नेपालगंजमा संचालन भएको मध्यपश्चिमाञ्चल दोस्रो क्षेत्रीय खेलकुद महोत्सव आज सम्पन्न भएको छ। खेलकुद महोत्सवमा १६ स्वर्ण, ७ रजत र २ कँस्य पदकसहित २५ पदक प्राप्त गर्दै बाँके जिल्ला क्षेत्रीय च्याम्पियन भएको छ।
बाँकेले कुस्तीमा ५, भारत्तोलनमा ४, शुटिङमा ३, क्रिकेटमा २ र जिम्नाष्टिकमा २ स्वर्ण पदक प्राप्त गर्न सफल भयो। त्यस्तै सुर्खेतले ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक गरि कुल ११ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै दाङ्गले ३ स्वर्ण, ६ रजत र ९ कास्यसहित तेस्रो भयो।
गत बिहिबारबाट क्षेत्रिय खेलकुद बिकास समिति नेपालगन्जको आयोजनामा सुरु भएको महोत्सवमा नेपाली सेनाले २ स्वर्ण, कालीकोटले १ स्वर्ण, बर्दियाले १ स्वर्ण र सशस्त्र प्रहरीले १ स्वर्ण पदक प्राप्त गर्न सफल भए।
समापन अघि आज बिहान भएको एथलेटिक्स खेलमा हाफ म्याराथन २१ किलोमिटरतर्फ नेपाली सेनाका केदार पाण्डेले १ घन्टा १३ मिनेट ३२ सेकेन्डमा पार गर्दै प्रथम भए, भने कालीकोटका युवराज रोकाय दोस्रो र रोल्पाका पञ्चबहादुर वली तेस्रो भए। यस्तै महिला ५ किलोमिटर दौडतर्फ सुर्खेतकी रेश्मा बस्नेतले २१ मिनेट १० सेकेन्डको समय पार गरेर स्वर्णपदक हात पारिन, भने सल्यानकी सीता रावत दोस्रो र दाङ्गकी जानकी केसी तेस्रो भइन।
बाकेका प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वली , बाकेका प्रहरी उपरिक्षक शेखर कोइराला, क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष अकलबहादुर बम लगायतले प्रमाणपत्र, पदक तथा शिल्डहरु प्रदान गरेका थिए।
महोत्सवमा फुटबल, भलिबल, सुटिङग, भारत्तोलन, कपर्दी, क्रिकेट, एथलेटिक्स, कुस्ती र जिम्नास्टीक गरि कुल ९ वटा खेल समाबेश गरिएको थियो।
महोत्सवमा खेलाडी, प्राविधिक तथा पदाधिकारीहरु गरि करिव ८ सय जनाको सहभागिता रहेको थियो।
त्यसैगरि महोत्सवमा यस क्षेत्रका १२ जिल्ला तथा तीन बिभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित १५ वटा टिमको सहभागिता रहेको थियो।