नवौं महाधिवेशनबाट नेतृत्व हत्याउन वरिष्ठ नेता माधवकुमार नेपाल र संसदस्य दल नेता केपी शर्मा ओलीबीच रस्साकस्सी चलिरहे पनि एमाले अध्यक्ष झलनाथ खनाल मौन छन्। पार्टी विधानमा दुई कार्यकाल अध्यक्ष हुन पाउने प्रावधान भए पनि खनालले प्रतिस्पर्धै गरेर दोहोरिन चाहेका छैनन्। आजको नागरिकमा खबर छ।
सर्वसम्मत नेतृत्व पाए फेरि एकपटक पार्टी हाँक्न उनी तयार रहेको निकटस्थ नेताहरू बताउँछन्। त्यसैले खनालले नेतृत्व प्रतिस्पर्धाका विषयमा औपचारिक रूपमा मुख खोलेका छैनन्। सार्वजनिक कार्यक्रममा उनले नवौं महाधिवेशनलाई सहमति र साझेदारी बनाउने बताउने गरेका छन्।
नेता नेपाल र ओलीले भने सार्वजनिक कार्यक्रममार्फत नै आफूलाई अध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेका छन्। र, त्यसैअनुसार तयारीमा जुटेका छन्।
अध्यक्ष खनालले न आफ्नो उम्मेदवारी दाबी गरेका छन् न त ती दुईमध्ये कुनै एकलाई नै समर्थन जनाएका छन्। खनालले आफैं प्रतिस्पर्धामा उत्रिन नचाहेपछि उनीनिकट नेता भने नेपाल गुटतिर लागेका छन्।
अध्यक्ष खनाल सैद्धान्तिक विषयमा स्पष्ट धारणा राख्दै आएका छन्। 'अहिले विचारका हिसाबले खनाल, गौतम र नेपाल एकैतिर हुनुहुन्छ। तर, नेतृत्वको विषयमा अहिले नै मुख खोल्दा बढी तिक्तता हुनसक्ने ठानेर (खनाल) चुप बसेको हुनसक्छ,' केन्द्रीय सदस्य ठाकुर गैरेले नागरिकसँग भने, 'विचार जता मिल्छ नेतृत्वमा उसैलाई सघाउनुहुन्छ।' विचारको हिसाबले खनाल नेपालनिकट छन्।
ओली निकटहरूको दाबी भने फरक छ। नेतृत्व हस्तान्तरणका पक्षमा खनालले सघाउने उनीहरूको विश्वास छ। 'विचारका हिसाबले सबै नेतृत्व एकै स्थानमा छन्। जनताको बहुदलीय जनवादको आर्थिक कार्यक्रमलाई लिएर अघि बढ्ने धारणा राख्छन्,' ओलीनिकट केन्द्रीय सदस्य भानुभक्त ढकालले भने, 'त्यसैले उहाँ (खनाल) नीति र नेतृत्वमा सर्वसम्मत पक्षमा हुनुहुन्छ। नेतृत्व हस्तान्तरणकै पक्ष हुनुहुन्छ।'
उनले पार्टीलाई पुनर्जीवन दिन सफल खनालले नेतृत्व हस्तान्तरणको पक्षमा लाग्ने दाबी गरे।
त्यसो त पार्टी संकटमा परेको समयमा नेतृत्व हाँक्ने जिम्मा पाउँदै आएका खनाल पार्टीभित्र संकटमोचक नेताको रूपमा चिनिन्छन्। उनले भूमिगत समयमा सात वर्ष र खुला समयमा छ वर्ष गरी करिब १३ वर्ष पार्टीको नेतृत्व गरिसकेका छन्। नेतृत्व परिवर्तनको विषयलाई मुख्य मुद्दा बनाउँदै आएका ओलीनिकट नेता भने वरिष्ठ नेता नेपालभन्दा खनालको नेतृत्व दाबी बढी स्वाभाविक हुने धारणा राख्छन्।