प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले कुम्भ–मेला आरम्भ भएको उन्नाईसौं दिनको प्रमुख अतिथिका हैसियतले भारतको छत्तिसगढवाट आएका शंकराचार्यलाई भव्य समारोह बिच विदाई गरेका छन्।
सो अवसरमा सचिव वास्कोटाले चतराधाममा आयोजित मेलामा देश विदेशवाट हालसम्म ५० लाख मानिस आईसकेको जानकारी आफूलाई आयोजक मूल समितिले अवगत गराएको बताए।
विशेषगरी महास्नानको दिनमा ५ लाखको हाराहारीमा र सार्वजनिक विदाको दिनमा दुई लाखको हाराहारीमा कुम्भ मेलामा मानिसहरु सहभागी हुने गरेको बताए।
सम्बन्धित कार्यालय प्रमुखहरु सहित सचिव वास्कोटाले चतराधाममा आयोजित मेलाको स्थलगत निरीक्षण गरेका थिए।
उक्त निरीक्षणमा हजारौं मानिसले दैनिक निशुल्क भोजन गरेको, सामान्यतः बिहानको खाजामा वुनिया, पुरी, जेरी, हलुवा, च्यूरा, भुजा, आलु मटरको वा आलु चनाको तरकारी वितरण गरेको पाईएको थियो। यसैगरी बिहान एघारदेखि राती वाह्र वजेसम्म र विहान एवं साँझको खानामा भात, रोटी, दाल, परवल, फर्सी, साँग, वन्दागोपी र आलुको तरकारी खुवाईएको छ।
निर्माण गरिएका करिव ३०० वटा शौचालयको उपयोग भएको, पानीको प्रबन्ध भएको, केही कमजोरी तत्कालै सुधार गरिएको, विजुली वत्तीको सेवा २४ सै घण्टा उपलब्ध भएको, स्वास्थ्य शिविर लागेको, सडकको अवस्था ठीक्कै रहेको, तर धुपको कारण धुलो उडेकाले एउटा ट्याङ्करवाट नियमितरुपमा पानी छर्ने काम भए पनि अपुग थियो।
राती सुत्ने प्रबन्धका लागि आयोजकलाई धौ–धौ छ। तथापी चतरा क्षेत्रमा पुगकोहरुले विश्राम गृह प्राप्त गरेको नै देखियो। भविष्यमा कुम्भ मेला सञ्चालनको विशेष संयन्त्र नै निर्माण गरी गुरु योजनाको आधारमा काम गर्नु पर्ने छलफलवाट निष्कर्ष आएको कुरा सचिव बाँस्कोटाले बताए। साथै शान्ति सुरक्षा र स्नान गर्ने स्थानको व्यवस्था पनि प्रभावकारी रहेको समीक्षा दिएको थियो।
उपस्थित हजारौं कुम्भ मेलाका सहभागीहरुलाई संवोधन गर्दै सचिव वास्कोटाले नेपालको धर्म, संस्कृति र पुरातात्विक वस्तुको संरक्षण गर्नु पर्ने कुरामा जोड दिनु भयो। वराह क्षेत्र चतराधाम प्राचिन हरिद्धार भएकाले नेपालमा कुम्भ मेला आयोजना हुनु नेपालीका लागि गौरवको विषय भएको कुरा बताए।
हाम्रो मुख्य ध्येय भनेकै मुलुकको आर्थिक संम्वृद्धि, स्थायीत्व र शान्ति भएकाले उपस्थित सबै नेपालीले आ–आफ्नो क्षेत्रवाट अर्थोपार्जनको काम गरी मुलुकको विकासमा सहभागी हुन आग्रह गरेका थिए।
भविष्यमा कुम्भ मेलालाई थप व्यवस्थित गर्न सरकारका तर्फवाट पहल हुने कुरा पनि उहाँले वताउनु भयो। कार्यक्रममा मेला मूल आयोजक समितिका अध्यक्ष एवं जगद्गुरु वालसन्त मोहन शरणले यस मेलामा कम्तिमा एक करोडले सहभागिता जनाउने कुरामा आफू ढुक्क भएको विचार व्यक्त गरे। साथै, उनले कुम्भ मेला सबैका लागि आयोजना गरिएको र यसवाट नेपाल र नेपालीको कल्याणको कामना गर्ने, राष्ट्रियताको प्रवर्द्धन गर्ने र यसवाट नेपालका शक्तिपीठको पहिचान हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन हुने कुरा समेत बताए।
कुम्भ मेला आगामी २०७१ वैशाख १९ गतेसम्म संचालन हुनेछ।