाट निराश भएकाहरुलाई बाच्नु पर्छ भन्ने प्रेरणा जागोस्।
मांखा ५ सिन्धुपाल्चोकका रामबहादुर तामाङको जीवनमा २०६७ साल पुस १८ गतेको घटनाले उथलपुथल ल्याईदियो । साथीहरुसँगै खासा घुम्न गएका उनी घर फर्कर्दै गर्दा दोलालघाट ५४ किलोमिटरमा आईपुग्दा दुर्घटनामा परे।
साँझ सात बजे बस दुर्घटनामा परेका उनी होसमा आउँदा बसको बम्परले पेट थिचिएको अबस्थामा थिए । दुर्घटनाको दुईघण्टापछि उद्धारको लागि घटनास्थल पुगेका कतिपयले घाईतेहरुको उद्धार गर्नुभन्दा पनि उनीहरुका गरगहना तथा धनमाल तान्दै गरेको दृश्यले उनलाई आज पनि मन अमिलो बनाउँछ ।
उपचारको लागि धुलिखेल अस्पताल पुर्याईएका रामबहादुरको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । दुर्घटनाको ५ दिनपछि मेरुदण्डको अप्रेसन गरिएपनि उनको कम्मरदेखि तलको भाग कहिल्यै नचल्ने गरि बन्द भयो । भाँचिएका करङहरुको स्थानस्टीलका रडहरुले लिएका छन् भने उनी अव स्पाईनल ईन्जुरीका विरामी।
केहि बेरअघि ठीकठाक भएको व्यक्ति केहि पलको असाबधानीका कारण हुने दुर्घटना तथा अन्य रोगबाट अंगभंग तथा अशक्त बन्छ। आफ्नै आँखा अगाडि शरिरको कुनै अंग काटिनु तथा कुनैले काम गर्न छोड्दाको पिडा सायद जो कसैले महशुश गर्न पनि सक्दैन होला।
अंगभंग वा अपाङगता हुंदाको बखत जति औषधी उपचारको आवश्यकता हुन्छ त्यो भन्दा धेरै आवश्यकता काउन्सिलीङको हुने गर्दछ । तर त्यो अवसर जो कोहिलाई कहां मिल्छ र । त्यसैले त धेरैले अपाङगता भएपछिका दिनहरु अध्यारो कोठाभित्रै बिताउने गरेका छन् ।
रामबहादुरले आज आफूलाई सबैभन्दा भाग्यमानी, सबैभन्दा सुखी र खुसी ठान्छन् । किनकी उनले काभ्रेको साँगामा रहेको स्पाईनल ईन्जरी पुनर्थापनापना केन्द्रको छहारी पाए। त्यहि छहारीले उनलाई जीवनको अर्थ सिकायो, बाँच्नका लागि आत्मबल दियो, आफ्नो लागि मात्र होईन म अरुका लागि बाच्नुपर्छ भन्ने प्रेरणा पनि भर्यो ।
त्यहि केन्द्रको छहारीले आज उनलाई जीवन जिउने सिप सिकाउँदै जीवनको अर्थ समेत बुझाएको छ। केन्द्रमा पाएका विभिन्न सिपमुलक तालिमबाट लिएको सिपले कम्मर मुनीको भाग नचल्ने भएर पनि उनलाई आत्मनिर्भर बनाएको छ।
दैनिक जीवनमा आउने जस्तोसुकै चुनौतीहरुलाई पनि सामना गर्ने आत्मविश्वास भएका राम बहादुरलाई एउटा समस्याले भने बिझाई रहन्छ । शारीरिक अशक्तताका कारण अपाङगमैत्री नभएका स्थानहरुमा जानुपर्दा कतिपय बेला साथीभाईहरुले गरेको सहयोगको बदलामा उनले साथीहरुको शरीर पिसाबले भिजाईदिनु परेको छ ।
