इटहरी ४ कि अस्मिता तामाङ २२ वर्षकी भइन्। उनको उमेरमा धेरै युवतीको विवाह हुन्छ, घरजम हुन्छ। शायद सानो हुँदा उनले पनि यस्तै केही सोचेकी थिइन् होली। 'सानोमा धेरै राम्री थिइ,' आमा मनमायाले बाल्यकालको तस्वीर देखाउँदै भनिन्, 'देख्नेले तिम्री छोरी हिरोइन हुन्छे भन्थे।'
तर अस्मिताको भविष्य उनलाई देख्नेले भनेजस्तो न त सुन्दर थियो, न त सहज नै। कक्षा २ मा पढ्दा पढ्दै एक्कासी ज्वरो आएर अनुहारै रातो भयो, काम्न थालिन् अनि मुर्छा परिन्। नौ वर्षको उमेरमा उनको आँखाको ज्योती गुम्यो।
त्यतीमात्र होइन, विस्तारै होस हराउन थाल्यो। हिडडुल गर्न र खान समेत नसक्ने भइन्। वीर अस्पतालले जाँचेर दिएको औषधि पाँच वर्षभन्दा बढी निलिन्, अरु पनि धेरै अस्पताल चाहरिन्, तर बीसको उन्नाइस भएन, रोगले झन् झन् च्याप्दै गयो। अहिले त औषधि निल्न समेत नसक्ने भएकी छिन्। 'चाउचाउ पनि माडजस्तो बनाएर दिनुपर्छ,' आमा मनमायाले भनिन्। कुनैबेला अरुले हिरोइन हुन्छे भनिएकी अस्मिता आजकाल घरको एउटा कुनामा मैलो ओच्छ्यानमाथि बेसुराँ भएर ढलिमलि गरिरहेकी छिन्।
...
काठमाडौं सूर्यविनायकस्थित नेपाली सेनाको नयाँ गोरख गणमा ड्युटीमा थिए वुवा लक्ष्मण। आमा मनमाया पेट दुःख्ने रोगको उपचारको लागि ताप्लेजुङबाट काठमाडौं पुगेकी थिइन् त्यो वर्ष। मावलीको हजुरबा हजुरआमाको रेखदेखमा थिए अस्मिता र उनका भाई सरोज। (हेर्नुहोस् तस्वीर) सामान्य बालबालिकाझै उनीहरुको दैनिकी थियो। एक्कासी ज्वरो आएर बिरामी भएपछि हजुरबा हजुरआमाले धामी झाँक्रीलाई देखाए। तर समस्या घटेन। लगत्तै आँखा हेर्न अफ्ठ्यारो हुन थाल्यो। स्कुल छुट्टीमा आमाले छोराछोरीलाई काठमाडौ बोलाइन्। आमा मनमायाले भनिन्, 'बिरामी भएको पाँच महिनापछि छोरी काठमाडौं आउँदा त अर्कै भइसकेकी थिइ, बोलाउँदा पनि झर्किने गर्थी।' काठमाडौ पुगेको केही महिनापछि अस्मिताले बेलुका टाउको दुःख्यो भनिन्। लगत्तै मुर्छा परीन् अनि बर्बराउन थालिन्। अवस्था निकै गम्भीर भयो। त्यही समय हो उनले आँखा देख्न छाडेको। बोल्न छोडेको चाहिँ झण्डै तीन वर्ष भयो।
...
उनका भाई २० वर्षीय सरोजको अवस्था पनि उनकै जस्तो हुँदैछ। कुनैबेला सामान्य बालकसरह पढ्ने, खेल्ने, कुद्ने उनी ७ वर्षको उमेरमा दिदीको जस्तै समस्याले ग्रस्त भएर आँखा देख्न छाडे। होस हराएको पनि निकै भयो। अनि एक वर्षदेखि दिदीले झै सुन्न, बुझ्न र बोल्न नसक्ने भएर थला परेका छन्। दिनभर एकै ठाउँ टुक्रुक्क बसिरहन्छन्। नामले बोलाउँदा हजुर मात्र भन्छन्। दिसापिसाब गराउन, लुगा लगाइदिन पनि अरुको सहारा चाहिन थालेको छ। 'दिनदिनै हाम्रो पनि हातखुट्टा खस्दै जान्छन्, छोराछोरीको पनि यो अवस्था भयो,' मनमायाको गुनासो छ, 'सहारा दिनेहरुलाई नै सहारा दिनुपर्दा बुढेसकालमा के हुने हो, डर लागेको छ।'
...
