पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष झण्डै दोब्बर राजस्व असुली गर्ने अनुमान गरिएको छ। नियम मिचेर सवारी साधन सञ्चालन गर्नेहरुका विरुद्धमा प्रहरीले सुरु गरेको अभियानको अघिल्लो वर्षको उपलब्धी र चालु आर्थिक वर्षको चैतसम्मको प्रगती विवरणले सो कुराको संकेत गरेको हो।
कार्यालयले आर्थिक वर्ष २०६९/७० मा पूर्वाञ्चलभरीबाट तीन करोड ९९ लाख १५ हजार ४५० रुपैया राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्ष २०७०/७१ को चैत मसान्तसम्ममा मात्रै पाँच करोड ४९ लाख २८ हजार ५५० रुपैया राजस्व संकलन गरिसकेको छ।
कार्यालयको राजस्व असुली दर महिनैपिच्छे बढ्दो छ। चालु आर्थिक वर्षको साउनमा १५ हजार सवारीचालकलाई कारबाही गरी ४० लाख ३० हजार ७०० रुपैया राजस्व संकलन गरेकोमा चैतमा मात्र ३० हजारलाई कारवाही गर्दै ८२ लाख ४६ हजार ९०० रुपैया राजस्व संकलन गरेको छ। पछिल्लो तीन महिनामा मात्रै कार्यालयले २ करोड ३४ लाख बढी राजस्व संकलन गरेको छ। वैशाखदेखि असारसम्म राजस्व संकलनको दर पछिल्लो तीन महिनाको झै हुने हो भने चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा झण्डै ८ करोड रुपैया संकलन गर्ने अनुमान गरिएको छ।
राजस्व बढेसँगै सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा भने कमी आएको छ। अघिल्लो आर्थिक वर्ष ४०९ जनाको मृत्यु भएकोमा चालु आर्थिक वर्षको चैत मसान्तभित्र २७५ जनाको मृत्यु भएको तथ्यांक कार्यालयले दिएको छ। तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा मासिक सरदर ३४ जनाको मृत्यु भएकोमा यस आर्थिक वर्षमा मासिक सरदर २८ जनाले ज्यान गुमाएका छन्।
सडकको दुरावस्था तथा चालकको लापरवाहीले दुर्घटना बढेको हुँदा दुर्घटनालाई घटाउन सवारी चालकको चेकजाँच र जनचेतना वृद्धिलाई प्राथमिकता दिइएको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख पूजा सिंहले बताइन्।
पछिल्लो समय लामो रुटका बसहरुमा ड्राइभर र यात्रुबिच परिचयात्मक कार्यक्रम गराउन थालेको जानकारी दिँदै उच्च पदस्थ व्यक्तिहरुको पूर्वाञ्चल भ्रमणका दिनबाहेक राजमार्गसँग जोडिएका वस्ती, विद्यालयहरुमा जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिईएको बताइन्। सिंहका अनुसार हाल पूर्वमा ३२२ जना ट्राफिक प्रहरी सक्रिय छन्।