“दिशापिसाब आएको समेत थाहा पाउँदिन साथीहरुले राम तिमीले पिसाब फेरेको भनेपछि छामेर हेर्दा बल्ल थाहा पाउँछु तर साथीहरुलाई ढाँट्दै आफ्नो लाज लुकाउने प्रयास गर्छु । संगैका सहयात्रीहरुलाई हेरेर लजाउदै उनले भने ।” म साथीहरुको यो ऋण कसरी तिर्न सक्छु सोच्दै छु ।
सर्वसाधारणलाई कमै मात्र जानकारी भएको स्पाईनल ईन्जुरीबारे जानकारी गराउँदै तिनै रामबहादुरले काभ्रेको नमोबुद्धबाट लुम्बिनीसम्म व्हील चियरको कठिन यात्रा पुरा गरेका छन्।
गत चैत्र १० गते नमोबुद्धबाट लुम्बिनीसम्म ३ सय ६६ किलोमिटरको यात्रालाई ३५ दिनमा पुरा गर्ने लक्ष्यसहित शुरु गरेको उनको यात्रा विभिन्न कठिनाईका बाबजुद पनि आफूमा भएको आत्मविश्वासका कारण ९ दिन पहिले नै पुरा भएको छ । यात्राको क्रममा विभिन्न स्थानहरुमा सर्वसाधारणले देखाएको माया र सद्भावले आफ्नो यात्रालाई सहजता ल्याएको बताउँछन्।
स्पाईनल ईन्जुरीको रोकथाम, उद्धार, उपचार र पुनस्र्थापनाको महत्वको बारेमा जनचेतना जगाउने उद्देश्यले तामाङले नमोवुद्ध लुम्विनी यात्रा सुरु गर्ने भनेपछि काभ्रेको सांघामा रहेको स्पाईनल ईन्जुरी पुर्नस्थापना केन्द्र र स्पाईनल ईन्जुरी संघ नेपालले सहयोग गरेका थिए।
दुर्घटनापछि केहि समय अस्पतालको उपचार पुरा गरेपछि स्पाइनल ईन्जुरी पुनर्थापना केन्द्रमा जीवन उपयोगी सिप सिकेका तामाङ अहिले सोहि संस्थामा कर्मचारीको रुपमा कार्यरत छन्।
सडक दुर्घटना, भीरबाट लडेर, रुखबाट खसेर वा अन्य कुनै रोगको समयमा उद्धार र उपचार हुन नसक्दा तथा उद्धारका क्रममा हुने असावधानी र अज्ञानताले यो समस्या देखिने गरेको राम बताउँछन्।
तामाङले आफूहरु अपाङग नभई फरक क्षमता भएका व्यक्तिहरु भएको दाबी गरे । उनले आफू जस्तै समस्या झेल्दै आएकाहरुका लागि कसैको भरमा बाँच्ने नभई जीवनमा आउने चुनौतीहसँग जुध्दै स्वयं आफै बाच्न सक्ने बनाउनका लागि आफ्नो बाँकी जीवन समर्पण गर्ने संकल्प लिएका छन् । उनको यो संकल्पमा साथ दिएकी छन् जीवन संगिनी सानुमायाँ तामाङले पनि।
सार्वजनिक बसमा यात्रा गर्दा धेरैपटक सुन्नेगरेका विरहका गितजस्तै रामले पनि आफ्नो जीवनलाई आधार बनाएर गीत बनाएका छन् । स्पाईनल ईन्जरीको बारेमा जानकारी दिन हरेक क्षेत्रमा जाँदा उनले उक्त गीत सुनाउने गर्छन्।
व्हीलचियर मार्फत मायांदेवी मन्दिरको परिक्रमा गर्दै गर्दा भेटिएका रामबहादुर यसरी गुनगुनाए ।
दैव तेरो रैछनी खटन
सुन्नु होला यो रामको घटना
२०६७ साल पुसको महिना
खाशा घुमी फर्कि आउँदा झण्डै ज्यान गएन
घट्यो घटना ७ बजे राती
ठूलो दशा आईलाग्यो म माथी
चुहाएर आंशुका धारा
व्हील चियर भयो बाचुञ्जेल सहारा