समस्याको क्रम आँखा नदेख्नु अनि होस हराउनुमा मात्र सिमित छैन। बेलाबेलामा मुर्छा पर्ने, बर्बराउने समेत गर्छन्। दिदी र दाजुझै ७ वर्षको उमेरमा दृष्टि गुमाएकी १४ वर्षिया सुस्मिता महिनामा दुई तीन पटक त कक्षा कोठामा बेहोस भएर ढल्छिन्। आफ्नो दृष्टिविहिन भाई सन्दीपसँगै धरानस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा कक्षा ८ मा पढिरहेकी उनी बेन्चबाट भुईमा बजारिँदा टाउको फुटेर रगतैपिच्छे हुन्छिन्। 'अघिल्लो वर्ष स्कुलबाट छोरी मुर्छा भइ भनेर फोन आएको थियो,' आमा मनमायाले सुनाइन्, 'हतारिँदै पुग्दा कक्षा कोठामा भुईमा बगेको रगत पुछिरहेका थिए पालेले। स्कुल पठाउन पनि डरमर्दो छ।'
१२ कक्षासम्म पढ्ने लक्ष्य छ सुस्मिताको। तर आजकाल पढाइमा त्यती मन लाग्दैन। डरले उनलाई दिनरात सताइरहन्छ। ब्रेललिपीमा खोजेका अक्षर त भेटिन्छन्, तर उनले खोजेको भविष्य भेटिन्छ या बिचैमा निमोठिन्छ, टुंगो छैन।
'दाजुदिदीले आँखा देखिँन भन्दा कसरी पो आँखा देख्दैनन् भनेर अचम्म मान्थेँ,' उनी भन्छिन्, 'अहिले मलाई पनि त्यस्तै भएको छ र विस्तारै म पनि दाजु दिदीजस्तै ओच्छ्यानमै थलिन्छु कि भनेर डर लाग्छ।' त्योभन्दा ठूलो डर उनकी आमालाई छ, 'कतै छोरी पढ्दापढ्दै बेन्चबाट लडेर टाउको फुटेरै मर्छे कि। के बेर ... ' आमा भावविह्वल हुन्छिन्।
आफ्ना तीन वटै सन्तान पालैपालो दृष्टि गुमाएर थलिएपछि थिलथिलो मनस्थिती लिएकी आमाले दृष्टिविहिन हुनबाट जोगाउन दुधेबालककै अवस्थामा कान्छो छोरा सन्दीपलाई आफूबाट छुटाएर काठमाडौ पठाएकी थिइन्। तर उनको यो सानो प्रयास हावाको सानो झोँक्काले कागजको घर लडाएझै लडाइदियो। कक्षा २ मा पढ्दै गरेका चन्चले स्वभावका ९ वर्षिय सन्दीपले आँखा देख्न छाडेको पनि दुई वर्ष भयो। 'यी दुई जना पनि थलिए भने गाह्रो छ,' सुस्मीता र सन्दीपलाई देखाउँदै अवरुद्ध घाँटीबाट बडो कष्टले आमा मनमायाको आवाज निस्किन्छ, 'यस्तै सोचेर रातभरी निद्रा लाग्दैन ... ' मातृत्व आँशु भएर बग्छ।
...
