दक्षिण अफ्रिकामा नेल्सन मण्डेला २७ वर्ष जेल बसेर छुटे। उनकी पत्नी बिनि मण्डेलाकी प्रवक्ता नै थिईन। तर जब उनी जेलबाट छुटे केही समय पछि नै बिनिको बारेमा बिभिन्न आरोपहरु लाग्न थाल्यो। जब उनका कुकृत्यहरु बाहिर आउन थाले, नेल्सन मण्डेलाले बिनिसँग सम्बन्ध बिच्छेद गरे। भ्रष्टाचार र यौन शोषणका पुष्टी भयो, बिनि जेल पनि परिन।
यो घटनाले नेल्सन मण्डेलाको उचाइ रत्तीभर घटाएन, बरु दक्षिण अफ्रीकालाई सबल राष्ट्र बनाउन ठूलो मद्दत गर्यो। यो घटना नेपालमा भएको भए यत्रो नेताका पत्नी भन्दै सरकारले मुद्दा फिर्ता लिन्थ्यो होला।
तत्कालिन पश्चिम जर्मनीका चान्सलर हेल्मुट कोलको जर्मनी एकीकरणमा ठूलो योगदान थियो। तर जब पश्चिम र पूर्व जर्मनी एकीकरण भयो, त्यसको केही समय पछि उन्लाई पार्टीको लागि गैर-कानुनी चन्दा लिएको आरोप लाग्यो।
आरोप पुष्टि भयो र उनि जेल परे। हेल्मुट कोललाई कारबाही हुँदैमा न जर्मनी फेरि टुक्रिएर दुई फ्याक भयो न त उनको पार्टी नै हरायो। पार्टीलाई आर्थिक लाभ त गराए तर गैरकानुनी काम गर्दा उनको चाँही राजनीति सदाको लागि सकियो। उनी नेपालमा भएको भए सय किलोको मालाबाट स्बागत पाउँथे होला।
दोस्रो विश्वयुद्दमा “नाजी” हरुले गरेको मानवता बिरुद्दको अपराधमा संलग्नहरुलाई कुनै हातलमा पनि छोडिएन। बिभिन्न कालखण्डका युद्दका नायकहरुले गरेको मानवता बिरुद्दको अपराधले उन्मुक्ति पाएको छैन। सभ्य मानिसले मानवता बिरुद्दको अपराधलाई कानुनी दायरामा ल्याउनै पर्छ, पक्कै ल्याउँछ। राष्ट्रिय रुपमा कानुनी दायरामा आउन नसके अन्तर्राष्ट्रिय रुपमा पनि आउनुपर्छ।
सत्य निरुपण तथा मेलमिलापका बारेमा एक पूर्व गृह मन्त्रीले भनेछन ”हामी पनि तानिन सक्छौ, पूर्व प्रधानमन्त्री पनि तानिन सक्नुहुन्छ”। पक्कै हो, यदि मानवता बिरुद्दको अपराध गर्न आदेश दिएको प्रमाणित भएमा उहाँहरु पनि तानिनु नै पर्छ। चाहे राज्य पक्षबाट होस वा विद्रोहि पक्षबाट भएको होस् मानवता विरुद्दको अपराधमा कुनै पनि हालतमा सम्झौता हुनु हुँदैन। मानवता बिरुद्दको अपराधहरुमा नेपालमा लाग्ने “हदम्याद” पक्कै लाग्दैन, प्रमाण जुट्ने बित्तिकै भबिष्यमा पनि मुद्दा ब्युँझिन सक्छ।
केही अपवादहरु हुन सक्लान तर अपराधी मनोवृत्ति भएको ब्यक्ति जहाँ सुकै पुगोस उसले अपराध नै गर्छ। ति अपवादमा पर्नेहरु आफूले गरेको अपराधको सजाय भोगेर पश्चाताप गरी सुध्रिन पनि सक्छन। पौराणक कथामा रत्नाकर डाँकु बाल्मिकी ऋषीमा रुपान्तरण भएको वर्णन हामी पाउँछौ।
हाम्रो दुर्भाग्य , हामी गम्भीर अपराधमा संलग्नलाई गेरु बस्त्र र रातो टिका लगाएकै भरमा साधु ठान्न थाल्छौ। कुनै एउटा समुदायको भएको वा कुन राजनीतिक दलसँग आवद्द भएकै भरमा ति अपराधिलाई छुट दिन्छौ र ति अपराधि मनोबृत्तीका मानिसहरुबाट देशको परिबर्तनको सपना देख्छौं। प्रणाली परिबर्तन हैने कल्पना गर्छौ। यथार्थ के हो भने देशको परिबर्तन ईमान्दार मानिसहरुको ईमान्दार प्रयासबाट मात्र सम्भव हुन्छ। अपराधिको कुनै जात वा संप्रदाय हुँदैन, मौका पाउना साथ उ अपराधमा संलग्न भै हाल्छ।
कलेज पढ्दा रोबर्ट ब्राउनिङको “विर योद्दा” भन्ने कविता याद आउँछ। कवितामा युद्द जितेर आउँदा बाटो भरि तँछाड-मछाड गर्दै शहरबासीले भब्य स्बागत गरेको थियो र १ बर्ष सत्तामा बसेर गरेको बदमासीको सजायँ पाएर झुण्ड्याउन त्यहि बाटो लगिदाँको जनमानसले दुत्कारेको बर्णन छ । हामी नेपालिहरुले त्यो कबितामा बर्षण गरे जस्तो पछिल्लो पाटो अनुभब कहिल्यै गर्न पाएको छैन।
कसैले कुनै कालखण्डमा कुनै योगदान दिएको छ भन्दैमा उसका सबै अपराध र भ्रष्टाचारलाई देशले माफी दिनु पक्कै हुँदैन। त्यसमा पनि गम्भीर अपराधमा संलग्नलाई त कुनै पनि हालत छोडिनु हुँदैन। प्रणाली र देशको लागि ब्यक्ति गौंण हो, तर नेपालमा ब्यक्तिलाई केन्द्रमा राखेर सोचिन्छ, नियम कानुन बनाईन्छ। एकपटकको योगदान उसको जिन्दगी भरिको देश लुटने लाईसेन्स बन्छ। यो लुट्ने लाईसेन्सको प्रयोग उसका आसेपासेले समेत प्रयोग गरिरहन पाउँछन। ईमान्दार प्रताडित भैहने तर भ्रष्ट र अपराधि पुरस्कृत हुने प्रबृत्तिले हामीलाई असभ्यता तिर लग्छ, दुर्गतीतिर लग्छ। त्यसैले यदि देशलाई प्रगतिको बाटोमा लाने हो भने ईमान्दार कहिल्यै हार्नु हुँदैन।