२०४४ साल माघ महिनामा विवाह गरेर आएकी थिइन् मनमाया। त्यसको तीन महिनापछि नै श्रीमानले नेपाली सेनामा जागिर पाए। रोजगारीकै सिलसिलामा श्रीमान् काठमाडौ हुँदै बुटवल पुगेका बेला पहिला दुई सन्तान त्यहीँ जन्मे। तेस्रो सन्तानको रुपमा सुस्मिताले धरानको वीपी प्रतिष्ठानमा जन्म लिइन्। फर्कने क्रममा धनकुटाको हिले भन्दा माथि गाडी नचलेपछि सुत्केरी अवस्थामा श्रीमान र नवजात शिशुसँग तीन दिन हिडेर घर पुगेको सम्भि्कन्छिन् उनी। सन्तान
जन्मिँदाको त्यो उत्साह अहिले तुहिएर थला परेको छ।
अस्मिता र सरोजले दुई कक्षासम्म मात्र पढ्न पाए। बिरामी भएपछि दुवैले पढाइ छोडे। जेठी छोरीको उपचार गर्दै गर्दा कान्छीछोरी स्थानिय स्कुलमा अन्य विद्यार्थीसरह पढि्थन्। पछि उनले पनि आँखा देख्न छाडिन्। उनलाई कान्छो छोरा सन्दिपसँगै धरानको ज्ञानचक्षुमा भर्ना गरियो।
अहिले दुई दिदीभाई अन्धकारका बिच उज्यालो भविष्यको आशामा ज्ञानचक्षुमा ब्रेललिपी केलाइरहेका छन्। तर पढाई? 'सुस्मिता पहिला कक्षामा फर्स्ट पोजिसनको विद्यार्थी हो,' औषधी र स्वास्थ्य समस्याका कारण उनको दिमागमै नकरात्मक असर पुगेको बताउँदै शिक्षक विजय शंकरले भने, 'चार पाँच वर्षदेखि उनको पढाइ खस्कँदै अहिले सात जनाको कक्षामा दोस्रो अन्तीम स्थानमा छिन्।' यता अन्तीम सन्तान सन्दीपलाई भने फिजियोथेरापीको लागि गत दशैंदेखि घरमै राखिएको छ। वुवा लक्ष्मण भन्छन्, 'शिक्षाबाट वञ्चित गर्ने उद्देश्य त होइन, तर निको भईहाल्छ कि भन्ने आशाले घरमै राखेर उपचार गरिरहेका छौं।'
...
कान्छो छोरा सन्दीपबाहेक तीन जनालाई मुर्छा पर्ने, बर्बराउने हुन्छ। यस्तो बिरामी कहिले हुन्छ भन्न सकिन्न। तर औसी, पूर्णिमा, संक्रान्ति, मसान्तको समयमा बढी हुने मनमाया बताउँछिन्। बिरामीले च्यापेपछि काम्ने, बेहोस हुने र जे पायो त्यही बोल्ने गर्छन्। कति कतिबेला त घण्टौंसम्म होस आउँदैन। धामीझाँक्रीले कारण बताए, वनझाँक्री लागेको, कुलदेवता रिसाएको आदि आदि। तर निदान बताउन सकेनन्।
उपचारको लागि उनीहरु कहाँ मात्र पुगेनन्। सिलगुडी, सिक्किम, भ्याउने, सक्ने सबैतिर पुगे। औषधी, जडीबुटी, धामीझाँक्री सबै धाए। २०५८ सालमा दृष्टिविहिन छोराछोरी लिएर उनीहरु सिक्किममा निर्मल धाम पुगे। ११ दिन कुरेर जचाए। फुकफाक पारेर केही खानेकुरा बार्न भनियो। 'तर बार्दा बार्दै आँत मात्रै छिन्यो,' मनमायाले भनिन्, 'त्यसपछि बार्नै छोडियो।'
चारैजनालाई पालैपालो काठमाडौको तिलगंगा आँखा अस्पताल पुर्याइयो। सुस्मितालाई विराटनगरस्थित गोल्छा आँखा अस्पताल समेत लगियो। त्यहाँ पनि उपचार नभएपछि सिलगुढीको औषधी खाँदैछिन् अहिले र मुर्छा पर्ने क्रम केही कम भएको छ। औषधी भने टुटाउनै हुन्न। 'औषधी तीन तीन महिनामा काठमाडौंस्थित छाउनीबाटै झिकाउँछौं,' मनमायाले भनिन्, 'आँखा नदेख्ने त भइ नै, दाजुदिदीको जस्तो थलै चाहिँ नपरोस् भनेर औषधी गराइरहेका छौं।'
...
७–९ वर्षको उमेरमा दृष्टिविहिन हुनु, ११–१२ वर्षको उमेरमा हिड्दा लड्ने समस्या देखिनु, १५–१६ वर्षको उमेरमा हातखुट्टा पुरै लत्रयाकलुत्रुक्क हुनु अनि होस समेत हराएर कुँजिनु, यो अनौठो रोगको चक्रबाट दुई सन्तान पूर्ण ग्रस्त भइसके अनि अरु दुई सन्तान यही चक्रको पूर्णताको पर्खाइमा छन्। विज्ञानको युगमा पनि चिकित्सकहरु रोग र निदान पत्ता लगाउन सकेका छैनन्। कतिपयले दैवी शक्तिको कारण यस्तो भएको भनेपनि चिकित्सकहरु भने मान्न तयार छैनन्। 'डाक्टरहरु वंशाणुगत गुण हो भन्छन्,' बुवा लक्ष्मणले भने, 'अगाडी कसैलाई थिएन भन्दा यसैपटकदेखि देखियो भन्छन्। के हो के हो?'
...
दृष्टिविहिन छोराछोरीको उपचारमा पाँच लाख रुपैया सकिसकेको लक्ष्मण बताउँछन्। अहिले पनि काठमाडौंको वीरेन्द्र अस्पतालबाट औषधी ल्याउन नसकेर बजारबाट किन्दा सुस्मितालाई औषधीको लागि प्रतिमहिना २९०० खर्च हुन्छ। फिजियोथेरापीबाट निको हुने आशामा कान्छो छोराको लागि सेक्ने मेसिन किनेका छन्। अरु छोराछोरीलाई पनि उपचार चाहिरहन्छ।
छोराछोरीको उपचार र पालनपोषणमा सहयोग हुने भनेर अपांग भत्ता लिन ६४ सालमा पहल थालेका थिए लक्ष्मणले। भत्ताको लागि नागरिकता चाहिन्थ्यो। आमा मनमायाले थला परेकी जेठी छोरीलाई ढाडमा बोकेरै जिल्ला प्रशासन कार्यालयको फाँटफाँट कुदाइन्।
६४ सालमा थला परेकै अवस्थामा अपांगको रुपमा दर्ता भएपछि विगत दुई वर्षदेखि अस्मीताले मासिक एक हजार रुपैयाँ पाउन थालेकी छिन्। यता दर्ता गर्ने बेलामा टुक्रुक्क बस्न सकेकैले सरोजले भने निलो कार्ड मात्र पाए। पूर्ण अपांग नभएको भनेर। उक्त कार्डबाट पाँच सय रुपैया अपांग भत्ता दिने भनिएपनि नपाएको बुवा लक्ष्मण बताउँछन्।
पछिल्लो समय बेलायतमा बस्ने एक सय ३२ जना नेपालीले तामाङ घेदुङ संघमार्फत् आर्थिक सहयोग गरेका छन्। उनीहरुले जम्मा गरेको पाँच लाख दस हजार तीन सय ७० रुपैयाँ सहयोगस्वरुप दिएका छन्। आफैपनि संघको पूर्वाञ्चल क्षेत्रीय सचीव रहेका उनले विदेशिएका नेपालीहरुसँग सहयोग मागेका थिए।
नेपाली सेनामा सैन्यबाट सेवा सुरु गरेर हवल्दारबाट सेवानिवृत्त भएका लक्ष्मण मासिक १० हजार रुपैया पेन्सन पाउँछन्। त्यसैले छोराछोरीको उपचार, खानपान र शिक्षादिक्षा जुटाउनुपर्छ। सम्पत्तीको नाममा इटहरीमा निकै अघि किनेको जग्गामा बनेको चारकोठे घर छ। तर घर घर जस्तो जीवित छैन। मृत छ। अध्याँरो छ। 'छोराले बुहारी ल्याउनुपर्ने, छोरीलाई विवाह गरेर पठाउनुपर्ने उमेर हो,' आमा भन्छिन्, 'दुईजना छोराछोरी थलै परे, बाँकी दुई जनाको पनि हालत त्यस्तै भयो भने के गर्ने?' यीनै प्रश्नले आमाको मातृत्व चिथोरीरहन्छ र रातभरी तर्साइरहन्छ।
...
चिकित्सकहरुले हार मानिसके। तर आमा मनमाया भने हार मान्दिनन्। छोराछोरी निको भएर पहिलाजस्तै हाँस्ने, खेल्ने हुन्छन् भन्ने आशा जीवित छ उनको मनमा। आमा मनमाया भन्छिन्, 'अझैपनि उपचार गराउने हो भने पुरै निको हुन सक्छन् जस्तो लाग्छ, आशा अझै बाँकी छ।'
तस्वीरहरु
१. जेठी छोरी अस्मिता
२. जेठो छोरा सरोज
३. कान्छा छोरी र छोरा सुस्मिता र सन्दीप
४. सानोमा आफ्ना हजुरबा र हजुरआमासँग बसेका अस्मिता र सरोज
५. बहिनी सुस्मितालाई बोकेकी अस्मिता